20th January | 2020 | Monday | 11:56:59 AM

नेपालको खराब सुरुवात

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७६ (११:३५ AM)

नेपालको खराब सुरुवात

काठमाडौं । नेपालले एएफसी यु १६ च्याम्पियनसिप छनोटमा खराब सुरुवात गरेको छ । छनोटअन्तर्गतको शनिबार राति भएको पहिलो खेलमा नेपाली किशोर टोली आयोजक जोर्डनसँग ७–० ले पराजित भयो ।

पहिलो हाफमै नेपाल ५–० पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल व्यहोरेको थियो । भारतमा भएको साफ यु १५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको दुई सातापछि नेपाली टोली जोर्डन पुगेको थियो ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा खेलको १६औं मिनेटमा अहमद अब्दुल्लाहले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटमै अली अहमद हाजाबीले जोर्डनको अग्रता दोब्बर बनाए । २०औं मिनेटमा अब्देल काडेर अलालेमले जोर्डनको अग्रता तेब्बर बनाए ।

खेलको ४२औं मिनेटमा मोहमद खालेद अबिडाटले गोल गर्दै जोर्डनको अग्रता ४–० ले अग्रता बनाए । पहिलो हाफको अन्तिम मिनेटमा अब्देलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई पहिलो हाफमा ५–०ले अघि राखे । 

दोस्रो हाफको सुरुवातमै अब्देलले व्यक्तिगत तेस्रो गोल गर्दै हृयाट्रिक पूरा गरे । यस्तै ८०औं मिनेटमा सराज मुनिरले जोर्डनका लागि सातौं गोल गरेका थिए । सन् २०२० मा आयोजना हुने यु–१६ च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’मा छ । नेपालले दोस्रो खेल सोमबार कुवेतसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा असोज ३ गते ताजकिस्तान तथा अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । समूहको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

यु–१५ टोलीका कप्तान कप्तान प्रदीप लम्सालसहित तीन खेलाडी बोन टेस्टमा असफल रहँदै बाहिरिएपछि नेपाली टोली कमजोर बनेको थियो । खेलपछि प्रशिक्षक सुनिलकुमार श्रेष्ठले सुरुवाती तीन गोल व्यहोरेपछि खेलको सम्पूर्ण लय जोर्डनतर्फ गएको बताए । ‘हामीले तीन गोल व्यहोरेपछि खेलको सम्पूर्ण मोमेन्टमै उनीहरूतर्फ गयो । पाँच मिनेटको अन्तरमा हामीले तीन गोल ब्यहोर्यौ,’ उनले भने, ‘हामीले राम्रो प्रतिस्पर्धा दिने सोचेका थियौं तर अन्तिम नतिजाले हामीलाई अर्को कुरा सिकायो । जोर्डनका खेलाडीले शारीरिक रूपमा पनि फाइदा उठाए ।’


Views: 113