3rd July | 2020 | Friday | 4:56:30 AM

एपीएफद्वारा उपाधि रक्षा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन १, २०७६ (१०:०० AM)

एपीएफद्वारा उपाधि रक्षा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । बुधबार डबल राउण्ड रोविनको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले अपराजित रहेर उपाधि रक्षा गरेको हो ।

यस्तै एपिएफले लगातार तीनपटक च्याम्पियन बन्दै रनिङ शिल्ड कब्जा गरेको छ । ढोरपाटन लिगमा ७ पटकको च्याम्पियन बनेको एपिएफ १३ औं र १४ औं संस्करणको च्याम्पियन बनेको थियो । त्यसअघि एपिएफले आठौं देखि ११ औं संस्करणसम्म च्याम्पियन बन्दै रनिङ शिल्ड कब्जा गरेको थियो ।

एपिएफपछि पोखराको ज्ञानुबाबा स्कुलले सर्वाधिक पाँचपटक ढोरपाटन लिग जितेको छ । ज्ञानुबाबा दोस्रो देखि छैटौं संस्करणसम्म च्याम्पियन बनेको थियो । त्यसपछि सातौंमा पुलिस च्याम्पियन बनेको थियो । १२ औं संस्करणमा भारतीय खेलाडी सम्मिलित रिड मोडल च्याम्पियन बनेको थियो । पहिलो संस्करणमा पुरुषको प्रतिस्पर्धा हुदा आर्मीले बाजी मारेको थियो ।

लिगको १४ खेलपछि अपराजित रहेको एपिएफले ४१ अंक जोड्यो । उति नै खेलबाट ३७ अंक जोडेको पुलिसले दोस्रो स्थानमा चित्त बुझायो । एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट पनि एपिएफ २५–२१ ले नै विजयी हुन सफल भयो । तेस्रो सेटमा २५–१९ को जित निकाल्दै एपीएफ च्याम्पियन बन्न सफल भयो । 

त्यसअघि तेस्रो भइसकेको त्रिभुवन आर्मी क्लबले होङ्ग्वान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । मुख्य स्पाइकर प्रतिभा मालीको अनुपस्थितिमा टोली आर्मीसँग २५–२१, २५–१४ र २५–१४ ले पराजित भयो । उपाधिसँगै एपिएफले ४ लाख ५ हजार रुपैयाँ हात पा¥यो । दोस्रो भएको पुलिसले २ लाख ५ हजार तथा तेस्रो भएको आर्मीले १ लाख ५ हजार रुपैयाँ तथा चौथौ भएको डायमण्डले ७५ हजार रुपैयाँ हात पा¥यो । पाँचांै भएको चितवनले ५५ हजार तथा छैटांै भएको बुलबुले रारा भलिबल क्लबले ३५ हजार रुपैयाँ पायो । 

त्रिभुवन आर्मी क्लबकी साफिया पुन प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । पुलिसकी उषा भण्डारी उदीयमान खेलाडी चुनिइन् । डायमण्डकी सलिना श्रेष्ठ वर्ष खेलाडी तथा एपीएफकी कप्तान विनिता बुढाथोकीले ग्रेट अचिभमेण्ट अवार्ड प्राप्त गरिन् । उनीहरू सबैले युएम स्कुटर हात पारिन् । यस्तै लक्की ‘ड्र’ बाट चितवनका अनिल बुढाथोकीले भाग्यशाली दर्शक बन्दै एक थान मोटरसाइकल हात पारे । 

व्यत्तिगत विधातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, न्यू डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट सर्भर, सोही क्लबकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्स घोषित भइन् । एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान ७ हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, नेदरल्याण्ड भलिबलकबा डेभलपमेन्ट म्यानेजर पिटर भान तरेल, ढोरपाटन क्लबका अध्यक्ष तथा संघका सचिव मनवीर छन्त्याललगायतले पुरस्कृत गरे ।


Views: 237

सम्बन्धित सामग्री:

७०० गोलको कोशेढुंगा

एजेन्सी : असार १८, २०७७ (९:३५ AM)

एक वर्ष सर्यो साफ

हिमालय टाइम्स : असार १७, २०७७ (११:२८ AM)