3rd August | 2020 | Monday | 5:58:40 PM

पारससहितका खेलाडी पिएसएलको ड्राफ्टमा

हिमालय टाइम्स   POSTED ON : मंसिर ३, २०७६ (१०:०५ AM)

पारससहितका खेलाडी पिएसएलको ड्राफ्टमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व– कप्तान पारस खड्कासहित सात खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) टी–ट्वान्टी क्रिकेट लिगको अक्सन ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा निर्वतमान कप्तान पारससहित आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, सोमपाल कामी र शरद भेषवाकर रहेका छन् ।

पिएसएलको ड्राफ्टमा सबै खेलाडी सिल्भर श्रेणीमा परेका हुन् । सिल्भरमा परेका खेलाडीको न्यूनतम मूल्य १५ हजार अमेरिकी डलर देखि अधिकतम मूल्य ३५ हजार डलर रहेको छ ।

यसअघि नै नेपालका अर्का युवा लेग स्पिनर सन्दीप लामिछाने ड्राफ्टको ‘प्लाटिनम’ श्रेणीमा परेका थिए । प्लाटिनम श्रेणीको न्यूनतम मूल्य १ लाख ४७ हजार अमेरिकी डलरदेखि अधिकतम २ लाख १८ हजार डलर रहेको छ ।

ड्राफ्टमा डिसेम्बरको पहिलो साता हुने पाकिस्तानी क्रिकेट बोर्डले जनाएको छ । प्रतियोगितामा एक टिमले पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । पिएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्गस, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्नेछन् ।

सन्दीपको दुई विकेट

काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्स पराजित भएको छ । आइतबार भएको दोस्रो खेलमा कर्नाटका बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको हो ।

शेख जायद स्टेडियममा कर्नाटकाले दिएको १ सय १५ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा ग¥यो । बंगलाको जितमा आन्द्रे फ्लेट्चरले ४० रन जोड्दा टम मोरेसले अविजित २८ रन बनाए । यस्तै रिले रोस्सोले २२ रन बनाउँदा रोबीले १३ रन जोडे ।

कर्नाटकाका सन्दीपले २ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् । ९ रन खर्चिएका सन्दीपले एक रन आउटसमेत गरे । पहिलो खेलमा सन्दीपले १ विकेट लिएका थिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा १ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

कर्नाटकाका लागि जोनसन चाल्र्सले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, कप्तान हसिम अमलाले अविजित ४७ रन बनाए । समूह ‘ए’ रहेको कर्नाटका २ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । बंगलाको यो पहिलो जित हो । बंगला २ खेलमा २ अंक नै जोडेर शीर्ष स्थानमा रहेको छ ।

पारसको टोलीको जित

नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काको टोली आबुधाबीले युएईमा जारी टी–१० क्रिकेट लिगमा पहिलो जित निकालेको छ । आइतबार भएको दोस्रो खेलमा नर्दन वारिवर्सलाई ६ विकेटले पराजित गर्दै आबु धाबीले पहिलो जित निकालेको हो । शेख जायद स्टेडियममा वारिवर्सले दिएको ९३ रनको लक्ष्य आबु धाबीले ८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । अबुधाबीको जितमा लुक राइटले ४८ रन जोड्दा कप्तान मोइन अलीले ३० रन बनाए । नेपालका पारस १ रनमा अविजित रहे ।

वारिवर्सका क्रिस ग्रिनले २ तथा मार्क डिएलले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वारिवर्सले १० ओभरमा १ विकेट गुमाएर ९२ रन बनाएको थियो । वारिवर्सका लागि आन्द्र रसेलले अविजित ३७ तथा साम बिलिङ्सले अविजित ३५ रन बनाए । यस्तै, कप्तान डरेन सामीले १७ रन बनाए ।

जितसँगै समूह ‘बी’ को अबुधाबीले २ खेलमा ३ अंक जोडेको छ । आबु धाबी समूहको दोस्रो स्थानमा रहेको छ । यस अघि क्वालान्डर्ससँगको पहिलो खेल टाई हुँदा अबुधाबीले अंक बाडेको थियो ।


Views: 121