13th August | 2020 | Thursday | 3:06:02 AM

खेलग्रामको प्रगति विवरण पेश गर्न परिपत्र

हिमालय टाइम्स   POSTED ON : श्रावण १४, २०७७ (१२:३६ AM)

खेलग्रामको प्रगति विवरण पेश गर्न परिपत्र

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा निर्माण भइरहेको खेलकुद पूर्वाधार (खेलग्राम) को प्रगति विवरण माग गरेको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उक्त कार्यक्रम लागू गर्न स्थानीय तहलाई पत्र लेख्दै प्रगति विवरण माग गरेको हो ।

मन्त्रालयका उपसचिव गणेशप्रसाद पौडेलले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै खेलग्रामको प्रगति विवरणको लागि परिपत्र गरिदिन अनुरोध गरेको छ । खेलग्राम निर्माणका लागि वित्तीय हस्तान्तरण भइसकेको जनाउँदै मन्त्रालयले प्रगतिको विवरणको प्रतिवेदन यथाशीघ्र बुझाउन पत्राचार गरेको छ ।

सरकारले बजेटमार्फत नै देशभरका स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण गर्ने उद्देश्यले ‘एक स्थानीय तहमा एक खेलग्राम’ को नीति ल्याएको थियो । उक्त नीतिअनुरूप हाल देशभरका डेढ सय स्थानीय नियकायमा यो कार्यक्रम लागू छ । सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत लगानी व्यवस्थापन गर्ने मोडालिटीसहितको खेलग्रामको अवधारणा अघि सारेको हो । खेलग्राम निर्माणका लागि सरकारले गत वर्षबाट बजेट विनियोजनसमेत गर्न सुरु गरेको थियो ।

मन्त्रालयले प्रगति विवरण पठाउने ढाँचासमेत पत्रमार्फत स्थानीय तहलाई उपलब्ध गराएको छ । जसमा आयोजनाको नाम, निर्माण कार्य शुरु भए, नभएको, आयोजनाका लागि खेलकुद मन्त्रालय, प्रदेश तथा स्थानीय निकायबाट प्राप्त रकम, आर्थिक तथा भौतिक प्रगति, चालु आर्थिक वर्षका लागि विनियोजित रकम र आर्थिक अवस्था उल्लेख गरेर पठाउन भनिएको छ । देशमा खेलकुदका भौतिक संरचनाहरूको अवस्थाबारे यकिन गर्न तथा चाँडोभन्दा चाँडो पारदर्शी रूपमा काम सक्न प्रगति विवरण मागिएको मन्त्रालयले जनाएको छ । नेपालमा खेलका भौतिक संरचनाहरूको अभावका कारण खेल अभ्यास प्रभावित हुँदै आएको छ । 

स्वास्थ्यका लागि पनि खेलकुद महŒवपूर्ण भएकाले सरकारले बजेटमार्फत नै एक स्थानीय तह एक खेलग्राम निर्माण गर्ने योजना लिएको थियो । जसअनुरुप हाल देशका विभिन्न स्थानमा खेलग्रामहरू निर्माण हुने क्रममा छन् । खेलग्राम निर्माणमा स्थानीय निकायले नै सक्रियता लिएका छन । स्थानीय निकायहरूले उपलब्ध बजेटबाट के कति प्रगति गरे भन्ने तथ्यांक राख्न मन्त्रालयले परिपत्र जारी गरेको हो ।


Views: 57