26th September | 2020 | Saturday | 8:48:15 PM

सन्दीप आइतबार युएई पुग्ने

  POSTED ON : भदौ २७, २०७७ (१२:४५ AM)

सन्दीप आइतबार युएई पुग्ने

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिताका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछाने आइतबार युएई पुग्नुहुने भएको छ । हाल वेस्ट इण्डिजमा रहनुभएका सन्दीप शनिबार त्यहाँबाट युएईका लागि प्रस्थान गर्नुहुने छ ।

उहाँका नेपाली व्यवस्थापक रमन शिवाकोटीका अनुसार क्यारेबियन प्रिमियर लिगका अन्य खेलाडीसँगै सन्दीप शनिबार युएईतर्फ प्रस्थान गर्नुहुने छ । आइपिएल युएईमा १९ सेप्टेम्बरबाट सुरु हुँदैछ । त्यहाँ कम्तीमा एकहप्ता उहाँले क्वारेन्टिनमा बिताउनुहुनेछ ।

सिपिएलको यस सिजनमा सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनलमा रोकिएको थियो । ट्रिनबेगो नाइट राइडर्ससँग नौ विकेटले पराजित हुँदै जमैका प्रतियोगिताबाट बाहिरिएको हो । सन्दीपले ११ खेलमा १० इनिङमा ४० ओभर बलिङ गर्दै १२ विकेट लिनुभएको थियो ।

आइपिएलमा विगत दुई सिजन सन्दीपले दिल्ली क्यापिटल्सबाट खेलिसक्नुभएको छ । उहाँले सुरुमै २० लाख भारतीय रुपैयाँमा तीन सिजनका लागि दिल्लीसँग सम्झौता गर्नुभएको थियो । दिल्लीमा सन्दीपको यो अन्तिम सिजन हो । दिल्लीले आइपिएलमा सेप्टेम्बर २० मा किंग्स इलेभेन पञ्जावसँग खेल्दैछ ।


Views: 59