मालोर्काविरुद्ध रियलको गोल वर्षा

एजेन्सी   POSTED ON : आश्विन ८, २०७८ (७:१५ AM)

मालोर्काविरुद्ध रियलको गोल वर्षा

म्याड्रिड । मालोर्काविरुद्ध गोल वर्षा गर्दै स्पेनिस महारथि रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६–१ गोलले हरायो ।

रियलको जितमा विंगर मार्काे असेन्सियोले हृयाट्रिक पूरा गर्नुभयो । कप्तान करिम बेन्जेमाले दुई गोल गर्नुभयो । दुई गोलसँगै बेन्जेमाले जारी लिगमा व्यक्तिगत आठ गोल पु¥याउनुभएको छ । एक गोल इस्कोले थप्नुभएको थियो । मलोर्काका काङ इन लिले सान्त्वना गोल फर्काउनुभएको थियो ।

रियलले खेलको तेस्रो मिनेटमै बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । २४औं मिनेटमा मार्काे असेन्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो । २५औं मिनेटमा काङ इन लिले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।

 त्यसपछि २९औं मिनेटमा असेन्सियाले गोल गर्दै पहिलो हाफमा रियललाई थप बलियो बनाउनुभयो । दोस्रो हाफमा थप सशक्त देखिएको रियलले ५५औं मिनेटमा अर्को गोल थप्यो । असेन्सियोले करिम बेन्जेमाको पासमा हृयाट्रिक पूरा गर्नुभयो ।

७८औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता फराकिलो बनाउनुभयो । ८४औं मिनेटमा इस्कोले भिनियिस जुनियरको पासमा गोल गरी रियललाई फराकिलो जित दिलाउनुभएको थियो । ६९ प्रतिशत बल पोसेसन राखेको रियलले खेलभर लगातार गोलको अवसर बनाएको थियो । हृयाट्रिक पूरा गरेका असेन्सियो ‘म्यान अफ दी म्याच’ बन्नुभयो ।

जितसँगै लिगमा अपराजित यात्रा जारी राखेको रियलले ६ खेलबाट १६ अंक बनाएको छ । रियल पुनः शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको १४ अंक छ । रियलसँग पराजित मालोर्का आठ अंकसहित १०औं स्थानमा छ । तेस्रो स्थानमा रहेको सेभयाको ११ अंक छ ।

बुधबार राति नै भएको खेलमा सेभियाले भ्यालेन्सियालाई ३-१ गोलले हरायो । सेभियाको जितमा पपु गोमेजले तेस्रो र राफा मिरले २२औं मिनेटमा गोल गर्नुभएको थियो । सेभियाले अर्को गोल भ्यालेन्सियाबाट आत्मघाती उपहार पाएको थियो । भ्यालेन्सियाका लागि हुगो डुरोले ३१औं मिनेटमा सान्त्वना गोल गर्नुभएको थियो । हारपछि १० अंक बनाएको भ्यालेन्सिया चौथो स्थानमा छ । अन्य खेलमा स्पान्योलले अलाभेस र भिल्लारियलले इल्चेलाई ४-१ गोलले पराजित गरेको छ । 


Top