अस्तित्व जोगाउन माओवादीलाई कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यता छ : महासचिव पोखरेल

हिमालय टाइम्स
Read Time = 4 mins

ललितपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र आफ्नो अस्तित्व बचाउन संघर्षरत रहेको टिप्पणी गर्नुभएको छ । शनिबार एमाले ललितपुर जिल्ला निर्वाचत परिचालन कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले माओवादी केन्द्र आफ्नो अस्तित्व रक्षा गर्न कुनै न कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यतामा रहेको टिप्पणी गर्नुभएको हो । ‘माओवादी केन्द्र आफ्नै अस्तित्व जोगाउन संघर्षरत छ । एक्लै चुनावमा जाँदा अस्तित्व नजोगिने भएकाले कुनै न कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यता उसलाई छ,’ उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले स्थानीय तहको चुनावमा अघिल्लो पटकभन्दा केही सिट संख्या बढी देखिए पनि जनमतमा माओवादीले ठूलै क्षति व्यहोरेको बताउनुभयो । ‘कांग्रेससँग गठबन्धन गरेर स्थानीय तहमा माओवादीले अघिल्लो पटकभन्दा केही सिट बढाएको छ । तर, सिट बढे पनि जनमत भने उल्लेख्य घटेको छ,’ उहाँले भन्नुभयो, ‘२०७४ को निर्वाचनमा १७ प्रतिशत मत पाएको माओवादी केन्द्रले यसपटक १३ प्रतिशत मात्रै मत पाएको छ ।’ महासचिव पोखरेलले माओवादी केन्द्र अब वामपन्थी आन्दोलनको शक्तिका रूपमा नरहेको पनि उल्लेख गर्नुभयो ।

पोखरेलले यस पटकको स्थानीय तह निर्वाचनले जितेको भन्दा हारेको ठाउँमा चुनाव जित्न सजिलो देखिएको पनि बताउनुभयो । ‘जितेका ठाउँका तुलनामा हारेका ठाउँमा चुनाव जित्न सजिलो भयो । जहाँ हामीले जितेका थियौँ, त्यहाँ विपक्षीले जिते, बरु हारेका ठाउँमा हामीले जित्यौँ,’ महासचिव पोखरेलले भन्नुभयोे, ‘यसले के प्रमाणित गर्छ भने हाम्रा काम जनताले निगरानी गरिरहेका रहेछन् । हामी पारदर्शी हुन सकेका रहेनछौँ ।’ यसबाट पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो । पोखरेलले भन्नुभयो, ‘यसले के सिकाउँछ भने, हामी पारदर्शी हुनुपर्छ । हामीले गरेका काम जनतालाई जानकारी पनि दिनुपर्छ । चर्चा परिचर्चा पनि गर्नुपर्छ ।’

यस पटकको नतिजामा देशव्यापी रूपमा एमालेले अपेक्षाअनुसार नतिजा नल्याएको उहाँले बताउनुभयो । ‘देशव्यापी रूपमा परिणाम अपेक्षा गरेअनुसार भएन । गएको निर्वाचनका भन्दा प्रतिकूल भए,’ उहाँले भन्नुभयोे, ‘हामी ज्यादा आशावादी थियौँ । त्यो अपेक्षाअनुसार परिणाम प्राप्त भएन ।’ यद्यपि, जे जति जितिएको छ, त्यसमा राम्रो काम गरे पार्टीलाई फाइदा पुग्ने महासचिव पोखरेलले बताउनुभयो । ‘हामीले जे परिणाम पाएका छौँ, त्यसमा योजनाबद्ध र संगठित भएर काम गर्न जरुरी छ,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?