नेपाली चलचित्र लोकेसन र कथानकका हिसाबले मजबुत छन् : आशा भुसाल, नायिका

कृष्ण भुसाल
Read Time = 11 mins

अभिनयमा फरकपन र व्यवहारमा सरलता नै अभिनेत्री आशा भुुुसालको विशिष्टता हो । अभिनयमा निखारता ल्याउने विषयमा निपुण उहाँले चलचित्र क्षेत्रको शिर उच्च राख्ने काम गर्नुभएको छ । अभिनयका अतिरिक्त समाजसेवामा पनि सक्रिय उहाँ समाजलाई आफ्नो परिवार र देशलाई आफ्नो प्राण ठान्नुहुन्छ । कला क्षेत्रमा रहेर विभिन्न मानसम्मान, अवार्ड र पुरस्कार प्राप्त गर्नुभएको छ उहाँले । भुसाल चलचित्रका विविध विषयमा सक्रिय रही नेपाली चलचित्रको प्रवद्र्धनमार्फत् आर्थिक समुन्नति ल्याउन सकिन्छ भन्ने कुरामा दृढ हुनुहुन्छ । चलचित्रमा प्राप्त सफलता, आर्थिक उपार्जन र नेपाली चलचित्रको व्यावसायीकरणका लागि खेल्नुपर्ने भूमिकाका विषयमा आशा भुसालसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश:-

नेपाली चलचित्रको वर्तमान अवस्था कस्तो छ ?
एकदमै राम्रो अवस्थामा नेपाली चलचित्र क्षेत्र अघि बढिरहेको छ । विश्वव्यापी कोरोना भाइरस कोभिड-१९ को संक्रमण पनि यतिबेला लगभग शून्यको अवस्थामा रहेको छ । यसबाट सारा नागरिकसहित चलचित्रकर्मीहरूमा उत्साहको सञ्चार भएको छ । हामी कलाकारहरूको रोजीरोटी नै यही कर्मबाट चल्ने भएकाले पनि चलचित्र क्षेत्रको सुधारमा हामी खुसी छौँ । र, अर्को कुरा हामी आफैँले पनि यो क्षेत्रको उन्नतिका लागि केही गर्नैपर्छ भनेर प्रवद्र्धनात्मक गतिविधिहरू सञ्चालन गर्ने गरिरहेका छौँ ।

कला क्षेत्रबाट प्राप्त सफलतालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
सफलताभन्दा पनि यही पेशालाई निरन्तरता दिन सकिएको छ । यो क्षेत्रमा बहुसंख्यक व्यक्तिहरूको चासो र सरोकार रहने हुँदा यो क्षेत्रमा आफूलाई स्थापित गर्नु ठूलो चुनौती हो । त्यो चुनौतीलाई स्वीकार गर्दै अघि बढ्ने आत्मविश्वास मभित्र भएकाले यसलाई छुन सके जस्तो लाग्छ । तर, आजको सफलता नै दीर्घकालीन प्राप्ति हो जस्तो लाग्दैन मलाई, त्यसैले दिनदिनै संघर्ष गर्नुपर्दछ । अनि मात्रै अरूभन्दा फरक हुन सकिन्छ । म अझै पनि संघर्ष गर्दै सिक्दै, जानेको सिकाउँदै छु एउटा इमानदार विद्यार्थीझैँ ।

निर्माता निर्देशकले तपाईंलाई आफ्नो चलचित्रमा किन लिने ?
कस्तो अप्ठ्यारो प्रश्न ? किन लिने भन्ने कुरा मेरो अभियन राम्रो लागेर लिने हो । मलाई लिँदा उहाँहरूको प्रोजेक्टले व्यावसायिक सफलता प्राप्त गर्दछ भन्ने कुराले होला । मुख्य त मेरो अभियनका कारण नै हो जस्तो लाग्छ । मेरो आत्मविश्वासको कुरा गर्नुहुन्छ भने म आफू पूर्ण विश्वास नभईकन कुनै पनि प्रोजेक्ट स्वीकार गर्दिनँ र अर्को कुरा मलाई राम्रोसँग यो पनि थाहा छ कि यो वा त्यो चलचित्रले व्यावसायिक सफलता प्रदान गर्न सकेन भने म भोलि कसैको प्रिय रहिरहन सक्दिनँ । चाहे निर्माता निर्देशक हुन् वा दर्शकहरू । जसले हामीबाट धेरै ठूलो अपेक्षा गरेका हुन्छन् । पैसा तिरेर चलचित्र हेर्न आएपछि उहाँहरूको पैसा असुल हुनैपर्दछ । जस्तो पायो त्यस्तै काम गर्ने हो भने अर्कोपल्टबाट आफ्नै माग ओरालो लाग्छ । मिहिनेत र कथानकको गहिराइसम्म पुग्न सक्ने मेरो क्षमता छ भन्ने आफूमा पूर्ण विश्वस्त छु ।

एउटी अभिनेत्रीका रूपमा यहाँले यो क्षेत्रमा के प्राप्त गर्नुभयो ?
मनोरञ्जनमार्फत् दर्शकमा उत्साह, खुसी र कर्तव्य बोध हुनुपर्छ भन्ने सन्देश छर्न चाहन्छु । राम्रो काम गरेपछि पैसा अवश्य कमाउँछाँै । तर, पैसाभन्दा ठूलो कुरा इज्जत, प्रतिष्ठा र सम्मान महत्वपूर्ण हुन्छ । अर्को कुरा हामी समाजका संवाहक पनि हौँ । हामीले समाजलाई डो¥याउन सक्नुपर्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई निःशर्त मजबुत बनाउन मद्दत गर्नुपर्दछ भन्ने लाग्छ । त्यही भएर मैले टेक्ने धर्तीको रक्षा र स्वाभिमानका लागि काम गर्ने गरेकी छु । त्यहीअनुसार देश, समाज र परिवारबाट माया र सद्भाव पनि प्राप्त गरेकी छु ।

नेपाली चलचित्रको बजार कस्तो छ नेपालबाहिर ?
हामी बजारको खोजीमा छौँ । विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलगायत सब-टाइटल गरेर वा डबिङ गरेर विविध मुलुकमा चलचित्र पु¥याउनुपर्दछ भन्ने मान्यतामा काम गर्दै आइरहेका छौँ । किनकि नेपाली चलचित्र प्राविधिक हिसाबमा कमजोर भए पनि लोकेसन र कथानकका हिसाबले बलवान् छ । हिमाल, पहाड, तराईको भूगोल, ऐतिहासिक विरासत, धार्मिक सांस्कृतिक सम्पन्नता, पर्यटकीय सम्पदा र भाषा, भेषभुषा र सांस्कृतिक हिसाबले हामी सम्पन्न छौँ । यही विशिष्टतालाई मुलुकबाहिरको दुनियाँलाई देखाउन सक्यौँ भने नेपालमा पनि चलचित्र पर्यटनबाट राम्रो आर्जन गर्न सकिन्छ भने नेपालमा पनि चलचित्र पर्यटनबाट राम्रो आर्जन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित हुन्छ । बजारमा नयाँ स्वादको खोजी हुने गर्दछ । नेपालको जनजीवन र भोगाइ नै विश्वका दर्शकहरूका लागि नयाँ विषय हो । त्यसकारण पनि नेपाली चलचित्रको बजार बढ्न जानेछ भन्ने कुरामा म विश्वस्त छु ।

अभिनयका अतिरिक्त यहाँको अन्य क्षेत्रमा संलग्नता ?
मेरो पहिलो र अन्तिम प्राथमिकता नै चलचित्र हो । तर, मानिस सामाजिक प्राणी भएकाले समाजबाट भिन्न भएर रहन सकिन्न । म पनि समय निकालेर समाजसँग जोडिने काम गर्दै आएको छु । यसका अतिरिक्त यही क्षेत्रको विकास र प्रवद्र्धनको अभियानमा पनि सक्रिय छु । विभिन्न अवार्ड समारोहमा निर्णायक समितिको सदस्यका रूपमा पनि जाने गरेकी छु । २१औँ शताब्दीको यो दौडमा समयसँगै र सबैसँगै हिँड्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछु । सिनेमाबाट बचेको समय समाजको कुनै न कुनै कुनामा पुगेकै हुन्छु ।

तपाईंका भावी योजनाहरू के-के छन् ?
मेरा भावी योजना, सोच, संकल्प, प्रतिबद्धता वा जे भने पनि चलचित्र नै हो । नेपाली चलचित्रको कोर्स बदल्नुपर्छ भन्ने धारणा मेरो पनि रहेको छ । त्यहीअनुरूपका गतिविधि, छलफल, अन्तरक्रिया कार्यक्रमहरूमा पनि सक्रिय हुन्छु । र, अर्को कुरा धेरै समय लाग्ला, धेरै पैसा लाग्ला तर नेपालको भौगोलिक विशिष्टता र कथानकको उत्कृष्टतालाई विश्व बजारमा पुर्‍याउन सकियो भने छोटो समयमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त छु र त्यहीअनुरूपका गतिविधिमा सक्रिय छु ।

तपाईंका शुभचिन्तक र दर्शकलाई के भन्न चाहनुहुन्छ ?
मलाई माया दर्शाउने, मेरो कर्मलाई उत्साह र प्रेरणा प्रदान गर्ने दर्शक तथा शुभचिन्तकहरूलाई सर्वप्रथम म आभार व्यक्त गर्दछु । मनोरञ्जनसँगै राष्ट्रिय दायित्वलाई पूरा गरौँ भन्न चाहन्छु । ‘एक थुकी सुकी सय थुकी नदी’ भन्ने नेपाली उखानलाई स्मरण गरी नेपाली समाजको रूपान्तरण र आर्थिक समुन्नतिका लागि नेपाललाई चलचित्र पर्यटनको केन्द्र बनाउन हातेमालो गरौँ भन्न चाहन्छु । किनकि भौगोलिक विविधतासँगै पुरातात्विक सम्पदालगायतका विशिष्ट क्षेत्रहरू विश्वका चलचित्रकर्मीहरूका लागि नवीन र कौतुहलपूर्ण विषय हुन् । यसको प्रवद्र्धनसँगै यहाँहरूको माया र सद्भावप्रति ऋणी रहँदै भोलिका दिनमा अझ विशिष्ट कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?