-अनिल पोखरेल
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकाका घर नक्सा शाखाका इन्जिनियर सुजितकुमार साहलाई मागेजति रकम बुझाउन नसक्दा घर नक्सा अभिलेखीकरण रोकिएको एक सेवाग्राहीले आरोप लगाएका छन् । कञ्चनरूप नगरपालिका–४ जगत्पुरका मंगले दमाईले राजविराजमा पत्रकार सम्मेलन गर्दै इन्जिनियर साहले मागेजति रकम बुझाउन नसक्दा घर नक्सा अभिलेखीकरण गर्न आलटाल गरेको आरोप लगाउनुभएको छ ।
इन्जिनियर साहलाई भनेजति रकम दिन नसकेपछि आफ्नो घर नक्सा अभिलेखीकरण गर्न आलटाल गरेको दमाईले पत्रकार सम्मेलनमा आरोप लगाउनुभएको हो । ‘मैले कञ्चनरूप नगरपालिका–४ मा रहेको कि.नं. ३२८ को सात धुर जग्गामा ८३४ क्षेत्रफल भएको घर निर्माण गरेँ,’ दमाईले भन्नुभयो, ‘सो घरको अभिलेखीकरण २०७३ भदौ १५ गते भएको थियो, खाली रहेको जग्गालाई पनि उपयोग गर्न पुनः ११४६.४ क्षेत्रफल बनाई सोही घरमा दोस्रो र तेस्रो तल्ला निर्माण गरेँ ।’ उहाँले थप्नुभयो, ‘नगरपालिकाका सब इन्जिनियर सञ्जय विश्वासबाट चेक जाँच गराई प्रतिवेदन लिई नापी कार्यालयको प्रतिवेदन र वडा कार्यालयको सिफारिसका साथ अभिलेखीकरणका लागि पेश गरेँ ।’
पत्रकार सम्मेलनमा दमाईले सबै प्रक्रिया पुर्याउँदासमेत नक्सांकन गर्न नदिएको झोकमा इन्जिनियर साहले प्रतिशोध साध्न मापदण्ड पुग्दा पनि अभिलेखीकरण रोकेको आरोप लगाउनुभयो । ‘नक्सांकनका लागि इन्जिनियर साहले एक लाख मागेका थिए,’ दमाईले भन्नुभयो, ‘अभिलेखीकरण गर्न आलटाल गर्नुको रहस्य घर नक्सा बनाउन उसलाई नदिएको कारण पनि एक हो ।’ आफूले घरमै सानो गार्मेन्ट कारखाना सञ्चालनमा ल्याएको जानकारी गराउँदै दमाईले घर नक्साको कारणले उद्योग पनि बन्द हुने अवस्थामा पुगेको दुखेसो पोख्नुभयो । उहाँले घर नक्सा अभिलेखीकरण गर्नका लागि पहल गरिदिन पत्रकार सम्मेलनमार्फत् सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई आग्रहसमेत गर्नुभयो ।
दलित समुदायले गरेको प्रगति हेर्न नसक्ने मानसिकताले इन्जिनियर साहले अभिलेखीकरण कार्यमा अवरोध सिर्जना गरेको दमाईले आरोप लगाउनुभयो । ‘म दलित भएकै कारणले पनि मेरो घर नक्सा पासबाट रोक लगाएको हो,’ उहाँले भन्नुभयो, ‘जबकि मैले उनीहरूको अगाडि पक्की घर निर्माण गर्दा दलितको ठूलो घर हाम्रो सानो घर भन्ने मानसिकता अर्को कारण हो ।’ इन्जिनियर साह आफ्नो छिमेकी भएकाले पनि गलत सोचबाट प्रेरित भई दुःख दिने कार्य गरेको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।
नगरप्रमुख ललनप्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रेणुकाकुमारी साहबाट तोक आदेश गरिए पनि कार्यान्वयन हुने बेलामा इन्जिनियर साहको मिलेमतोमा प्रमुख प्रशासकीय अधिकृत साहले नै कार्य सम्पन्न हुन नदिएको दमाईको आरोप छ । यता, इन्जिनियर साहले आफूमाथि लगाएको आरोप निराधार रहेको बताउनुभएको छ । दमाईले जग्गाभन्दा बढी क्षेत्रफलमा घर निर्माण गरेको पाइएकाले सबैको अभिलेखीकरण नगरेको उहाँले बताउनुभयो । उहाँले कानुनअनुसार अभिलेखीकरण गरी फायल अगाडि बढाएको पनि बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच