कला क्षेत्रबाहेक मैले आफूलाई अलग राखेर हेर्न सक्दिन : गजित विष्ट

Read Time = 20 mins

नेपाली कला क्षेत्रमा आफ्ना प्रस्तुतिमार्फत् धेरैको मन जित्न सफल नाम हो गजित विष्ट । विराटनगरमा बुबा गणेश र आमा ज्ञानीदेवी विष्टको कोखबाट जन्मिनुभएका विष्ट काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना प्रस्तुति दर्शकमाझ पस्किरहनुभएको छ । कठोर संघर्ष र यो क्षेत्रमा समर्पणका कारण यतिबेला ‘भर्सटायल’ कलाकारका रूपमा दर्शकमाझ आफ्नो छवि बनाउनुभएका विष्ट नृत्यमा पनि त्यत्तिकै पोख्त हुनुहुन्छ । चलचित्र ‘लभ फरएभर’, ‘धौली’, ‘तोरी लाउरे’, ‘गल्ली’, ‘सुपारी’, ‘पुनर्जन्म’ ‘अर्धकट्टी’, तिमीलाई’, ‘लभ यु बाबा’, ‘हरे राम’ जस्ता १२ वटा जति चलचित्रमा मुख्य भूमिकामा अभिनय गर्नुभएका उहाँले ‘छ एकान छ’, ‘फूलै फूलको मौसम तिमीलाई’, ‘कथा काठमाडौं’, ‘मेला’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । यसैगरी सिरिज, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्रीमा पनि लगातार काम गर्दै आउनुभएका विष्टको परिवार नै कला क्षेत्रमा रहेको छ । उहाँको परिवार र नातेदार गरेर २२ जना कला क्षेत्रमा हुनुहुन्छ । उहाँको छोरा सौगात विष्टले सबैभन्दा सानो उमेरमा निर्देशन गरेर विश्व रेकर्ड कायम गर्न सफल हुनुभएको छ भने छोरी संगम विष्ट, भाइ गम्भीर विष्ट, गीता विष्ट भट्टराई कला क्षेत्रमा हुनुहुन्छ । यस्तै भान्जा, भान्जी र अन्य नातेदार यो क्षेत्रमा संलग्न रहनुभएको छ । कला क्षेत्रबाहेक मैले आफूले आफूलाई अलग राखेर हेर्न सक्दिन । यही क्षेत्रमा नै मैले आफूलाई पूर्णरूपमा समर्पित गरेको छु भन्नुहुने गजित विष्टसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
कला क्षेत्रका विभिन्न कर्ममा आफूलाई समर्पित गर्दै आएको छु । आफ्ना केही व्यावसायिक काम, केही घरायसी काम र सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु । यस्तै गरी दिनचर्या चल्दै छ । नयाँ चलचित्रको तयारीमा पनि छौँ यतिबेला ।

यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको चाहना र मैले आफैंले निर्णय गरेर यो क्षेत्रमा आएको हुँ । सानैदेखिको लगावले यो क्षेत्रमा आएँ । ज्ञात–अज्ञात प्रेरणाले विस्तारै कलाकारितामा मलाई धकेल्यो । स्कुलमा सबैले ‘तँ राम्रो छस्, हिरो बन्छस्’ भन्ने गरेका कारण नै म यस क्षेत्रमा विस्तारै हेलिँदै आएँ ।

यस क्षेत्रमा लाग्न घरपरिवारबाट कत्तिको सपोर्ट पाउनुभयो ?
मलाई यस क्षेत्रमा लाग्न घरपरिवारबाट प्रेरणा, साथ र सहयोग मिल्यो । तर पनि मभित्र नै नेपाली कला क्षेत्रको बेजोडको मोह रहेका कारण यस क्षेत्रमा होमिएँ । बच्चैदेखि चलचित्र हेर्ने र त्यसको भावनामा बग्ने म स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिएँ । त्यही सुरुवाती दिनहरू नै मेरो अहिलेको समय हो ।

कत्तिको संघर्ष गर्नुभयो आजको दिनसम्म आउनका लागि ?
हरेक मानिसले सफलताका लागि संघर्ष गरेको हुन्छ । मेरोमा पनि त्यो लागू हुन्छ । फेरि मलाई के लाग्छ भने हरेक मानिसकोे संघर्षको परिभाषा छुट्टाछुट्टै हुन्छन् । मेरा पनि संघर्षका थुप्रै सिँढीहरू छन् । कति पार गरेँ, कति अझै बाँकी छन् होला । मलाई के लाग्छ भने संघर्षलाई सिक्ने अवसरका रूपमा लिइयो भने त्यो सहज हुन जान्छ ।

कला क्षेत्रलाई कस्तो पाउनुभयो ? के यो क्षेत्र मनोरञ्जनमात्रै हो त ?
कला क्षेत्र विस्तृत र व्यापक छ । पक्कै पनि मनोरञ्जनमात्र होइन यो क्षेत्र । कला क्षेत्र मनोरञ्जनमात्रै नभएर यसबाट त्यस समयको समाज, परिस्थिति, रीतिरिवाज, चालचलन बुझ्ने मुख्य स्रोत हो । साथै सामाजिक चेतनाको विगुल फुक्ने एउटा माध्यम पनि हो कला क्षेत्र । हरेक क्षेत्रमा राम्रा र नराम्रा पक्ष हुने भएकाले यो क्षेत्रमा पनि केही नराम्रा कुराहरू होलान् तर हामीले राम्रा कुरालाई पछ्याउँदै अगाडि बढ्नुपर्छ । कला हाम्रो भाषा हो, जीवनशैली हो र मुख्यतः परिचय हो । कला भनेको सिर्जना हो, जुन सिर्जनाले मनोरञ्जनमात्र हैन, समाजलाई जागरुक बनाउँदै चेतना फैलाउन सहयोग गर्छ, कला तत्कालीन समयको दस्तावेज पनि हो, जीवन र जगत्को यथार्थ सन्देश दिने माध्यम पनि हो ।

माथि पनि केही कुरा त उप्कियो तर यहाँका सुरुवाती दिनका बारेमा केही बताइदिनुहोस् न ?
मैले माथि पनि भनेँ ममा एक खालको जुनुन थियो कला क्षेत्रलाई लिएर । मलाई जसरी पनि मभित्र रहेको कलाको प्रतिभा प्रस्तुत गर्नु थियो आमजनमानसमा, म यसमा कति सफल हुँला या नहुँला तर मभित्र रहेको प्रतिभा प्रस्तुत गर्न मेरो हुटहुटी हुन्थ्यो । मौका मिल्यो कि मेरो प्रस्तुति दिइहाल्थँे । यस्तैमा विराटनगरमा भएको ‘आँगन’ नृत्य प्रतियोगितामा सहभागी भएँ । त्यसमा फाइनलमा पनि पुगँे । यसबाट म थप उत्साहित भएर अब आफूमा भएको क्षमता काठमाडौं गएर प्रस्तुत गर्छु भन्ने सोच बनाएँ ।

पारिवारिक सुझाव के थियो त ?
परिवारको चाहना भनेको विदेश जाने भन्ने थियो तर मभित्र अभिनय र नृत्यको किरा थियो । नेपाली कला क्षेत्रमा केही गर्छु भन्ने जुनुन थियो । यसका लागि म काठमाडौं आएँ ।

कस्तो पाउनुभयो काठमाडौं आएपछि ?
म त गाउँमा ‘हिरो’ थिएँ । गाउँमा मैले प्रस्तुत गरेका प्रस्तुतिमार्फत् मलाई सबैले ‘हिरो’ को उपाधि दिएका थिए । तर, काठमाडौं आएपछि ‘हिरो’ होइन ‘जिरो’ रहेछु भन्ने भान भयो मलाई । त्यसैले मैले विभिन्न प्रशिक्षण लिन थालँे र आफूलाई अझ निखार्दै गएँ । यसैबीचमा मैले ‘चाहना मन’ को सिरियलमा सानो भूमिकामा, ‘यस्तो रहेछ जिन्दगीमा’ अभिनय गरेँ । सानो भूमिकामा अभिनय गर्दै गर्दा मलाई आर्थिकरूपमा बलियो बन्नुपर्छ भन्ने लागेर नृत्यलाई अलिक बढी प्राथमिकता दिएर काम गर्न थालेँ । मैतिदेवीमा रहेको अनुपम डान्स स्कुलमा मैले काम सुरु गरेँ ।

यहाँ अभिनयसँगसँगै नृत्यमा पनि पोख्त हुनुहुन्छ, विभिन्न स्कुलमा नृत्य तथा ड्रामाको शिक्षकका रूपमा पनि काम गर्दै आउनुभएको छ होइन ?
हो, मैले धेरै स्कुलहरूमा नृत्य सिकाएको छु । मैतिदेवीमा रहेको अनुपम डान्स स्कुलमा काम गर्दै जाँदा मैले १७ भन्दा बढी स्कुलमा नृत्य तथा ड्रामा शिक्षकका रूपमा काम गरेको छु । त्यस्तै, मैले आठभन्दा बढी कलेजमा काम गरेको छु । यसैक्रममा रंगशाला गएर जिम्न्यास्टिङ, सितेरियो, उसु, तेकान्डोलगायत सिक्दै अभिनयमा आफूलाई अझ धेरै निखारता ल्याउने कोसिस गरेँ ।

सुपर एक्टिङ कम्पिटिसनमा भाग लिनुभयो, कस्तो रहृयो त्यो प्रतियोगिता ?
देशका सबै जिल्लाको लोकनृत्यका बारेमा रिसर्च गर्दै आफूलाई अघि बढाएको मैले यसै दौरानमा नेपाल टेलिभिजनबाट आएको ‘सुपर एक्टिङ कम्पिटिसन’ मा भाग लिएँ । यसमा म टप टेनमा पनि पुग्न सफल भएको थिएँ । पछि त्यो कार्यक्रम बन्द भयो । यस प्रतियोगितामा सहभागी मेरा अन्य साथी यतिबेला नेपाली कला क्षेत्रमा नाम चलेका कलाकारका रूपमा परिचित रहन सफल हुनुभएको छ ।

कोरियोग्राफी गर्दै गीतका भिडियो र सिरियलहरूमा पनि अभिनय गर्दै जानुभयो ?
मैले यसैक्रममा कोरियोग्राफी गर्दै म्युजिक भिडियो र सिरियलहरू खेल्दै गएँ । संगीता श्रेष्ठले कान्तिपुरको ‘कथा प्रेमका’ मा अनुबन्ध गर्नुभयो मलाई । पाँचवटा मात्रै यसका सिरिज बनेका छन् । ती सबै एकदमै लोकप्रिय भए । मलाई त्यसले राम्रो पहिचान दिलायो । मेरो पहिलो म्युजिक भिडियो ‘सुस्तरी सुस्तरी’ निकै लोकप्रिय भयो । पहिलो म्युजिक भिडियो नै एकदमै सुपर डुपरहिट भयो मेरो, यसले मलाई थप उत्साहित बनायो ।

तपाईंको आफ्नो करिअरको टर्निङ प्वाइन्ट ?
नेपाल टेलिभिजनबाट आएको ‘खोजी प्रतिभाको’ मा मैले भाग लिएँ । त्यसमा आफ्नो क्षमता देखाउने मौका पाएँ । त्यसबेलासम्म मैले धेरै कलाकारलाई नृत्य सिकाएको थिएँ । तर पनि मैले सो प्रतियोगितामा भाग लिएँ र आफ्नो प्रतिभा प्रस्तुत गरेँ । १६ हजारभन्दा बढी सहभागी भएको कार्यक्रममा म अग्रपंक्तिमा आउन सफल भएँ । यही कार्यक्रम नै मेरो जिन्दगीको टर्निङ प्वाइन्ट हुन गयो । यसको प्रस्तोता र निर्देशक दिनेश डिसी हुनुहुन्थ्यो । उहाँले नै चलचित्रमा अफर गर्नुभयो । यहीँबाट मैले चलचित्र ‘मायोजबार’ मा मुख्य भूमिकामा अभिनय रेँ ।

चलचित्र ‘मायाजबार’ मा अभिनयसँगै यहाँको फिल्मी करिअर सुरु भयो होइन ?
हो, योभन्दा अघि मैले म्युजिक भिडियो, सिरियल, नाटक र चलचित्रमा पनि सानो-सानो भूमिकामा अभिनय गरेको थिएँ । तर, ‘मायाजबार’ बाट मेरो फिल्मी करिअरको सुरुवात भयो । यसपछि मलाई लगातार चलचित्रको अफर आउन थाल्यो । मैले चलचित्र ‘लभ फरएभर’, ‘धौली’, ‘तोरी लाउरे’, ‘गल्ली’, ‘सुपारी’, ‘पुनर्जन्म’ ‘अर्धकट्टी’, ‘लभ यु बाबा’, ‘हैरान’ जस्ता १२ वटाजति चलचित्रमा मुख्य भूमिकामा अभिनय गरे । मैले अभिनय गरेको चलचित्रको संख्या २२ जति रहेको छ । मैले ‘छ एकान छ’, ‘फूलै फूलको मौसम तिमीलाई’, ‘कथा काठमाडौं’, ‘मेला’ जस्ता चलचित्रमा अभिनय गरेको छु । यसैगरी सिरिज, म्युजिक भिडियो, विज्ञापन, डकुमेन्ट्रीमा पनि लगातार काम गर्दै गएँ ।

चलचित्र निर्माणमा पनि हात हाल्नुभयो ?
मैले दुईवटा चलचित्र निर्माण गरेको छु । मैले चलचित्र ‘लभ यु बाबा’ बनाएँ । गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि कायम गर्न सफल भयो । विश्वको कान्छो निर्देशक सौगात विष्टले निर्देशन गरेको चलचित्र थियो त्यो । त्यस्तै, मैले निर्माण गरेको अर्को चलचित्र ‘हैरान’ थियो । त्यसैगरी मैले सिरिज पनि बनाएको छु ।

नयाँ केही गर्दै हुनुहुन्छ यतिबेला ?
हाम्रो संवादको सुरुवातमा पनि भनेँ । नयाँ योजनासहित अगाडि बढेको छु । कोरोना संक्रमणका कारण केही सुस्ताएको कला क्षेत्र पछिल्लो समय केही सहजतासँगै हामी नयाँ चलचित्रको तयारीमा पनि छौँ । केही साथीहरूसँग कुरा पनि भइरहेको छ । केहीले आफ्नो नयाँ चलचित्रमा अफर पनि गर्नुभएको छ । हेर्दै छु, बुझ्दै छु, आफूलाई राम्रो लागेको काम अघि बढाउने छु ।

यहाँलाई विभिन्न प्रतियोगिताको निर्णायकका रूपमा पनि बाक्लै देखिने गर्दछ, यो क्षेत्रमा यहाँले मानसम्मान, पुरस्कार र अवार्ड पनि थुप्रै हासिल गर्नुभयो, कस्तो लाग्छ फर्केर हेर्दा ?
म विराटनगरबाट आएदेखि आजको दिनसम्म फर्किएर हेर्दा विभिन्न संघर्षका बीचमा सुनौला दिनहरू देख्दछु । तपाईंले भने जस्तै विभिन्न प्रतियोगिताको निर्णायकका रूपमा बोलाउनुहुन्छ सहभागी हुन्छु । अनि मेरा कर्मले तारिफ बटुल्दै विभिन्न सम्मान, पुरस्कार र अवार्ड प्राप्त भइरहेका छन् । यसले अघि बढ्नका लागि थप हौसला र प्रेरणा मिलेको मैले महसुस गरेको छु । मैले विगत १८ वर्षदेखि ‘डान्स फिवर’ लगातार सञ्चालन गर्दै आएको पनि छु । यसबाट धेरै राम्रा-राम्रा प्रतिभा जन्मिनुभएको छ । एकखालको सुखानुभूतिका साथै गर्वको महसुस हुन्छ आजको दिनबाट विगतमा फर्किएर हेर्दा ।

यहाँको परिवार नै कला क्षेत्रमा समर्पित छ नि ? घरपरिवार, नातेदारमा कति जति सदस्य कला क्षेत्रमा हुनुहुन्छ ?
यस्तै हाम्रो परिवार र नातेदार गरेर २२ जना कला क्षेत्रमा संलग्न छौँ । छोरा सौगात विष्टले सबैभन्दा सानो उमेरमा निर्देशन गरेर विश्व रेकर्ड कायम गर्न सफल भएको छ भने छोरी संगम विष्ट, भाइ गम्भीर विष्ट, गीता विष्ट भट्टराई कला क्षेत्रमा हुनुहुन्छ । यस्तै भान्जा, भान्जी र अन्य नातेदार यो क्षेत्रमा संलग्न छौँ ।

कस्तो महसुस गर्नुहुन्छ परिवारका यति धेरै सदस्य कला क्षेत्रमा रहँदा ?
राम्रो लाग्छ । घरपरिवारमै कलाको माहोल छ । यसैले त हाम्रो परिवारमा सरस्वती र नाट्यश्वरीको बास रहेको सबैले भन्ने गर्छन् । भाइ गम्भीर विष्ट नेपाली कला क्षेत्रमा एक प्रतिभावान व्यक्तित्वका रूपमा आफ्ना प्रस्तुतिमार्फत् सबैको वाही वाही बटुल्न सफल हुनुहुन्छ । गम्भीरले निर्देशन/कोरियोग्राफी गरेका धेरै प्रस्तुति अत्यधिक लोकप्रिय छन् ।

तपाईं कला क्षेत्रमा ‘भर्सटायल’ कलाकारका रूपमा परिचित हुनुहुन्छ, अबका दिनका योजना के-कस्ता रहेका छन् ?
यहाँले भने जस्तै धेरै क्षेत्रमा मेरा प्रस्तुतिलाई रुचाइदिनुभएर मलाई ‘भर्सटायल’ कलाकारका रूपमा लिनुहुने सबैप्रति आभार व्यक्त गर्दछु । अबका दिनमा पनि नेपाली कला क्षेत्रमा नै आफूलाई समर्पित गर्दै अघि बढ्छु । कला क्षेत्रबाहेक मैले आफूले आफूलाई अलग राखेर हेर्न सक्दिन । यही क्षेत्रमा नै मैले आफूलाई पूर्णरूपमा समर्पित गरेको छु । मैले समाजसेवामा पनि आफूलाई त्यत्तिकै संलग्न गराउँदै आएको छु । यो समाजमा रहेपछि यो समाजप्रति हामी सबैको जिम्मेवारी रहन्छ, मैले त्यस्तो उल्लेखनीय समाजसेवाभन्दा पनि आफ्नो कर्तव्य पूरा गरिरहेको मात्र छु ।

यो क्षेत्रमा आउँदै गरेका नवप्रतिभालाई के-कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
कला क्षेत्र भनेको आफूमा रहेको प्रतिभा देखाउने क्षेत्र हो । तपाईंमा प्रतिभा छ भने आफूलाई अझ निखारेर यो क्षेत्रमा आउनुहोस् । लहलहैमा र रहरको भरमा नआउनुहोस् भन्न चाहन्छु । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 Comment
  1. Thanks a lot Himalaya Times and Krishna Bhusal sir on having me for this precious interview

रिलेटेड न्युज

छुटाउनुभयो कि ?