रियल म्याड्रिडसँग युभेन्ट्स पराजित

Read Time = 3 mins

लन्डन । स्पेनिस क्लब रियल म्याड्रिडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा इटालियन प्रतिद्वन्द्वी युभेन्ट्सलाई २–० गोलअन्तरले पराजित गरेको छ । रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गर्नुभयो ।

खेलको १९औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई १-० को अग्रता दिलाउनुभयो । भिनिसियस जुनियरलाई पेनाल्टी बक्समा ड्यानिलोले फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । जसमा बेन्जेमाले सहजै गोल गर्नुभयो । ६९औँ मिनेटमा फेडे भाल्भेर्डेको स्थानमा मैदान छिर्नुभएका एसेन्सियोले दोस्रो गोल गर्नुभएको थियो ।

त्यसपछि खेलमा थप गोल हुन सकेन । प्रि-सिजनमा रियलको यो तेस्रो खेलमा पहिलो जित हो । रियल बार्सिलोनासँग १-० ले पराजित हुँदा क्लब अमेरिकासँग २-२ गोलको बराबरीमा रोकिएको थियो । युभेन्ट्सको तेस्रो खेलमा पहिलो हार हो । चिभासलाई २-० ले पराजित गरेको युभेन्ट्सले बार्सिलोनासँग २-२ गोलको बराबरी खेलेको थियो ।

यसअघि भएका खेलमा इंग्लिस क्लब चेल्सी र एभर्टनले सहज जित हात पारेका छन् । चेल्सीले इटालियन क्लब उडिनेसमाथि ३-१ को सहज जित निकालेको हो । चेल्सीको सहज जितमा एंगोलो कान्टे, रहिम स्टर्लिङ र मासन माउन्टले गोल गर्नुभयो । उडिनेसका जेरार्ड डेउलोफेउले एक गोल फर्काउनुभयो । खेलको २०औँ मिनेटमा कान्टेको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो ।

३७औँ मिनेटमा रहिमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पार्नुभयो । ४२औँ मिनेटमा जेरार्डले गोल गरेपछि पहिलो हाफमा २-१ को स्थितिमा पुग्यो । त्यसपछि खेलको अन्तिम समयमा मासन माउन्टले गोल गर्दै चेल्सीको जित पक्का गर्नुभयो ।

प्रि-सिजनमा चेल्सीको यो दोस्रो जित हो । यसअघि चेल्सीले क्लब अमेरिकामाथि जित निकाल्दा आर्सनलसँग ४-० को हार र चार्लाेटसँग टाइब्रेकरमा पराजित भएको थियो ।

अर्काे खेलमा एभर्टनले युक्रेनी क्लब डेनामो किएभलाई ३-० ले पराजित गरेको हो । एभर्टनको सहज जितमा ड्वाइट म्याक्नेलले दुई तथा डोमिनिक काल्भर्ट लेविनले एक गोल गर्नुभयो । यस्तै अर्काे खेलमा न्युक्यासलले एटलान्टालाई १-० ले तथा बर्नलेले हडर्सफिल्डलाई १-० ले पराजित गरेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?