राष्ट्रपतिले फिर्ता पठाएको पत्र गलत भए च्यातेर देखाउन सत्तापक्षका सांसदलाई गोकुल बाँस्कोटाको चुनौती

Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकतालाई सस्तो नबनाउन संसदको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विश्वका अधिकांश देशमा नागरिकलाई सस्तो बनाउने कुरा नरहेको उल्लेख गर्दै छिमेकी देशहरुबाट सिकेर भएपनि नागरिकताको विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएको पनि बताउनु भयो । उहाँले सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जान नहुने बताउनु भयो ।

सांसद बाँस्कोटाले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिने कुरो नरहेको बताउनु भयो । उहाँले संविधान बमोजिम नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताउनु भयो ।

उहाँले यदी राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारुढ दलका सांसदहरुलाई चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ । यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन । जनताका आवाज सुन्दैन । सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन । पछि यसका दूरगामी परिणाम देखिन्छन् । नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर हुँदैन । यो नेपाली जाती र नेपाल राष्ट्रका नागरिकहरुले प्राप्त गर्ने कुरा हो । यसमा कसैको विभेदको दृष्टिकोण छ जस्तो लाग्दैन । आयो के तिर मतलव छैन, तर कसरी आयो ? संविधान बमोजिम राष्ट्रपतिले पठाउनु भयो । यसमा प्रश्न उठाउने ? मिल्छ त्यो ? कि त भन्नुपर्छ । संविधानको यो नियमअनुसार गल्ती छ भने यो पत्र च्यातेर देखाउनुस् न सक्नुहुन्छ ? त्यो त सक्नुहुँदैन । गलत तरिकाले पास नगरौँ । रङ हामीले होइन, तपाईहरुले बदल्नुभएको हो । नागरिकता सरल बनाऔँ, सस्तो नबनाऔँ ।’

सांसद बाँस्कोटाले सत्तापक्षले प्रतिपक्षले रङ फेरेको आरोप लगाएको भन्दै रङ प्रतिपक्षले नभइ सत्तापक्षले नै फेरिरहेको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?