बाटोमा अड्किएका सामान ल्याउन खुल्यो तातोपानी नाका

हिमालय टाइम्स
Read Time = 4 mins

विजय नेपाल/हिटा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी नाका अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ । दशैँ लक्षित सामग्री बोकेर नेपाल आउन ठिक परेका कन्टेनरहरू मितेरी पुलपारि नै रोकिएर बिग्रने अवस्था आएपछि रोकिएका कन्टेनरहरूका लागि मात्रै अस्थायी रूपमा तातोपानी नाका सञ्चालनमा ल्याइएको हो ।

तिब्बतको न्यालम लगायतका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि चीनले स्वास्थ्य सतर्कताको नाममा नाका बन्द गरेको थियो । चीनको चाहनाअनुसार मात्रै खुल्ने र बन्द हुने उत्तरी नाका विभिन्न कारण देखाउँदै पटकपटक खुल्ने र बन्द हुने गरेका छन् । यसबाट नेपाली व्यापारीहरू प्रत्यक्ष मारमा परेका छन् । नेपालीहरूको महान् चाड दशैँलाई लक्षित गरी व्यापारीले ल्याएका स्याउ, लसुन, प्याज लगायतका खाद्यान्न कन्टेनरमै कुहिन थालेको छ भने तयारी कपडासमेत बेलामा बजार नआइपुग्दा व्यापारीको करोडौँको लगानी फसेर बसेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले बताउनुभयो । व्यापारीले किनेर गाडीमा लोड भइसकेका एक सयभन्दा धेरै कन्टेनर पारि नै रोकिएर बसेको उहाँले बताउनुभयो । तर, चिनियाँ पक्षले भने ५० वटा मात्र कन्टेनर रहेको जनाएको छ ।

चीनले यसअघि पनि पटकपटक नाका बन्द गर्दै आएको छ । सञ्चालनमा आँउदा पनि नेपालतर्फ चिनियाँ सामग्री आयात मात्रै गर्न दिने चीनले नेपाली सामान निर्यात गर्न भने पूर्ण बन्देज नै लगाएको छ । नेपाली पर्यटक तथा व्यापारी चिनियाँ क्षेत्रमा प्रवेश नै पाउँदैनन् । जसका कारण व्यापारीहरू पेसाबाटै पलाएन हुन थालेका छन् । यो समस्या समाधान गर्न नेपालको तर्फबाट कुनै प्रभावकारी कदम चालिएको पनि देखिएको छैन । नेपाल सरकारको तर्फबाट कूटनीतिक पहल गरेर नाका खोल्नुपर्ने तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताउनुभयो ।

नाकालाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न उच्च सरकारी तवरबाट नै विशेष कूटनीतिक छलफल हुनुपर्ने देखिन्छ । यसैबीच, आइतबार मात्र परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको थियो । उहाँले उक्त कुरा चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुसँग पनि राख्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?