‘प्रेम गीत-३’ को हिन्दी भर्सनलाई विदेशी चलचित्रको मान्यता

Read Time = 7 mins

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबले विदेशी फिल्मसरह १५ प्रतिशत विकास शुल्क तिरेपछि सेन्सर अनुमति पाएको छ । लामो समयदेखि हिन्दी डबमा भएको विवाद अन्ततः रोकिएको हो । बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचिलका निर्माता र वितरकलाई विकास शुल्क तिर्ने गरी सेन्सर अनुमतिको पत्र हस्तान्तरण गर्नुभएको छ ।

चलचित्रको वितरकले भन्सार शुल्कबापत २० हजार रुपैयाँसमेत तिरेका छन् । चलचित्रको हिन्दी डबले नेपालमा गरेको कमाइको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्नेछ । विदेशी चलचित्रले मात्र १५ प्रतिशत शुल्क तिर्नुपर्ने नियम भएकाले नेपाली ‘प्रेमगीत ३’ले भने यो शुल्क तिर्नुपर्दैन ।

हिन्दी डबलाई लिएर कलाकर्मीहरू नै दुई भागमा बाँडिएका थिए । चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी डबको विवाद उत्कर्षमा पुगेको थियो । यस चलचित्रका निर्माता सन्तोष सेनले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली चलचित्रसरह सेवासुविधा दिन माग गर्दै निवेदन बुझाएपछि नेपाल चलचित्र निर्माता संघ त्यसको विपक्षमा थियो ।

निर्माता सेनले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली चलचित्रसरह सेवासुविधा दिन माग गरेपछि निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी डबलाई नेपाली चलचित्रसरह सुविधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्तिसमेत दिनुभएको थियो । चलचित्र विकास बोर्डले विदेशी चलचित्रको जसरी प्रक्रियामार्फत मात्र सेन्सर गर्न सकिने बताएपछि चलचित्रले विदेशी चलचित्र झैं १५ प्रतिशत विकास शुल्क तिरेर सेन्सर अनुमति पाएको हो ।

चलचित्र ‘प्रेम गीत-३’ को हिन्दी भर्सन नेपालमा प्रतिक्षित बनेको छ । चलचित्रको पोष्टर र ट्रेलर रिलिज भए पछि यो नेपालमा पनि प्रतिक्षित बनेको हो । तर, यसको हिन्दी भर्सनको सेन्सरलाई लिएर विवाद भएको थियो । हिन्दी भाषामा स्वरांकन भएकाले यसले हिन्दी चलचित्रसरह नै सेन्सरमा प्रक्रिया अवलम्बन गर्नुपर्ने चलचित्र विकास बोर्डले बताएपछि विवाद उत्कर्षमा पुगेको हो ।

निर्माण पक्षले हिन्दीमा डबमात्रै भएको भन्दै हिन्दी भर्सनलाई पनि नेपाली चलचित्रसरह व्यवहार गर्न आग्रह गरेपछि विवाद झन् चुलिएको थियो । यद्यपि, निर्माता तथा निर्देशक सन्तोष सेनले सेन्सर सहज तरिकाले गरिदिन आग्रह गर्दै हिन्दी चलचित्रसरह १५ प्रतिशत विकास शुल्क तिर्न तयार रहेको बताउनुभएको थियो ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको यो चलचित्रमा प्रदीप खड्का, सुनिल थापा अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्रीलगायत कलाकारको अभिनय छ । चलचित्र राजेश श्रेष्ठले खिच्नुभएको हो । ‘प्रेमगीत ३’ बाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रूपमा डेब्यु गर्नुभएको छ ।

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप
प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । यही शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको योे चलचित्रको प्रसार प्रसारका लागि चलचित्रको टिम यतिवेला मुम्बईमा व्यस्त रहेको छ । विभिन्न कार्यक्रम गरी प्रचारप्रसार गरिएको छ भने अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । मनोरञ्जन क्षेत्रको निकै चर्चित भारतीय टेलिभिजन जुमले प्रदीप र क्रिष्टिनासँँग प्रेम गीत ३ काबारेमा अन्तर्वार्ता लिएको छ ।
भारतमा फिल्मलाई जी-म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो ।

हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज
चलचित्र ‘प्रेमगीत ३’को हिन्दी संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुनेभएको छ । बलिउड हंगामा डटकमका अनुसार भारतमा मात्र पाँच सय पर्दाबाट चलचित्र रिलिज हुनेछ । भारतमा मात्र डेढ करोड भारुको ओपनिङ हुने उक्त न्यूजपोर्टलले जनाएको छ ।
युएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिजी, जापान, दक्षिण कोरियालगायत मुलुकमा पनि चलचित्र एकसाथ रिलिज हुनेछ । विश्वभर ओपनिङ कलेक्सन साढे पाँच करोड भारु ग्रस हुने जनाइएको छ । ‘प्रेमगीत’ को निर्माण लागत पनि ११ करोड भारु रहेको उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?