पल शाहको पेसी तेस्रो पटक स्थगित

Read Time = 2 mins

तनहुँ । अभिनेता पल शाह (पूर्णविक्रम शाह) को पेसी तेस्रो पटक स्थगित भएको छ । नाबालिगलाई जबर्जस्ती करणीको अभियोगको मुद्दाको पेसी बुधबार तेस्रो पटक स्थगित भएको हो । बुधबारका लागि जिल्ला अदालत तनहुँमा तोकिएको पेसी स्थगित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी गराउनुभयो ।

गौतमका अनुसार मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको तयारीका कारण पेसी स्थगित भएको हो ।

जिल्ला अदालतका न्यायाधीश मुख्य निर्वाचन अधिकृत तथा सरकारी वकिल तनहुँ-२ को निर्वाचन अधिकृतका रुपमा खटिएकाका कारण अभिनेता शाहविरुद्धको मुद्दाको पेसी स्थगित भएको हो । न्यायाधीश र सरकारी वकिल नै निर्वाचनको काममा खटिएकाले बुधबारको पेसी सरकारी वकिलको कार्यालयले स्थगित गर्नका लागि पत्रचार गरेको बताइएको छ ।

यसअघि गत असोज २ गते तथा भदौ भदौ १५ गते पनि अभिनेता शाहविरुद्धको मुद्दाको पेसी स्थगित भएको थियो ।

कलाकार शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर, नवलपुरले उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको छ ।

गत ११ फागुनमा नाबालिग माथि पटकपटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । त्यसको चार दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि गत ३० चैतदेखि थुनामा रहेका शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?