स्वर्ण विजेता धावक बुढालाई जुम्लामा सम्मान

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । कीर्तिमानी कर्णालीका स्वर्ण पदकधारी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगञ्ज हुँदै गृहजिल्ला जुम्ला पुग्नुभएका बुढालाई खादा र अबिर लगाएर स्वागत तथा सम्मान गरिएको छ । बुढालाई स्वागत गर्न जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य-सचिव संगीता आचार्यसहित जुम्लाका सरोकारवाला बाजागाजा लिएर जुम्ला विमानस्थलमा पुगेका थिए ।

गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका बुढा प्रथम हुनुभएको थियो । बुढाले मात्र कर्णाली प्रदेशका लागि पहिलो स्वर्ण पदक जित्नुभएको थियो । बुढाले एथलेटिक्सतर्फको तीन हजार मिटर स्टेबल चेस पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिलाउनुभएको थियो ।

कास्कीको पोखरामा सम्पन्न प्रतिस्पर्धामा बुढाले एपिएफ क्लबका अजित यादवलाई पछि पार्नुभएको थियो । बुढाले निर्धारित दूरी आठ मिनेट ५५ दशमलब १९ सेकेण्डमा पार गरेको बताउनुभयो । बुढाले स्वर्ण पदकमात्रै प्राप्त गर्नुभएन तीन हजार मिटरको अहिलेसम्मको रेकर्ड तोडेको खेलकुद विकास कार्यालय जुम्लाले जनाएको छ ।

धावक बुढाका गुरु गिनिज बुक अफ द वल्र्ड रेकर्डर जुम्लाकै हरिबहादुर रोकायालाई समेत स्थानीय खेलाडी तथा सरोकारवाला निकायले स्वागत गरेका थिए । रोकायाको योगदानका कारण दुर्ग बुढा, सुनमाया बुढाजस्ता दर्जनाँै खेलाडीले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा तथा सफलता हासिल गर्दै आएका छन् । जुम्लाको खेल क्षेत्रले फड्को मार्दै गर्दा लगानीमा ध्यान नभएको खेलाडीले गुनासो गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिका सदस्य-सचिव संगीता आचार्यले एथलेटिक्ससहित जुम्लाको सम्भावनाको खेलका लागि अब जोडदाररूपमा लाग्नुपर्ने बताउनुभयो । कर्णाली प्रदेश खेलकुद समितिका अध्यक्ष सरोज शाहीले खेलकुदमा चरम राजनीतिले खास खेलाडी अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?