नेपाली बजारमा भारतीय प्रिफ्याबको दबदबा, आयात प्रतिस्थापन रणनीतिमा स्वदेशी उद्योग

Read Time = 5 mins

काठमाडौं । पछिल्लो समय नेपालमा पनि निर्माण सामग्री इँटाको विकल्पमा निर्माण क्षेत्रमा प्रिफ्याबको प्रयोग बढ्न थालेको छ । विनाशकारी भूकम्पपछि यसप्रति आकर्षण बढ्न थालेको हो । वातावरणमैत्री र भूकम्प प्रतिरोधी पनि भएकाले खासगरी निजी भवन, रिसोर्टका साथै सरकारी कार्यालय भवनलगायतको पार्टेनमा इको प्यानलको प्रयोग हुन थालेको छ । विगत वर्षहरूमा अधिकांश इको प्यानल आयात हुने गरेकामा पछिल्लो समय भने नेपालमै उत्पादन हुन थालेको छ । नेपालमा पहिलोपटक गोर्खा इको प्यानलले उत्पादन सुरु गरेकामा हाल नेपाल इको प्यानलले पनि उत्पादन सुरु गरेको छ । तर, कोरोनापछि अन्य क्षेत्र जस्तै इको प्यानलको बजार पनि प्रभावित भएको छ ।

‘यसमा ६० देखि ६५ प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग हुन्छ । स्वदेशी इको प्यानलमा टिकाउपन पनि बढी छ । नेपालमा एक सय २० करोडसम्मको बजार छ । कुल मागको ६० प्रतिशत भारतबाटै आउने गरेको छ ।’

आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिरहेको इको प्यालन उद्योग पछिल्लो समय कोरोनाले थप शिथिल बनेको हो । ६० देखि ६५ प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग हुने स्वदेशी इको प्यानल उद्योगले अप्ठ्यारो अवस्थामा पनि सरकारबाट साथ र सहयोग नपाएको सम्बद्ध उद्योगीको गुनासो छ । कच्चा पदार्थ र आयातित तयारी उत्पादनमा सामान भन्सार दरका कारण आयातित उत्पादनसँग प्रतिस्पर्धा चुनौतीपूर्ण बन्दै गएको गोर्खा इको प्यानलका म्यानेजर इन्जिनियर जीवन खाइतुले हिमालय टाइम्सलाई बताउनुभयो ।

नेपाली बजारमा आयातित इको प्यानलको दबदबा बढेपछि उत्पादन घटाउनुपरेको उहाँको भनाइ छ । वार्षिकरूपमा उद्योगको उत्पादन क्षमता पाँच लाख स्वायर मिटर भए पनि हाल क्षमताको ३० प्रतिशतमात्रै उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । आयातितभन्दा स्वदेशी इको प्यानल गुणस्तरीय भए पनि गुणस्तरभन्दा सस्तो खोज्ने प्रवृत्तिका कारण स्वदेशी उद्योग मर्कामा परेको उद्योगीको भनाइ छ । खाइतुले भन्नुभयो, ‘कच्चा पदार्थ र तयारी उत्पादनमा समान भन्सार दरका कारण यहाँको उत्पादनमा लागत बढी पर्न जान्छ, सरकारबाट स्वदेशी उत्पादनलाई प्रोत्साहन र सहुलियत पनि छैन । सोही कारण स्वदेशी उत्पादनले विदेशी उत्पादनसँग मूल्य प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्था छ ।’

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवाल पनि कच्चा पदार्थ र तयारी उत्पादनमा समान भन्सार दरका कारण नेपाली इको प्यानलको उत्पादन लागत बढी हुँदा भारतीय उत्पादनसँग प्रतिस्पर्धा चुनौतीपूर्ण बन्दै गएको बताउनुहुन्छ । सरकारले स्वदेशी उत्पादन प्रयोग गरिने बताउँदै आए पनि हालसम्म कार्यान्वयन नभएकाले समस्या आएको उहाँको भनाइ छ । सरकारी निकायहरूले गुणस्तरीयभन्दा सस्तो खोज्ने गरेका र निर्माण कार्यमा धेरैजसो भारतीय इको प्यानल नै प्रयोग गर्ने गरेको बताइएको छ । अस्वस्थ प्रतिस्पर्धा बढेकाले हाल नेपाल इको प्यानलले क्षमताअनुसारको उत्पादन गरेको छैन । उत्पादन क्षमता वार्षिक १० लाख स्क्वायर फिट भए पनि क्षमताको ६० प्रतिशतमात्रै उत्पादन भइरहेको दुवालले बताउनुभयो ।

तथापि आगामी दिनमा बजारीकरणसँगै उत्पादन पनि बढाउँदै जाने सोच रहेको उहाँको भनाइ छ । दुवालका अनुसार नेपालमा इको प्यानललगायत प्रिफ्याब (इको प्यानल) को बजार एक सय २० करोडसम्मको छ तर कुल मागको ६० प्रतिशत भारतबाटै आउने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?