उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजना, चुनावी एजेण्डामा मात्रै सीमित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । पश्चिम बागलुङमा चुनावका बेला निकै चर्चामा आउँछ उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजना । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ । स्थानीय निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारहरुले आफ्नो मुख्य एजेण्डाका रुपमा यस आयोजनालाई राखेका हुन्छन् । झण्डै डेढ दशक अगाडिदेखि जलाशय युक्त जलविद्युत आयोजनाको चर्चा हुन थाले पनि अहिलेसम्म प्रगति शन्य प्रायः छ । यो आयोजना चुनावी एजेण्डा मात्रै बनेको छ ।

आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेकाहरुले पनि आफ्नो घोषणा पत्रमा यो आयोजनालाई मुख्य प्राथमिकता दिएका छन् । तर मतदाता विश्वस्त हुन भने सकेका छैनन् । पटक–पटक जनतालाई ढाँटेर चुनाव जित्ने नेताले यो योजना पूरा नगर्ने स्थानीय बताउँछन् । मुलुक कै नमुना आयोजना अन्तरगत रहेको उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजनाको काम सुरु गर्छौँ भनेको दशक बित्दा पनि केही प्रगति हुन नसकेको स्थानीय मिनबहादुर कुँवरले बताउनुभयो ।

उहाँले हरेक चुनावका बेला उम्मेदवारहरुले आफ्नो कार्यकालमा यो योजनाको काम अगाडि बढाउने आश्वासन दिए पनि अहिलेसम्म जनताले अपेक्षा गरे अनुसारको काम नभएको बताउनुभयो । कुँवरले चुनावका बेला जनता झुक्याउने र भोट आफ्नो पक्षमा पार्न नेताहरुले अनेक भ्रमहरु छर्ने गरेको भन्दै आफूहरुलाई अहिले विश्वास लाग्न छोडेको बताउनुहुन्छ ।

“यो उत्तर गंगा जलाशय युक्त आयोजना बनाउने भनेको वर्षौँ भयो, अहिलेसम्म कहाँ के भएको छ ?, सर्वेक्षण गर्ने काम के भयो, हुने नहुने केही अत्तोपत्तो छैन, नेताहरुले उही चुनाव आउँदा हामी बनाउँछौँ भनेर आउँछन्,” कुँवरले भन्नुभयो–“उहाँहरुले भन्दै आएको १०÷१२ वर्ष भइसक्यो तर प्रगति केही छैन, उही चुनावमा जनताबाट भोट फकाउने माध्यम बन्यो, काम हुन सकेन, अब त विश्वास लाग्नै छोड्यो, अहिले बनाउँछौँ भन्छन्, फेरि अर्को चुनावमा पनि त्यही कुरा भन्छन् ।”

स्थानीय पुनराम विकले नेताहरुले अहिले पनि गाउँमा चुनावी कार्यक्रम गर्दा जलाशय युक्त जलविद्युत बनाउने भाषण गर्ने गरेको बताउनुभयो । उहाँले बुर्तिबाङदेखि ढोरपाटनसम्म पुग्ने सडक कालोपत्रे गर्न नसक्ने नेताले जलाशय युक्त जलविद्युतको बारेमा भाषण गरेर जनतालाई झुक्याउनु बाहेक अरु केही नभएको बताउनुहुन्छ । सुरु–सुरुमा विश्वास लागे पनि अहिले जनता झुक्याउने खेल भएको उहाँको भनाई छ ।

“ढोरपाटन शिकार आरक्ष पुग्ने सडक हेर्नुस् त कस्तो अवस्था छ, त्यो सडक पिच गर्न नसक्ने नेताले तत्रो पहाड खोलेर जलाशय युक्त जलविद्युत आयोजना निर्माण गर्छौँ भन्छन्, पहिले–पहिले त गर्छन् होला, भन्ने लाग्थ्यो तर अहिले विश्वास लाग्न छोड्यो,” उहाँले भन्नुभयो–“चुनाव आयो की नेताको मुखमा यही उत्तर गंगा झुण्डिन्छ, यो भाषण सुन्दा सुन्दा हामीहरु पनि वाक्क भइसक्यौँ, उनीहरुले भोट माग्न जनतालाई झुक्याउने खेल बाहेक केही हुन सक्दैन ।”

विकले ढोरपाटन पुग्ने पर्यटकले सडकका कारण वर्षौँदेखि सास्ती खेप्दै आएको भन्दै पहिले यो सडक बनाएपछि मात्रै जलाशय युक्त जलविद्युतको काम हुन सक्ने बताउनुहुन्छ । उहाँले सडक साँघुरो र अप्ठ्यारो हुँदा जलविद्युतका लागि चाहिने आवश्यक उपकरणहरु पु¥याउन नसकिने बताउनुभयो ।
विक भन्नुहुन्छ–“ढोरपाटनमा दैनिक पर्यटकहरु जानुहुन्छ, सडकको कारण उहाँहरुले निकै सास्ती खेप्नु परेको छ, नेताहरुले यो सडक कालोपत्रे त गर्न सकेका छैनन् भने हाइड्रोपावरको कुरा गर्छन्, हाइड्रोपावर बन्न सबैभन्दा पहिले यो सडक बन्नु पर्छ, यो सडक नबनेसम्म त्यहाँ आवश्यक उपकरण कसरी पु-याउन सकिन्छ र काम हुन्छ ?, जनतालाई झुक्याउने पनि सीमा हुन्छ नि, यो सडकको हालत यस्तो छ, हाइड्रोपावर बनाउँछौँ भन्छन् ।”

ढोरपाटन–६ का खिमबहादुर घर्तीले अहिले निर्वाचनमा उम्मेदवार बनेका यस क्षेत्रका सबै उम्मेदवारले उत्तर गंगा जलाशय युक्त जलविद्युत आयोजनालाई मुख्य एजेण्डा बनाएको बताउनुभयो । उहाँले आफूहले अहिलेसम्म जिताएर पठाएका प्रतिनिधिहरुले संसदमा पटक–पटक आवाज उठाए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उम्मेदवारहरुले महत्वकांक्षी एजेण्डा बनाउँदा काम गर्न नसकेको उहाँको भनाई छ ।
“उत्तर गंगाको बारेमा धेरै पहिलेदेखि चर्चा हुँदै आएको हो, अहिले पनि चर्चा हुने गरेको छ, सर्वेक्षणको काम सुरु भयो भन्ने त सुनियो तर, कहाँ, कति भयो भन्ने थाहा पाइएन, नेताहरुले भनेको बेला काम गरेको भए अहिलेसम्म त जनताले यहाँ उत्पादन भएको विद्युत प्रयोग गर्न पाउँथे,” उहाँले भन्नुभयो–“अहिले त नेताको कुराहरु पत्याउनै छोडियो, चुनावका बेला यो गर्छौँ, त्यो गर्छौँ, भन्छन्, तर चुनाव जितेपछि कहाँ के गर्छन् थाहा हुँदैन ।”

ढोरपाटन नगरपालिका–९ स्थित उत्तरगंगाको पानी निसीखोला गाउँपालिका–५ निसी गाउँको सम्पुमा खसाल्ने भनिएको थियो । आयोजनालाई २०७६ असार १७ गते विद्युत विकास विभागले ८२८ मेघावट क्षमतामा विद्युत उत्पादन गर्ने गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन अनुमति पत्र दिईसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?