लोसपा अध्यक्ष ठाकुरको संसदीय यात्रा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । तराई–मधेसलाई केन्द्रमा राखेर राजनीति गरिरहेका सम्भावना बोकेका शीर्षनेताहरूमध्येका महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसमेत रहनुभएका ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनकाअनुसार लोसपाका अध्यक्ष ठाकुरले १६ हजार तीन सय ७५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवले १४ हजार तीन सय २५ मत प्राप्त गर्नुभएको छ ।

महोत्तरी पिपरा गाउँपालिका एकरहियामा विसं १९९९ जेठ १३ गते जन्मनुभएका ठाकुर संसदीय राजनीतिको अनुभवी राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । अघिल्लो पटकको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यसमते रहनुभएका उहाँले राज्यबाट संविधानसभा पदक प्राप्त गर्नुभएको छ ।

विसं २०१६ मा नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय ठाकुर तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय हुँदै केन्द्रीय कार्यसमितिसम्म पुग्नुभयो । तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीको स्थापना गर्नुभयो । विसं २०७४ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन गर्नुभएका उहाँ हाल लोसपाको अध्यक्ष हुनुहुन्छ ।

विसं २०४८ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसदीय यात्रा सुरु गर्नुभएका ठाकुर मध्यावधि निर्वाचनमा सर्लाहीबाट निर्वाचित हुनुभएको थियो । विसं २०६४ संविधानसभा सदस्य मनोनीत सदस्य भई ठाकुरले संविधान निर्माणमा भूमिका निर्वाह गर्नुभएको थियो । सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचनमा २०७४ मा महोत्तरी ३ बाट निर्वाचित हुनुभएको थियो । उहाँले संसद्को अर्थसमितिको सदस्य भएर काम गर्नुभएको थियो ।

प्रतिनिधिसभा उपसभामुखको विशेष जिम्मेवारी बहन गर्नुभएका ठाकुर अन्तरिम सरकार २०६३ मा वातावरण तथा विज्ञान प्रविधिमन्त्री बन्नुभएको थियो । राजनीतिअघि शिक्षण र वकालत पेसामा आबद्ध ठाकुर तराईका पुराना त्यागी र सादगी नेताका रुपमा परिचित हुनुहुन्छ ।

राजनीतिक आन्दोलनका क्रममा प्रहरी हिरासत, बन्दी तथा जेलजीवन निर्वासनका क्रममा पनि जेलजीवन बिताउनुभएको थियो । आफूलाई निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरका रुपमा परिचित गराउन चाहने सांसद ठाकुर विद्यार्थी जीवनदेखि नै राजनीतिमासक्रिय हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?