मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी एमाले अघि बढ्छ : पौडेल

हिमालय टाइम्स
Read Time = 4 mins

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो ।

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँले सोमबार बिहान बुटवलमा स्थानीय सञ्चारकर्मीहरूमाझ संक्षिप्त कुरा गर्दै मुलुकको विकास, समृद्धि र न्यायको अभियानलाई गति दिन पनि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने जिकिरसमेत गर्नुभयो । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि बहुमतको सरकार बनाउने एजेण्डाका साथ आफ्नो पार्टी निर्वाचनमा गए पनि सोहीअनुसारको जनादेश प्राप्त हुन नसकेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले प्राप्त जनादेशको सम्मान गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रलाई अघि बढाउने सन्दर्भमा आफ्नो पार्टीले संघीय संसद्, प्रदेशसभाहरूमा पनि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने पटक-पटक दोहोर्‍याउनुभयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘यसपटकको निर्वाचनमा नेकपा एमालेले यो आत्मविश्वासका साथ गएको हो कि एजेण्डाको दृष्टिकोणले, देशलाई अघि बढाउने एजेण्डाको दृष्टिकोणले जनताका, राष्ट्रका समस्यालाई समाधान दिने दृष्टिकोणले हामीले उठाएको महत्वपूर्ण मुद्दा राजनीतिक स्थायित्वको मुद्दा थियो । राजनीतिक स्थायित्वका लागि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन गर्ने मुद्दा थियो । तर, आज यतिबेलासम्म आइपुग्दा हामीलाई बहुमत प्र्र्र्राप्त गर्न सम्भव भएन । हामी यो प्रकट भएको जनादेशलाई सम्मान गर्छौं ।

सलाई स्विकार गर्छौं । र, त्यसअनुरूप अघि बढछौँ । एउटा सत्य के हो भने फेरि पनि नेकपा (एमाले)ले राष्ट्रिय राजनीतिमा लिड रोल नलिँदासम्म देश अगाडि बढ्न सक्दैन । देशले अस्थिरताको चक्रव्यूहबाट मुक्ति पाउन सक्दैन । विकास, समृद्धि र सामाजिक न्यायको अभियानले गति प्राप्त गर्न सक्दैन भन्ने कुरा विगतको अनुभवले पनि स्पष्ट गरेको छ ।’

उपाध्यक्ष पौडेलले रूपन्देही क्षेत्र नम्बर २ का आममतदाताको सम्मान गर्दै उनीहरूको समृद्धिका लागि आफूले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि सबै स्थानीय राजनीतिक पार्टीहरूको सुझाव लिएर अघि बढ्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?