बाक्सिलाबजार आगलागीमा पाँच करोड क्षति, पीडितलाई राहत सहयोग

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 6 mins

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भएको आगलागीमा पाँच करोडको क्षति भएको छ ।

सोमबार साँझ साँढे ५ बजे बाक्सिलाका स्थानीय दिपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर जलेर पूर्णरुपमा नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजारको क्षति भएको हो ।

आगलागीबाट गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, अकबर राईको घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । विधुत सर्ट भई गुरुङको घरबाट निस्किएको आगोले सँगै रहेका अन्य चार घरमा क्षति गरेको हो ।

आगलागीबाट पूर्णरुपमा घर जल्दा गुरुङको १ लाख, सोही घरमा रहेको किराना सामानको गोदाम जल्दा ५४ हजार ५००, निजकै घर भाडामा लिई कपडा पसल गर्ने रत्ना गुरुङको नगद ७५ हजार र पसलको सामान जलेर नष्ट हुँदा १३ लाख ७२ हजार, परियारको नगद १ लाख र टेलर पसल जलेर नष्ट हुँदा ७१ लाख ९ हजार क्षति भएको छ ।

शुभराज राईको घर नष्ट हुँदा उहाँकोे घर भाडा लिएर बस्दै आउनु भएका केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको कपडा पसल, पुस्तक पसल, किराना पसलसहित नगद २ लाख समेत जलि नष्ट हुँदा १ करोड २५ लाख, सोही घरमा इन्द्रा राईको होटल र पसल जल्दा ७ लाख ५० हजार, अकबर राईको घर, टिभी, फर्निचरका सामान जल्दा ६३ लाख र अकबरकै घरमा नेपाली कांग्रेस पार्टीको समन्वय कार्यालयको फर्निचर जल्दा २ लाखको क्षति भएको छ ।

श्रेष्ठको घर र घरमा भएको भाँडा पसल, कपडा पसल र नगद ५० हजार समेत नष्ट हुँदा १ करोड ४१ लाख ७७ हजार र श्रेष्ठकै छोरा पवन श्रेष्ठले सोही घरमा भाडा पसल गरी आएकोमा नगद ४० हजार र पसलको सामान जलि पूर्णरुपमा नष्ट हुँदा ३० लाख ४० हजारको क्षति भएको छ ।
साँझ साँढे ५ बजेबाट लागेको आगोलाई स्थानीय, प्रहरी, जेसिभि र स्काभेटर प्रयोग गरेर राती करीव साँढे ८ बजे नियन्त्रणमा ल्याईएको केपिलासगढी गाउँपालिका उपाध्यक्ष गुरुराज राईले बताउनुभयो । उपाध्यक्ष राईका अनुसार पाँच घरको किचनमा भएको खाना पकाउने ग्यास पड्कीदा आगोले उग्र रुप लिएको थियो ।

सोमबार गाउँपालिकाको आकस्मिक वैठकले अग्नि पिडितलाई तत्काल पुर्नस्थापना र राहत दिने निर्णय गरेर आकस्मिक राहत उपलब्ध गराएको छ । गाउँपालिकाले अग्नि पिडितलाई दुमी फन्सिकिमको भवनमा राख्ने निर्णय गरे पनि उहाँहरु आफन्तकैमा बस्ने बनेर बसिरहनु भएको उपाध्यक्ष राईले भन्नुभयो ।

अग्नि पीडितलाई रेडक्रसको राहत

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले बाक्सिला बजारका अग्नि पिडितलाई राहत वितरण गरेको छ । मंगलबार रेडक्रसका मन्त्री छत्रकुमार वजिमय बाक्सिलाबजार पुगेर अग्नि पिडित नौ परिवारलाई त्रिपाल, कम्बल, म्याट्रेस, भाडा सेट, सर्ट र पेन्टको कपडा, सारी, प्रिन्ट र सादा कपडा प्रदान गर्नुभएको हो ।

अग्नि पीडितलाई गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, उपाध्यक्ष गुरुराज राई र रेडक्रसका मन्त्री वजिमयले राहत सामाग्री वितरण गर्नुभएको थियो ।

राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवंम जिल्ला विपद व्यवस्थापन समिति संयोजक सेडाईले क्षतिको विवरणहरु गृह मन्त्रालयमा पठाउने र क्षतिपुर्तिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । गाउँपालिका अध्यक्ष राईले कसैलाई पनि विचलन नभई विपतको सामाना गर्न आग्रह गर्नुभएको छ । गाउँपालिकाले सक्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने र सबैलाई विपत्तीको घडीमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

अग्नि पीडितलाई वाणिज्य संघको राहत

खोटाङ उधोग वाणिज्य संघ र खोटाङ उधोग वाणिज्य संघ बाक्सिला शाखाले अग्नि पिडित नौ परिवारलाई आर्थिक सहयोग गरेको छ । खोटाङ उधोग वाणिज्य संघको ७० हजारसहित बाक्सिला शाखाले संकलन गरेको ४ लाख ५५ हजार ९५ रुपैयाँ मध्येमा २ हजार ८०० राहत कोष खाता खोल्न राखेर अन्य बाँकी रकम मंगलबार पिडितलाई वितरण गरिएको खोटाङ उधोग वाणिज्य संघ बाक्सिला शाखा अध्यक्ष शिव राईले बताउनुभयो ।

राईका अनुसार अग्नि पिडित तारादेबी राई, डिल्ली कुमार श्रेष्ठ, दिल गुरुङ, पवन कुमार श्रेष्ठ, हस्त कुमारी राई, लक्ष्मी राई, ईन्द्रकला राई, रत्न गुरुङ र रमेश परियारलाई जनही ५० हजार २५५ रुपैयाँका दरले राहत वितरण गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?