तेक्वान्दो संघ विघटनपछि विवाद बढ्यो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दुई तेक्वान्दो संघलाई खारेज गर्दै तदर्थ समिति गठन गरेपछि विवाद बढेको छ । अस्तित्वमा रहेका दुई तेक्वान्दो समितिलाई विघटन गर्दै तदर्थ समिति बनाएको थियो ।

राखेपले नवगठित तदर्थ समितिको अध्यक्षमा नेपाल तेक्वान्दो संघका पूर्वउपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहनुभएका प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिइएको थियो ।

जोशी र तुलाधर सातदोबाटोस्थित तेक्वान्दो कार्यालय जाँदा विवाद भएको हो । खारेज गरिएका संघका अध्यक्ष प्रकाशशमशेर राणा नेतृत्वको पदाधिकारीले तेक्वान्दो भवन छाड्न अस्वीकार गरेका थिए । कार्यालयमा भनाभनसमेत भएपछि प्रहरीले कार्यालयमा ताला लगाइदिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारीको रोहवरमा दुवै पक्ष अहिले कार्यालयमा नबस्ने सहमतिपछि प्रहरीले ताला लगाएको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राखेपले तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघ भंग गरेको थियो । लामो समयदेखि दुईवटा तेक्वान्दो संघ थिए । राखेप सदस्य-सचिव टंकलाल घिसिङले दुईवटैलाई विघटन गर्दै तदर्थ समिति बनाउनुभएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐनले एक खेलका लागि एउटामात्र खेल संघ हुनुपर्ने व्यवस्था गरेको छ । ऐनको धारा २६ को दफा ५ को उपदफा (४) मा परिषद्बाट दर्ता गर्दा एक खेलका लागि एकभन्दा बढी तथा एकै उद्देश्य वा समान नाम भएका एकभन्दा बढी संघ वा महासंघलाई दर्ता गरिने छैन भन्ने उल्लेख छ ।

ऐनको दफा ६ को उपदफा ५ मा ऐन प्रारम्भ हुँदाका बखत एउटै खेलका लागि एकभन्दा बढी खेल संघ वा महासंघ गठन भएका रहेछन् भने ऐन लागू भएको मितिले तीन महिनाभित्र एउटै खेल संघ वा महासंघ गठन गरी दर्ताका लागि परिषद्ले सूचना निकाल्ने उल्लेछ । सोही नियमअनुसार राखेपले तीनवटै संघलाई पुनर्गठन गरेको हो ।

राखेपको ११३औँ बोर्ड बैठकले संघको विवाद समाधानका लागि उपाध्यक्ष शिव कोइरालाको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले एकै प्रकृतिका दुईभन्दा बढी संघलाई छलफलमा बोलाएर विवाद समाधानका लागि प्रयास गरेको थियो । तर, त्यसमा सहमति नभएपछि तदर्थ समिति गठन गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?