टोपी, इतिहास र महत्व

चूडामणि कोइराला
Read Time = 13 mins

हामी नेपालीको पहिचान विश्वमा विशेषतः ढाका टोपीलाई नेपालीहरूको चिनारीको रूपमा लिने गरिन्छ सबै देशको भेषभूषा, चालचलन र रीतिरिवाज फरक छ । विगतमा नेपाल एक मात्र विश्वमा हिन्दू राज्यका नामबाट परिचित थियो भने आज आफ्नै मौलिक पहिचानको आधारमा रहने अवस्थाको आसमा रहेको छ ।

टोपीको जन्म कहिले भयो, यसको नामकरण टोपी भनेर कसले ग¥यो, कसरी टोपीले नाम पायो भन्ने बारेमा ठ्याक्कै यही हो भन्ने प्रमाण छैन । संस्कृत भाषामा शिरअस्त्र अथवा शिरको सुरक्षाका लागि लगाउने सामग्रीले टोपीलाई बुझाउँछ । नेपाली शब्दकोशमा शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षा गर्नका निमित्त चाउलो वा घेरा हाली सिएको वस्त्र, शिरपोस भनेर वर्णन गरिएको छ ।

नेपाली भाषामा चलन चल्तीका वस्तुहरूलाई शरीरका अंगहरूसँग जोडिएर प्रयोग हुने थुप्रै वस्तुलाई पनि त्यही अंगसँग जोडेर नामकरण गरिएका उदाहरण पाइन्छन् । जस्तो औँलामा लगाउनेलाई औँठी, कानमा लगाउनेलाई कुण्डल, घाँटीमा लगाउनेलाई कण्ठी, नाकमा लगाउनेलाई, नथिया आदि । यसलाई आधार मानेर अड्कल गर्ने हो भने टाउकामा लगाउने भएको हुनाले टोपी भनिएको हुन सक्छ । त्यस्तै, हामीले प्रयोग गर्दै आएका मिल्दा शब्दहरू शिरमा लगाउने, शिरफूल, शिरबन्दी शिरपोस गलबन्दी आदिले पनि टाउकामा लगाउने टोपी नामको पुष्टि गर्दछन् । यिनै भनाइलाई आधार बनाएर निर्माण गरिएको शब्द हुनसक्छ ।

दशैँको टीकाको दिनमा त टोपी कहिल्यै नलगाउनेहरूले पनि जमरा लगाउन अनिवार्य जस्तै बनेको छ । नवदुर्गाको दशमीको दिन साइतमा लगाइएको टीका तथा जमरा ठूलाबडाले दिएको आशीर्वाद लाग्ने र जसलाई शिरमा थाती राख्न पनि ढाका टोपीको अधिक महत्व त छँदै छ ।

हामी नेपालीको पहिचान बोकेको ढाका टोपीको आजभोलि युवापुस्ताहरूमा निकै सोख बढ्दै गएको देख्न सकिन्छ । शिरमा ढाकाको टोपी लगाउँदा जुनसुकै पहिरनमा पनि निकै आकर्षक देखिने र शोभायमान बढ्ने नै भयो । ढाका टोपी लगाउँदा शिरको शोभा बढ्नुका साथै यो चिसो मौसममा टाउकोलाई सुरक्षित राख्न वा वैशाख–जेठको चर्कंदो घामको रापलाई कम गर्न टोपीले ठूलो मद्दत गर्ने गरेको छ । ढाका टोपीले जाडोमा न्यानो र गर्मीमा शीतलता प्रदान गर्छ । हाम्रा चाडबाड दशैँ–तिहार, विवाह, व्रतबन्धलगायत उत्सवमा अधिक प्रयोग हुन्छ । दशैँको टीकाको दिनमा त टोपी कहिल्यै नलगाउनेहरूले पनि जमरा लगाउन अनिवार्य जस्तै बनेको छ । नवदुर्गाको दशमीको दिन साइतमा लगाइएको टीका तथा जमरा ठूलाबडाले दिएको आशीर्वाद लाग्ने र जसलाई शिरमा थाती राख्न पनि ढाका टोपीको अधिक महत्व त छँदै छ ।

टोपीको इतिहास :
बंगलादेशमा निर्माण हुने जुन ढाकाको कपडा टोपीको लागि उत्पादन हुने गर्दथ्यो, जसलाई नेपालसम्म आयात गरेर ल्याइन्थ्यो । ढाकाको कपडाबाट बुन्ने भएकाले त्यसैलाई ढाका भन्न थालियो र ढाकाका कपडासँगै टोपी पनि बुन्न थालियो त्यही क्रम क्रमशः चल्दै गयो र नेपालीको शान हुन गएको छ आज पनि । नेपाल केही वर्ष पहिलादेखि ढाकाको कपडामा आत्मनिर्भर रहेको छ । ढाकाको उत्पादनका लागि पाल्पालाई प्रख्यात मानिन्छ, तर आज पाल्पाबाहेक नेपालको ३९ जिल्लामा पूर्वी तेह्रथुमदेखि सुदूरपश्चिमलगायतका धेरै ठाउँमा ढाकाको प्रकार–प्रकारका कपडा बन्ने गर्दछन् ।

नेपाली टोपीको डिजाइन नेपालमै भएको हो भन्ने भनाइ छ तर ठ्याक्कै यो टोपीको आकारको आविष्कारक को हो ? भन्ने नै छैन । जंगबहादुर राणाका पालामा उनकी बहिनी डम्बरकुमारी राणाले आफ्नो दाजुलाई खुसी पार्न चलन चल्तीमा रहेको टोपी बनाएर उपहार दिएको भन्ने भनाइ कतै इतिहासमा भेटिएको स्वीकार गर्नुहुन्छ पूर्वप्राध्यापक तोयराज नेपाल ।

नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ । हाम्रोेमा नेपाली राष्ट्रिय पोसाकमा ढाका टोपीविना कुनै अर्थ रहँदैन भन्ने पुरानो उखान पनि छ । कहिल्यै दौरा सुरुवालमा नदेखिएका नेकपा माओवादीका अध्यक्ष यही ११ गते प्रधानमन्त्रीको शपथग्रहण लिनेक्रममा दौरा-सुरुवालको साथ शिरमा ढाका टोपीमा सजिएर जानुभयो । सहभागी अन्य मन्त्री पनि सोही पोसाकमा सजिएका थिए तर शिरको टोपी भने सबैको फरक थियो । जे भए नि शिरमा टोपी थियो । नेपालीमा एउटा गीत छ, स्वर्गीय गोपाल योञ्जनको संगीत रहेको यो गीतले के भन्छ:-
‘यो मेरो टोपी हो
मेरो टोपी कैलाशको शिर जस्तो
मेरो टोपी हिमालको भीर जस्तो
कहिल्यै पनि झुक्न नजान्ने
कहिल्यै पनि लुक्न नमान्ने
मेरो टोपी नेपाली वीर जस्तो
नेपाली वीर जस्तो
यो मेरो टोपी हो...।
यस गीतले टोपीसँग जोडिएको नेपाली मनको भावलाई यति सुमधुर स्वरमा प्रस्तुत गरेको छ कि सुन्दा या पढ्दा मात्र पनि मनमा मनभाव कति उत्साह हुन्छ त्यो केमा नाप्न सकिन्छ र ?
ढावा ढावा अखडा भित्र मेरो टोपी लड्दै थियो
सगरमाथा उभो पनि मेरै टोपी चढ्दै थियो ।
टोपी वीरहरूको वीरताको प्रतीकका रूपमा रहेको पनि यही गीतबाट थाहा पाउँन सकिन्छ । नेपालको राजनीतिक इतिहासमा पनि प्रख्यात नै रहेको छ । कालो पञ्चायत काल भनेर चिनिने समयमा पनि भादगाउँले टोपीलाई तत्कालीन श्री ५ सरकारले सरकारी कर्मचारीका लागि अनिवार्य पोसाककै रूपमा ल्याएको थियो । अहिले त्यो निर्णय कहाँ होला ? के हुँदै होला ?

पञ्चायत कालमा सिंहदरबारभित्र प्रवेश गर्न टोपी अनिवार्य थियो रे मेरो बुबाले भन्नुभएको । नेपाली नागरिकता र पासपोर्ट बनाउँदा टोपी अनिवार्य थियो । आज आवश्यक छैन । किन आवश्यक परेन तिनै निकाय वा राजनीतिक दलका नेताले जानून् । हाम्रो समाजमा केही व्यक्तिहरू नेपालीको पहिचानको भेषभूषामा प्रकट हुनुलाई लज्जाबोध गर्दै छन् भने यही कारण नेपाली टोपीले शोभा जोगाउन हम्मेहम्मे परेको छ । टोपी आज क्याप पनि भएको छ ।

हाल हरेक देशमा भेषभूषा, खानपान, गीतसंगीत, कला अनि भाषा संसारमा उस्तै उस्तै हँुदै गइरहेका छन् । नेपानी शब्द र स्वरका गीत गुञ्जने स्थानहरूमा विदेशी गीतसंगीत गुञ्जिरहेका छन् । नेपाली गीतको पनमा सहरी क्षेत्रमा कमी आएको छ । नयाँ पुस्ताका लागि रुचि र भाषा नेपालीपनमा छैन । यो कसैले रोकेर रोकिन्न ।

टोपीको रूप र महत्व :
टोपीले नेपालको प्राकृतिक बनोटलाई बिम्बित गर्दछ । टोपीले हिमालका चुचुराहरू त्यस्तै गरी पहाडका टाकुराहरूको आकार जस्तै दर्शाउँछ । ढाका टोपीको चुच्चो परेको माथिल्लो भागले हिमाली भेगको प्रतिनिधित्व गरेको आभाष हुन्छ भने बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गरेको छ र तलको समथर भागले तराई मधेसलाई चिनाएको आकृति हुन आउँछ । यसर्थमा पनि ढाका टोपीको महत्व देशको भूगोलसँग कति रहेछ सहजै अनुमान गर्न सकिन्छ ।

हाम्रो र संस्कारलाई हेर्ने हो भने टोपी नलगाएको मानिस भनेको कुनै दुःखद शोकमा परेको भनेर बुझ्ने चलन पहिला थियो । मातापिताको वियोगमा कपाल खौरिएर तेह्र दिनसम्म काजक्रिया गर्ने र वर्ष दिनसम्म शोक बार्ने चलन अहिले पनि हामी कहाँ विद्यमान छ ।

हाम्रा लागि टोपीको विशिष्ट स्थान त छँदै छ । हाम्रो र संस्कारलाई हेर्ने हो भने टोपी नलगाएको मानिस भनेको कुनै दुःखद शोकमा परेको भनेर बुझ्ने चलन पहिला थियो । मातापिताको वियोगमा कपाल खौरिएर तेह्र दिनसम्म काजक्रिया गर्ने र वर्ष दिनसम्म शोक बार्न सेतो वस्त्र र सेतै टोपीको शास्त्रीय चलन अहिले पनि हामी कहाँ विद्यमान छ । यसरी आफ्ना श्रद्धेय पितृ–मातृ सम्मान र दुःख व्यक्त गर्ने प्रतीकको रूपमा सेतो टोपी नै समाजमा रहेको छ ।

राष्ट्रपिता पृथ्वीनारायण शाहको भनाइ ‘चार जात र छत्तीस वर्णको फूलबारी नेपाल हो’ टोपी सबै फूलहरूलाई एउटै मालामा गुथ्न सफल धागो हो । के जात, धर्म, सम्प्रदाय टोपी सबैको शिर हो । टोपी हामी नेपालीको गौरव र शान पनि हो । मन्दिरको माथि लगाइने गजुर पनि टोपी नै हो । त्यही भएर सांस्कृतिक सम्पदा हो टोपी । आज जनबरी १ मा यो दिवस मनाउँदै गर्दा एक दिनका लागि होइन ३६५ दिन नै टोपीको अपनत्व र अस्तित्व रहोस् । यस दिवसको अव्यक्त भाव राज्यबाट भए पनि घोषणा गरिएको टोपी दिवस सरकारी तवरबाट प्रवद्र्धन किन गरिँदैन ? के नेपालीपनाको एउटा मूल सूत्र बोकेको टोपी जोगाउनु नेपाल सरकारको काम होइन र ? विश्वमान नयाँ वर्ष सन् २०२३ स्वागतसँगै अतर्राष्ट्रिय टोपी दिवसको हार्दिक मंगलमय शुभकामना । सबैको शुभ होस् ∕ शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
1 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 Comment
  1. कालाे मैने टाेपि ( भादगाउले टाेपि )काे इतिहास र महत्त्व भुल्न भएन।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?