‘गीतकारको नजरमा गीतकार’

हिमालय टाइम्स
Read Time = 11 mins

✍️ प्रकाश सुवेदी

२०६६ सालमा एउटा गीत निकै चर्चित भयो । त्यतिबेला चिया पसलदेखि सार्वजनिक यातायात र चोकहरूमा त्यही गीतको चर्चा हुन्थ्यो । सिआरबिटी, पिआरबिटीको व्यापार उत्साहजनक थियो । युवादेखि बयस्कसम्म प्रायको कलर ब्याक ट्युनमा अञ्जु पन्तको आवाजमा रहेको तिम्ले पराई ठानेपछि पराई हुन के भयो र गीत बज्थ्यो । ‘नबिर्सें तिमीलाई न पाएँ तिमीलाई’ गजलबाट चर्चामा आएकी अञ्जुलाई यो गीतले थप चर्चाको शिखरमा पुर्‍यायो ।

पाँच हजार रुपैयाँमा मौखिक सम्झौता गरेर ४५ सय रुपैयाँमामै चित्त बुझाउन बाध्य भएकी गायिका अञ्जुलाई यो गीत गाइसकेपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उनी जाने हरेक महोत्सव र स्टेजहरूमा ‘नबिर्सें तिमीलाई’ र ‘तिम्ले पराई ठानेपछि’ दर्शक तथा श्रोताहरूको रोजाइमा पर्थे । स्टेज कार्यक्रमबाट अञ्जुले यिनै गीतहरूबाट लाखौं आम्दानी गरिसकेकी छन् । लिनुपर्ने पैसा बरु बिर्सिएला तर दिनुपर्ने बिर्सिंदैन । लोकराजले पनि अञ्जुलाई नदिएर फ्रुटी खाएको पाँच सय रुपैयाँ जीवनभर बिर्सिंदैनन् । न त त्यो पैसा अञ्जुले नै माग्छिन् न त लोकराजले नै दिन्छन् ।

रेडियो एफएमहरूमा अञ्जुको स्वरका यी गीत नघन्किएको दिन हुन्थेन । शायद सन्तोष श्रेष्ठ पनि तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र गीतबाटै संगीतकारको रूपमा स्थापित भएको हुनुपर्छ । सल्लाह हो या संयोग यस गीतका सर्जक, संगीतकार र पुरुष गायक शिशिर योगी तीनैजना दाङकै हुन् । सबैलाई मन परेको गीत मलाई मन नपर्ने कुरै भएन । त्यतिबेला म पनि सानोतिनो गीतकार/गजलकार भैसकेको थिएँ । गजल नै रेकर्ड नभएको भएता पनि मैले चलचित्र गुरु दक्षिणा, ‘भोलि कहिल्यै देखिँदैन’, र ‘जिन्दगी अलवेज कम्प्रोमाइज’ धाराबाहिक शृंखलाका शीर्षगीत र दुईवटा लोकगीत रेकर्ड गराइसकेको थिएँ ।

साँच्चै भन्दा त्यतिबेलासम्म मभित्र पनि राम्रै गीति चेतना पसिसकेको थियो । म त्यतिबेला केही साथीहरूको साथमा अनामनगरको एउटा रातोघरमा क्रिएटिभ मनकामना फिल्मस् नामक भिडियो प्रोडक्सन हाउस चलाएर बस्थेँ । म स्वयं त्यहाँको सञ्चालकसहित चलचित्र गुरुदक्षिणा र सिग्नेचरको निर्माता भएको हुँदा मेरो अफिसमा गायक, कलाकार, प्रविधिक र सर्जकहरूको भीडभाड राम्रै हुन्थ्यो । २०६६ सालको अन्तिमतिर हुनुपर्छ यही गजलकै प्रसंग चल्दैथियो । यस गजलमा प्रयोग भएका हरेक शब्द र शब्दहरूबीचको तादाम्यले मलाई निकै बाँधेको थियो ।

प्राय चर्चितदेखि नवगायक गायिकासँग सहकार्य गरिसकेका गीतकार अधिकारीले हालसम्म गायिका अञ्जु पन्तसँग मर्छु बरू छट्पटीमा, हेर न आकाशैमा उड्ने चखेवाको जोडी, खरको छानो पनि राम्रो सिपालुले छाएपछि, झ्यालको पर्दा बन्द गर्नु है सहित ६ वटा गीतमा सहकार्य गरिसकेका छन् ।

यो गीतको सबैभन्दा मन छुने पाटो भनेको सरलपन नै थियो । गफ गर्ने क्रममा मैले यो गीत लेख्ने व्यक्तिलाई एक पटक भेट्न मन छ मात्र के भनेको थिएँ मेरो अफिसमा क्यामेरा एटेण्डेण्टको रूपमा कार्यरत अजय रेग्मी भाइ (जो हाल क्यामेरामेनको रूपमा चर्चित र व्यस्त छन्) ले तपाईं भन्नु मात्र म चुड्कीमै बोलाइदिन्छु भने । नभन्दै सो गीतका सर्जक लोकराज अधिकारी पाँच मिनेटभित्र मेरो अफिसमा आइपुगे । चर्चित गीतका सर्जक मैले अनुमान गरेभन्दा कलिला रहेछन् । मैले करिब दुई महिना अगाडिदेखि भेट्न खोजेको अनुहार मेरै अफिसको प्राविधिक भाइ अजयसँगै बस्दा रहेछन् । उमेरले लगभग मेरै दामली लोकराजलाई मैल सोचेभन्दा धेरै सरल पाएँ ।

त्यसपछि उहाँ फुर्सद हुँदा मेरो अफिसमा आउन थाल्नुभयो । कतिपय भिडियो बनाउने क्रममा हामीले सहकार्य पनि गरेका छौँ । त्यति बेलादेखि जमेको हाम्रो मित्रता अहिलेसम्म उत्तिकै छ । हामी एउटै विधामा भए तापनि हामीमा अस्वस्थ प्रतिस्पर्धा र जलनको भाव कहिल्यै जागेन । बरू एक अर्काको प्रगतिमा दुवै खुशी भयौँ र भइरहन्छौँ । लोकराजजी मिडियाकर्मी पनि भएको हुँदा कतिपय मिडियासम्बन्धी काम पर्दा म उहाँलाई सम्झन्छु र म भिडियो प्रोडक्सन हाउसको सञ्चालक र व्यवस्थापक भएको हुँदा भिडियोसम्बन्धी कुनै सल्लाह लिनुपर्दा उहाँ मलाई सम्झनुहुन्छ । प्राय म उहाँलाई लोकराजजी भनेर सम्बोधन गर्छु । आत्मियतापूर्वक कहिलेकाँही मैले के छ लोकुभन्दा उहाँ ठीक छ प्रकु भन्ने जवाफ दिनुहुन्छ ।

प्राय चर्चितदेखि नवगायक गायिकासँग सहकार्य गरिसकेका गीतकार अधिकारीले हालसम्म गायिका अञ्जु पन्तसँग मर्छु बरू छट्पटीमा, हेर न आकाशैमा उड्ने चखेवाको जोडी, खरको छानो पनि राम्रो सिपालुले छाएपछि, झ्यालको पर्दा बन्द गर्नु है सहित ६ वटा गीतमा सहकार्य गरिसकेका छन् । चुनावी प्रचारप्रसारका बाहेक नै १ सय २५ गीतहरू रेकर्ड गराइसकेका अधिकारीले आफ्ना हरेक गीतको अडियो निर्माणदेखि भिडियो निर्माणसम्म को-को व्यक्तिसँग सहकार्य गरेँ भनेर अभिलेख राखेका छन् ।

सिर्जनाको पनि मान्छेको जस्तै कुनै साइत, लगन र भाग्य हुन्छ । यो गीत बजारमा आइसकेपछि संगीतकार श्रेष्ठको पनि भाग्य चम्कियो । जब कोही व्यक्ति पहिलो पटक जहाज चढ्छ ऊ त्यतिबेला जहाजको झ्यालबाट देखिने प्राकृतिक मनोरम दृश्यसँग रमाइरहेको हुन्छ, साथमा अलिअलि डर ! २०६५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बहराइनको लागि उडेका सन्तोष श्रेष्ठको यो जहाजको पहिलो यात्रा थियो । सन्तोषलाई यतिबेलासम्म बादलको तहमाथि जहाज उड्छ भन्ने थाहा थिएन र नहुनु पनि स्वाभाविक हो । जब जहाज विभिन्न डाँडाकाँडा पार गर्दै बादलको रुईको फाँटजस्तो तहमाथि पुग्यो सन्तोषले जहाजको उडान र मनोरम दृश्यहरूको उडानसँगै मनमनै
आखिर डाँडा काट्नु रैछ त्यो मन अन्तै साट्नुरैछ
बादल जस्तै फाट्नु रैछ त्यो मन अन्तै साट्नुरैछ
गीतांशको लय बनाए । संगीतकार सन्तोषले जहाजमै बनाएको लयले गायिका अञ्जु पन्तलाई कयौँ पटक भौतिक रूपमा जहाज चढाउनुको साथसाथै आर्थिक समृद्धिको जहाज पनि त चढायो । भनाइको तात्पर्य यही गीतले मात्र अञ्जुलाई धनी बनायो भन्ने किमार्थ होइन । यो गीतले चर्चाको शिखर चुम्दै जाँदा अग्रज तथा समकालीन संगीतकारले यो सन्तोषकै संगीत होइन होला पनि भने । रिस र डाह गर्ने सर्जकहरूले लोकराजले लेखेकै होइन भन्न नि भ्याए । कुरा काट्ने र खुट्टा तान्ने त मानवीय स्वभाव नै हो जे होस् गीतकार अधिकारीलाई गीतकारकै रूपमा टिक्ने बनायो भने संगीतकार सन्तोषका सुमधुर लयलाई सांगीतिक बजारमा बिक्ने बनायो ।

हिमालय एफएम नेटवर्क, रेडियो देशान्तार र देशान्तर साप्ताहिकमा कार्यक्रम संयोजक, प्रस्तोता र संवाददाताको रूपमा कार्यरत अधिकारीले गीत लेखनबाटै राम्रै आम्दानी गरेर आफ्नो र परिवारको खर्च धानिरहेका छन् । सामाजिक, सहयोगी भावनाका धनी गीतकार अधिकारी धेरै संघसंस्थामा सक्रिय रूपमा आबद्ध छन् । तिम्ले पराइ ठानेपछिका अतिरिक्त गीतकार अधिकारीका बाजा बजाउँदै, हेप्नी मलाई हेप्नी, रूपै मोहनी, जे गर्दा नि मिल्दैन भने, रूपौली रानी, भन्नुहुन्थ्यो बाले, फेरि एक हुन मिल्छ र प्रिय, रातो गलबन्दी, जसो परे पर्लालगायत दर्जनौं गीत चर्चामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?