हिउँदे वर्षा नहुँदा किसान चिन्तित

हिमालय टाइम्स
Read Time = 6 mins

महोत्तरी । माघ दोस्रो साता लागेसँगै पारिलो घाम लाग्न थालेपछि त्यसअघिको बाक्लो हुस्सु र चिसो स्याँठको मुटु कमाउने जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत आइतबारयता बिहानै घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुसी छैनन् ।

यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुसी छाउन नसकेको हो । हिउँदे वर्षा नहुँदा खेतबारीका बालीका विरुवा कक्रँदै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको भनाइ छ । ‘ल हेर्नोस्, अब पारिलो घाम लागेर जिउ त तात्न थाल्यो, बाक्लो हुस्सु फाटेर झलमल्ल उज्यालो देखिँदा खुसी नै हुनुपर्ने हो’, बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय वासुदेव पासवानले भन्नुभयो, ‘यसपालि पानी नपरी हिउँद बित्यो, आउने दिन खुसीका हुने छैनन् ।’ हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेको र अब चाँडै पानीका मुहान सुक्दै जाने पासवानले चिन्ता व्यक्त गर्नुभयो ।

हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने यहाँका पाका किसान बताउँछन् । भर्खरै हुर्कंदै गरेका वैशाखी लहरे तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रूख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । यसपालि वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने चिन्ता बढेको भंगाहा नगरपालिका–४ पलारका ७५ वर्षीय किसान चौठी बाँतर बताउनुहुन्छ ।

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् । भङ्गाहा–४ कै रामनगरका ८० वर्षीय किसान रामनन्दन महतो यसपालि हिउँदमा पानी नपरी माघ दोस्रो साता लागेसँगै घाम चर्कंदै गएको हुँदालगत्तै खानेपानीको हाहाकार पर्नसक्ने बताउनुहुन्छ ।

‘माघ मध्यअघि नै खोल्साखोल्सी सुक्दै छन्, विगतका सदाबहार भुल्के पानीका मुहानमा अहिल्यै पानी देखिन छाडेको छ’, बर्दिबास नगरपालिका-५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वा भन्नुहुन्छ, ‘अब यी पाखा बारीमा हरियो देखिने छाँट छैन ।’

फलफूल खेती (आँप, लिची, सपाटो र रूखकटहर सहितका फल) सघन हुने बर्दिबास नगरपालिकाका बिजलपुरा, पशुपतिनगर, खयरमारा, चेरु, टुटेश्वर, पाटु, वरडाँडा र माइस्थानका किसान यसपालि हिउँदे वर्षा नभएपछि फलका रूखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्तामा किसान छन् । यसैगरी, जिल्लाकै फलपूmल खेतीको पकेटक्षेत्र मानिने गौशाला नगरक्षेत्रका भरतपुर, लक्ष्मीनियाँ र बेलगाछीका किसान पनि हिउँदे वर्षा नहुँदा अपेक्षित उत्पादन लिन नसकिने चिन्ता व्यक्त गर्छन् ।

हिउँदे वर्षा बालीनालीका लागि माटो भिजाउने मात्र नभई रोग लाग्न नदिने र बाली हलक्क बढाउने अमृतसरह भएको किसानको अनुभव छ । ‘हिउँदे वर्षा सिँचाइका लागि मात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि रामवाण हुन्छ’, बर्दिबास-९ पशुपतिनगरका ८० वर्षीय किसान नथुनी महतो भन्नुहुन्छ, ‘हिउँदे वर्षा नहुँदा प्रकृतिका सन्तुलन खलबलिन्छन्, जताततै यसको असर बढ्नेछ ।’

हिउँदे वर्षाको मानव र यावत् जीवजन्तुको स्वास्थ्य र अन्य आहारव्यहारमा पनि सकारात्मक प्रभाव हुने विगतमा पशुपतिनगर गाविस छँदा अध्यक्षसमेत रहनुभएका महतोको थप भनाइ छ । ‘यसपाली हिउँदे वर्षा भएन, खै के उल्का उत्पात व्यहोर्नुपर्ने हो’, महतोले चिन्ता व्यक्त गर्दै भन्नुभयो ।

जिल्लाको कुल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अधिकांशमा आकाशे पानीको भरमा खेती गरिन्छ । यहाँ १० प्रतिशत मात्र खेतीयोग्य जग्गामा स्थायी सिँचाइ पुगेको छ । हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगव्याधका प्रकोप पनि बढ्ने गर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?