काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उहाँले शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै शहीद दिवस देश र जनताका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गर्नुभयो। उहाँले शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात-अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
राष्ट्रपति भण्डारीले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै आजको दिनले हामीलाई शहीदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताउनुभयो । हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल हो ।
तसर्थ, शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्तरूप दिन आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच