पौण्डुकहरूको राज र विनाश अनिवार्य

Read Time = 17 mins

✍️ मणि शर्मा

विगत एक हप्ताभित्र आत्मदाह र आत्महत्या गर्नेहरूको संंख्या बढिरहेको छ । विगत पाँच वर्षभित्र यसरी आत्महत्या गर्नेहरूको संख्या पाँच हजारभन्दा बढी पुगिसकेको छ । प्रेमप्रसाद अर्यालले आत्मदाह गर्नुपूर्व लेखेको मृत्युपत्रले नेपालीहरूले आत्महत्या किन गरिरहेका छन् उदांगो पारेको छ । आत्महत्या गर्न बाध्य पार्नेहरू को-को हुन् प्रष्ट पारेको छ । उनले आत्मदाह गरिसकेपछि सप्तरी छिन्नमस्ता गाउँपालिका-२ का ४५ वर्षीय रामदेव मरिकले छोराको विवाहमा लागेको ऋण तिर्न नसक्दा आत्महत्या गरे ।

माओवादीका सेक्सन कमाण्डर भएर देश बदल्न निस्केका जुम्लाका तिलकबहादुर कार्की प्रायोजित सशस्त्र युद्ध सकिएपछि बेरोजगार भई बाध्य भएर वार्षिक २४ प्रतिशत व्याजमा तीन लाख रुपैयाँ ऋण लिई साउदी अरब गएका उनले आफ्नो वृद्ध बाबुआमा, पत्नी र तीन सन्तानको भरणपोषण गर्दागर्दै ऋण तिर्न नसक्दा साउदी अरबमै आत्महत्या गरे । उनको सर्वोच्च कमान्डर पुष्पकमल दाहाल तीन पटक प्रधानमन्त्री भए र अरू ठूला नेताहरू कैयौं चोटि मन्त्री भए । राजनीतिक नियुक्ति लिई फाइदा उठाए तर देश बदल्ने त टाढाको कुरा उनीहरूलाई यो उचाइमा पुर्‍याउनेहरूको जीवन बदल्न सकेनन् ।

प्रायोजित सबस्त्र युद्धमा लागेका हजारौं खाडी मुलुकमा गए र कैयौं बाकसमा फर्किए । युवाहरूलाई विदेशी शक्तिकेन्द्र तथा आफ्नो स्वार्थमा प्रयोग गर्नेहरू आज वैभवशाली जीवन बिताइरहेका छन् । मिडियामा यस्ता कुराहरू आएपछि पुष्पकमल र बाबुरामहरू गोहीका आँसु बगाइरहेका छन् । यसैबीच विराटनगरका विद्युत् व्यापारी ५७ वर्षीय मोहनप्रसाद न्यौपाने बैंकबाट एक करोड पैंतालीस लाख ऋण लिई व्यापार सञ्चालन गरेका थिए । व्यापार चल्न नसकेर बैंकको ऋण तिर्न नसक्दा उनले आत्महत्या गरेका छन् । कहिले उखु किसान आत्महत्या गर्छन्, कहिले तरकारी, फलफूल, दूध व्यवसायीहरू आफ्नो उत्पादनले बजार नपाएकोमा आफ्ना उत्पादन सडकमा बगाउँछन् र कतिले त आत्महत्या गर्ने गर्छन् ।

ऋण लिँदाको व्याजदरभन्दा अहिले दोब्बर व्याजदर बढाएर जनताको ढाड भाँचिरहेका छन् र किस्ता समयमा तिर्न नसक्दा बैंकले जनतालाई चर्को मानसिक दबाब दिई डिप्रेसनमा जाने अवस्था सिर्जना गरिरहेका छन् बैंक मालिकहरूले ।

यो आत्महत्याको शृंखलाले निरन्तरता पाइरहनेमा कुनै शंका छैन । आउने दिनहरू निम्न मध्यवित्त तथा गरिब जनताका लागि साह्रै नै कहालिलाग्दो छ । प्रेमप्रसाद अर्यालले आत्मदाह गर्दा प्रधानमन्त्री पुष्पकमलको शाही सवारी उनी नजिकै बानेश्वरबाट भइरहेको थियो । तर, उनी वा उनका सहयोगीले यसलाई सामान्य घटना सम्झी बेवास्ता गर्दै अगाडि बढेको दृश्यले हाम्रा शासक वर्गको निष्ठुर चरित्रको उजागर गर्छ । प्रेम अर्यालको मृत्युपत्रले यो व्यवस्थाको नांगो रूप उजागर गरेको छ । यो व्यवस्था मुट्ठीभर नेताहरू, दलाल पुँजीपतिहरू, बिचौलिया, माफिया, तस्करहरूका लागि लुटको स्वर्ग भएको छ भने आमजनताको लागि त्यस्तो हुन सकेको छैन । आउने दिनहरू अझै भयावह हुँदै जानेछन् ।

यो भयावह परिस्थितिको जन्म अहिले मात्र भएको होइन् । यसको जग २०४८ सालमै बसालिएको हो । कांंग्रेसको खुला बजार अर्थतन्त्र नीतिअन्तर्गत जब नेपालमा भएको ठूला तथा मझौला उद्योगहरू कौडीको भाउमा बेचियो । त्यसपछि महाकाली सन्धिबाट राष्ट्रघाती सन्धिसम्झौताहरूको क्रम सुरु भयो जो आजपर्यन्त छ र अनवरतरूपमा पछिसम्म चलिरहनेछ । उद्योग, कलकारखाना ध्वस्त पारेपछि यिनै नेता तथा यिनका मतियारले म्यानपावर कम्पनीहरू खोलेर युवाशक्तिलाई श्रमदास बनाई विदेश पैठारी गर्न सुरु गरेका छन् र वर्तमान सरकारको पनि यही नीति छ ।

त्यसपछि जग्गाहरूको प्लटिङ गरेर बेच्न सुरु गरी कृषीजन्य भूमिहरू समाप्त पार्ने काम भयो । युवाशक्ति नहुनाले कृषिकार्य गर्ने कृषकहरूको कमी हुँदै गयो । पञ्चायत कालमा धानलगायत नगदे बाली निर्यात गर्ने मुलुकलाई वार्षिक पचास अर्बभन्दा बढीको खाद्यान्न आयात गर्ने मुलुक बनाए । उद्योगधन्दा समाप्त पारी प्रत्येक कुरा आयात गर्ने मुलुकमा परिणत गरे । कालो धनलाई सेतो पार्न नेताहरूले दलाल पुजीपतिहरूसँग मिलेर बैंकहरू खोलेर चर्को व्याज लादी जनताको शोषण गर्न सुरु गरे । ऋण लिँदाको व्याजदरभन्दा अहिले दोब्बर व्याजदर बढाएर जनताको ढाड भाँचिरहेका छन् र किस्ता समयमा तिर्न नसक्दा बैंकले जनतालाई चर्को मानसिक दबाब दिई डिप्रेसनमा जाने अवस्था सिर्जना गरिरहेका छन् बैंक मालिकहरूले । आज बैंकहरू अर्बौंको नाफामा छन् तर जनतालाई ऋण तिर्न नसक्ने स्थितिमा पुर्‍याएर आत्मदाह र आत्महत्या गर्न बाध्य पारिरहेका छन् । बजार ठूला उद्योगी तथा व्यापारीहरूका हातमा छ ।

एमाले आजको अवस्थाका लागि उत्तिकै जिम्मेवार छ । नेकपा एमालेले नेपालमा आइएनजिओ र एनजिओहरू भित्र्याएर धर्म परिवर्तनदेखि, सनातनी संस्कार, परम्पराहरूको सत्यानास मात्र गरेको छैन, सँगसँगै राज्यका हरेक अंगमा यिनीहरूको पहुँच पुगेको छ । नेपालको संविधानको मस्यौदासमेत उनीहरूले गरिदिए, कानुन उनीहरूले बनादिए, कथित नागरिक समाज, अधिकारवादी संस्था सबै तिनीहरूकै मातहतमा छन् । समग्रमा देश आइएनजिओ र एनजिओहरूले नै चलाइरहेका छन् । माफिया, दलाल, बिचौलिया पोस्न र भ्रष्टाचार गर्न एमाले पनि कांग्रेसभन्दा पछि छैन । २०४७ सालको संविधान बनेको चार वर्ष नबित्दै माओवादी नामक इण्डोपश्चिमा शक्तिले परिचालन गरेको आतंंककारी जत्थाले हिंसात्मक गतिविधि र हत्याको शृखला सुरु गरी नेपालमा बाँकी बचेको उद्योग, व्यापार, कृषि क्षेत्र, संस्कृत शिक्षा, धर्ममाथि आक्रमण गरी ध्वस्त बनायो । देशको मेरुदण्डलाई नै भाँच्ने काम माओवादीले गर्‍यो ।

माओवादी आतंकको डरले गाउँबाट मानिस विस्थापित हुन बाध्य पारेर कृषि क्षेत्रलाई ध्वस्त पारे र युवालाई विदेश पलायन हुनसमेत बाध्य पारे । माओवादीहरूले गरेका कुकृत्यहरूको संलग्नता कांग्रेस र एमालेले गरेका राष्ट्रघातसँग नियोजित ढंगले जोडिएको छ । माओवादीहरूले कहिल्यै ठूला नेताहरूको हत्या गरेनन् । उनीहरूले गाउँका सिधासादा जनता, संस्कृत शिक्षक, धर्मगुरु, उनीहरूले मागे जति चन्दा नदिनेहरूको मात्र हत्या गरे । माओवादीले आफ्ना सहयोद्धा कांग्रेस र एमालेका ठूला नेताहरूको हत्या गरेनन् । १२ बुँदे सहमति यसकै उपज हो । प्रेम आचार्यको आत्मदाह केही दिनसम्म मिडिया, सामाजिक सञ्जाल र माइतीघर मण्डलामा रमिता देखाएर सेलाएर जान्छ भन्ने कुरा नेताहरूले बुझेका छन् । त्यसैले यस बारेमा न त ओली बोले न त पुष्पकमल दाहाल न त देउवा नै बोले । नेपाली जनताको संवेदनशीलता क्षणिक हो । अधिकांश नेपाली जनता पनि संवेदनहीन छन् । ट्युनिसियामा १६ डिसेम्बर २०१० मा प्रहरी, नगरपालिका र सम्बन्धित कार्यालयका अधिकारीद्वारा अपमानित भएपछि तारेक अल मोहम्मद बाउजीजीले आत्मदाह गरेका थिए । कारण, उनले सडकमा फलफूलको ठेला राख्न प्रहरीलाई घुस नदिँदा उनको फलफूल प्रहरीले लुटेर लग्ने गरेका थिए ।

आफ्नो व्यापारका लागि उनले दुई सय डलर ऋण लिएका थिए । आफ्नो घरपरिवार, वृद्ध मातापिताको जिम्मेवारी उनको काँधमा थियो । ट्युनिसियामा बढ्दै गएको भ्रष्टाचार, महँगी, कुशासनको विरुद्ध बाउजीजीको आत्मदाह राज्यविरुद्धको एउटा विद्रोह थियो जसरी हाम्रा प्रेम आचार्यले गरेको विद्रोह थियो । उनको अन्त्यष्टिमा पाँच हजार जनता सामेल थिए र उनको शवलाई तिनीहरूले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । उनीहरूको नारा थियो, अलबिदा मोहम्मद, हामीले बदला लिनेछौँ, आज हामी तिम्रा लागि रोइरहेका छौँ, एकदिन हामी जसका कारण तिमीले हामीलाई रुने बनायौ तिनीहरूलाई छाड्ने छैनौँ । त्यसपछि ट्युनिसियामा विद्रोहको आगो दन्कियो । राष्ट्रपति बेन अलीले देश छाडेर फ्रान्समा शरण माग्दा फ्रान्सले शरण नदिएपछि शर्तहरूको आधारमा साउदी अरबले उनलाई शरण दियो । यो आगो पूरै अरबभरि दन्कियो । धेरै पीडितले आत्मदाह गरे, विभिन्न देशमा । ट्युनिसियामा चार महिनाभित्र एक सय सातजनाले आत्मदाह गरे ।

इजिप्टमा फैलिएको यो आगोले राष्ट्रपति हुस्ने मुबारक सत्ता परित्याग गर्न बाध्य भए । साउदी अरबमा पनि पैंसट्ठी वर्षीय वृद्धले आत्मदाह गरे । जोर्डन, यमन र अल्जेरियामा पनि यो आत्मदाहको आगो फैलिएपछि त्यहाँका शासक जनतालाई धेरै सुविधाहरू दिन बाध्य भए ।
तर, नेपालमा जिउँदा मान्छेहरूभन्दा जिउँँदा लाशहरूको संख्या धेरै भएकाले प्रेम अर्यालको विद्रोहले मूर्तरूप लेला भन्ने देखिँदैन । शासक वर्ग नेपाली जनताको नशा समातेर बसेका छन् । छानविनको नाममा यस घटनालाई ओझेलमा पार्ने काम भइसकेको छ । अहिलेसम्म कुन छानविनमा घटनाको रिपोर्ट आएर दोषीलाई कारबाही गरिएको छ र प्रेम अर्यालको आत्मदाहको छानविनको यथार्थ रिपोर्ट आउनेछ ? अब यिनीहरूको ध्यान राष्ट्रपतिमा कुन शक्तिको बफादारीलाई ल्याउने भन्ने कुरामा जानेछ र प्रेम आचार्य एक दिनको कथा बन्नेछन् । द्वापर युगमा करुष राज्यको राजा पौण्ड्रक आफूलाई नै भगवान ठान्थे, जसरी हाम्रा शासकवर्गले आफूहरूलाई नै यो देशको सर्वेसर्वा ठानिरहेका थिए । तिनले आफ्नो दूत द्वारिका पठाएर श्रीकृष्णलाई उनको अस्तित्व स्वीकार्न चुनौती दिएका थिए । उनले दूतमार्फत भनेका थिए, ‘म नै एकमात्र वासुदेव हुँ, अरू कोही छैनन् । जगतका प्राणीहरूलाई कृपा गर्न मैले अवतार लिएको हुँ । तिमीले झुट्टै आफ्नो नाम वासुदेव राखेका छौ, अब त्यसलाई त्याग । यदुवंशी वीर, तिमीले मूर्खतावस मेरो चिहृन धारण गरेका छौं । त्यसलाई त्यागेर मेरा शरणमा आऊ र मेरो कुरा स्वीकार, नभए मसँग युद्ध गर ।’

प्रेम आचार्यले आफूलाई ठगेका सूदखोर बैंक, राज्य संंरक्षित ठूला उद्योगपति, व्यापारी, बिचौलिया र कमिसनखोरहरूबाट आफू उत्पीडित भएको लेखेका छन् । यसमा तिनीहरूमात्र दोषी छैनन् । महादोषी यो राज्य व्यवस्था र यसका अधिपतिहरू हुन् ।

श्रीकृष्णका सभाषद उग्रसेनसहित सबै उसको कुरा सुनेर हाँस्न लागे । कृष्णले युद्धको प्रस्ताव स्वीकार गरे । राजा पौण्डुक काशीमा काशीराजसँग थिए । युद्धको सन्देश आएपछि उनीसँगै काशीराज पनि श्रीकृष्णसँग लड्न तयार भए । पौण्ड्रकले दैवीय विज्ञान र तकनिकले बनाएको शंख, चक्र, गदा, तलवार, शांर्ग, धनुष र श्रीवत्स आदि चिहृन आफ्नो शरीरमा धारण गरे । वक्षःस्थलमा कृत्रिम कौस्तुभमणि र वनमाला झुण्ड्याए । उनले भगवान विष्णुकै जस्तो रेशमी पीतवस्त्र लगाएका थिए र रथको ध्वजामा गरुडको चिहृन लगाएका थिए । शिरमा अमूल्य मुकुटधारण गरेका थिए जसबाट अद्भूत् आभा आइरहेको थियो, कानमा मकराकृत कुण्डल चम्किरहेको थियो । मानौँ साक्षात विष्णु जसरी हाम्रा शासकवर्गले आफूहरूलाई साक्षात महाराज ठानिरहेका छन् ।

युद्धमा एकातिर काशीराज र पौण्डुक तथा उनीहरूका सेना अर्कोतिर श्रीकृष्ण र उनका सेना । भयानक युद्ध भयो । अन्त्यमा श्रीकृष्णले पौण्ड्रकको शिर सुदर्शन चक्रले काटिदिए । प्रेम आचार्यले आफूलाई ठगेका सूदखोर बैंक, राज्य संंरक्षित ठूला उद्योगपति, व्यापारी, बिचौलिया र कमिसनखोरबाट आफू उत्पीडित भएको लेखेका छन् । यसमा तिनीहरूमात्र दोषी छैनन् । महादोषी यो राज्यव्यवस्था र यसका अधिपति हुन् । जनता यी नक्कली अधिपति पौण्डुकविरुद्ध श्रीकृष्ण बनेर नआउँदासम्म यहाँ दिनदिनै जनताको अवस्था प्रेम अर्याल जस्तै भइरहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?