पहिचानको सकसमा तेस्रो लिंगी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 10 mins

पाल्पा । पाइन्ट ज्याकेटको पहिरनमा झट्ट हेर्दा पुुरुषझैं देखिने रेशम न्यौपानेलाई महिला हो भनेर कमैले चिनेका छन् । उहाँले आफ्नो वास्तविकता बताउँदै भन्नुुभयो, ‘जन्मले म छोरी मान्छे तर म आत्माले पुरुष हुँ । मलाई गर्व छ मेरो पहिचानमा ।’ उहाँको यो भनाइले कार्यक्रममा उपस्थित सबै अचम्ममा परे । ‘म समाजलाई आफ्नो पहिचानलाई प्रमाणित गर्ने प्रयासमा छु । छोरीबाट छोरा बन्ने मेरो रहर होइन । यो मेरो आत्माको पहिचान हो ।’ जसको मूल्य चुकाउन उहाँले घर छाड्नुपर्‍यो । आफन्तलाई छोड्नुपर्‍यो । ‘समाजमा आफ्नो पहिचानसहितको आत्मसम्मान पाउन गाह्रो छ । अनेक थरीका आरोप र घृणाबीच हामी बाँच्नुपर्छ । कहिलेसम्म ?,’ उहाँले यो प्रश्न गरिरहँदा उत्तर कोहीसँग थिएन । एक्लोलाई सहारा दिने वृक्ष समूह रूपन्देही र ओपन सोसाइटी फाउण्डेशनले तानसेनमा आयोजना गरेको स्थानीय सरकार र पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै समूहकी लुम्बिनी प्रदेश संयोजकसमेत रहनुुभएकी न्यौपानेले यस्तो बताउनुुभएको हो । समूहका सदस्य तथा मानवअधिकारकर्मी विनोद बिसीले पनि भित्री मनले महिला बन्ने रहर दबाएर बस्नुुभएको छ । उहाँले भन्नुभयो, ‘सामाजिक बाध्यताले त्यो इच्छा दबाएरै बसेँ तर कतिन्जेल बस्ने ? हाल म विनोद बिसी भनेर चिनिन थालेको छु ।’ हेर्दा महिलाजस्तो तर स्वभाव सबै पुुरुषको उहाँमा छ । सुुरु-सुुरुमा त उहाँ खुलेरसम्म बोल्न सक्नुहुन्थेन । तेस्रो लिंगीहरूको हकहितमा काम गर्ने संघसंस्थाको सहयोग पाएपछि भने उहाँ अहिले खुल्न सहज भएको बताउनुुहुुन्छ ।

कार्यक्रममा यौनिक तथा लैंगिक पहिचानका विषयमा बोल्दै काम गरेर पनि स्वतन्त्ररूपमा आफ्नो पहिचानसहित जीवन जिउन नपाएको तेस्रो लिंगीहरूले गुनासो गरेका छन् । यौनिक तथा लैंगिक अल्पसख्यंक समुदाय (तेस्रो लिंगी) का अगुवा अधिकारकर्मीहरूले समाजमा आत्म सम्मानजनकरूपमा बाँच्न पाउनुपर्ने बताएका छन् । परिवार र समाजले गर्ने नकारात्मक व्यवहारका कारण तेस्रो लिंगीहरू अपमानित हुनुुपरेको भन्दै उनीहरूले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताए ।

समूहका लुम्बिनी प्रदेश संयोजक रेशम न्यौपानेले यौनिक तथा लैंगिक अल्पसख्यंक समुदायहरूको वर्तमान अवस्था, ऐन कानुन, चुनौती र समाधानका विषयमा जानकारी गराउँदै समाजमा मर्यादित जीवन जिउन पाउनु सबैको अधिकार भएको बताउनुुभयो । तेस्रो लिंगीसमेत रहनुुभएकी उहाँले आफ्नो समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनकरूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुुभयो । न्यौपानेले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका समस्या सम्बोधनमा तीनै तहका सरकार र राजनीतिक दल उदासीन भएको गुनासो गर्नुभयो । उहाँले आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको बताउनुुभयो । न्यौपानेले महिला, पुरुषसरह तेस्रो लिंगीलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गर्नुभयो । नागरिकता लिन जाँदा मेडिकल जाँच गरेर पहिचानसहितको रिपोर्ट लिएर आउनु भनेर फर्काइने गरेको र अनावश्यक प्रश्नको सामना गर्नुपरेको गुनासो गर्नुभयो । राजनीतिक दल र तीनै तहका सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकका समस्यालाई सम्बोधन गरिदिन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

एक्लोलाई सहारा दिने वृक्ष समूहकी अध्यक्ष अस्मिता रानाले आफू तेस्रो लिंगी हुनुपर्दा भोगेका समस्याका बारेमा जानकारी गराउँदै यौनिक तथा लैंगिक अल्पसंख्यकहरू समुदाय, घरपरिवार, विद्यालय, सार्वजनिक ठाउँलगायत सबै क्षेत्रमा अपमानित र विभेदको शिकार हुनुपरेको बताउनुुभयो । तेस्रो लिंगीलाई ‘हिजडा, छक्का’ जस्ता अपमानित शब्द प्रयोग गरी भावनामा चोट पुर्‍याउने र विभेद गर्ने गरिएको उहाँले गुनासो गर्नुभयो । अहिले रूपन्देहीमा एक्लोलाई सहारा दिने वृक्ष समूहमार्फत् तेस्रो लिंगीहरूको व्यवस्था गरिँदै आएको अध्यक्ष रानाले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘हामी कसैको छोराको विवाह, व्रतबन्ध हुँदा सांस्कृतिक कार्यक्रम गर्छौं त्यहाँबाट पाइने दक्षिणाबाट हाम्रो जीवन चलेको छ ।’ सन्तान रुँदा आमाबुुबाको मन पनि रुनुुपर्ने भन्दै अध्यक्ष रानाले भन्नुुभयो, ‘हाम्रो अभिभावक तथा बुुबाआमा भनेकै स्थानीय सरकार हो, त्यसैले हामी स्थानीय सरकार भएको ठाउँमा रुँदै आएका हौँ ।’ स्थानीय सरकारले बजेटमार्फत् हाम्रो समस्या र सम्मानको सम्बोधन गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा समूहका सदस्य तथा मानवअधिकारकर्मी विनोद बिसीले स्थानीय तहले नीति कार्यक्रम बनाउँदा आफ्नो समुदायलाई समेट्न नसकेको गुनासो गर्नुभयो । तेस्रो लिंगीसमेत रहनुुभएका उहाँले नेपालमा समलिंगी विवाहलाई कानुनी मान्यता नहुँदा एक्लै जीवनयापन गर्नुपर्ने भएकाले यो समुदायका नागरिकमा मानसिक समस्यासमेत देखिने गरेको बताउनुुभयो । ‘तेस्रो लिंगी पनि यही समाजका मान्छे हुन्,’ उहाँले भन्नुुभयो, ‘त्यसैले उनीहरूलाई तिरस्कार होइन आत्मसम्मानका साथ बाँच्न दिनुपर्छ ।’ अधिकारकर्मी बिसीले आफूहरूले हरेक क्षेत्रमा अपमान र विभेद झेल्नुपरेको पीडा सुनाउँदै भन्नुुभयो, ‘समाजमा अरूले जस्तै सम्मानजनकरूपमा बाँच्न पाउनुपर्दछ ।’ स्थानीय तहले नीति कार्यक्रम बनाउँदा आफ्नो समुदायलाई समेट्न पनि उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

तेस्रो लिंगी तथा अधिकारकर्मी अवन्ती घर्ती मगरले तेस्रो लिंगीहरू समाजमा अपमानित भएर बस्न नपरोस् र उनीहरू खुलेरै आफ्नो अधिकारका विषयमा बोल्न सकून् भनेर नै सरोकारवाला निकायसँग छलफल र अन्तरक्रिया गर्दै आएको बताउनुुभयो । उहाँले अझै पनि समाजमा तेस्रो लिंगीहरू खुलेर आउन नसकेको भन्दै उनीहरूलाई समाजमा सम्मानजनकरूपमा हेर्ने दृष्टिकोणको वातावरण सिर्जना गरिदिन स्थानीय सरकार र पत्रकारहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतीक्षा सिंजालीले तेस्रो लिंगीहरूको समस्याप्रति आफू अनविज्ञ रहेकाले छलफलबाट धेरै कुराहरू सिक्न पाइएको भन्दै आगामी दिनमा अल्पसंख्यकहरूका लागि पनि स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउनुुभयो । उहाँहरूले तेस्रो लिंगीहरूले खोजेको सम्मान र अपेक्षालाई सम्बोधन गर्ने दिशामा आफूहरू गम्भीर बन्ने बताउनुुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, तानसेन नगरपालिका-१ का वडाध्यक्ष सुनिल बस्याल, नेपाल परिवार नियोजन संघ पाल्पाका सहायक लेखनाथ ढकाललगायतले तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?