पोखरामा यती विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । माघ १ गते ७२ जनाको ज्यान जाने गरी पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगले बुधबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठन गरिएको आयोगले विमानको ब्ल्याकबक्सबाट प्राप्त डाटा विश्लेषण गरी प्रारम्भिक प्रतिवेदन बनाएको हो । प्रतिवेदनमा अन्तिम समयमा इन्स्ट्रक्टर पाइलट कमल केसीले विमानको कमान्ड सम्हालेको उल्लेख गरिएको छ ।

दुर्घटना जाँच आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार जहाजका दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको थियो, यो अवस्थामा जहाज अगाडि बढ्न नसक्ने हुँदा सेती खोंचमा झरेको थियो । यस्तो हुनुमा इन्जिनकै खराबी थियो वा मानवीय कमजोरी भयो भन्नेबारे विस्तृत प्रतिवेदनले देखाउने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । यस्तै अवतरण गर्ने मार्गमै केही समस्या भयो भन्ने पनि थप अध्ययनबाट खुल्ने भएको छ ।

उक्त दिन बिहान १०ः३२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उडेको थियो । जहाज पोखरा पुगेपछि ६ हजार फिटबाट अवतरणका लागि ३११ फिटको उचाइमा ओर्लिएको थियो । ट्राफिक कन्ट्रोलरले जहाजलाई धावनमार्ग ‘थ्री जीरो’बाट अवतरण गर्न अनुमति दिए पनि पाइलटले उत्तरतर्फको रनवे ‘वान टू’बाट जहाज अवतरण गराउने गरी अनुमति मागेका थिए । पाइलटले यस्तो अनुमति किन मागे भन्ने खुलेको छैन ।

काठमाडौंबाट पोखरा उड्दा विमानको कमान्ड पाइलट अञ्जु खतिवडाले लिएको तर ल्यान्डिङको अनुमति लिइसकेपछि अन्तिममा कमल केसीले कमान्ड लिएको प्रतिवेदनमा उल्लेख छ । पाइलटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुमति मागेपछि एटीसीले रनवे ३० मा अवतरण गर्न अनुमति दिएको तर पाइलटले केही समयपछि रनवे १२ मा अवतरणका लागि अनुमति मागेको र एटीसीले त्यसको पनि अनुमति दिएको उल्लेख छ । विमान अवतरणका लागि ल्यान्डिङ गेयरसमेत खोलिसकेपछि पाइलट कमल केसीले कमान्ड सम्हालेको उल्लेख छ । प्रतिवेदनमा इन्जिनका दुवै प्रोपेलर फेदर भएको बताइएको छ । तर किन त्यस्तो भयो भन्ने विषय भने अध्ययनमा रहेको उल्लेख गरिएको छ ।

अनुसन्धानका क्रममा देखिएअुनसार दुबै इन्जिनको कारण जहाजका पंखाको अवस्थिति जहाजलाई अगाडि बढाउन योग्य थिएनन् भन्ने देखिन्छ । जहाज अगाडि बढ्न सक्ने अवस्था नभएरै जहाज भुइँमा झर्न पुगेको प्रतिवेदनमा उल्लेख छ । यसमा पूर्ण अध्ययनविना कसैलाई दोष देखाउन नमिल्ने पनि प्रतिवेदनमा बताइएको छ । तर प्रारम्भिक अध्ययनमा विमान दुर्घटना खराब मौसमका कारण भने नभएको प्रष्ट भएको छ । दुर्घटनाका बेला ६ किलोमिटर भिजिबिलिटी देखिएका कारण मौसमी कारणले भने दुर्घटना नभएको प्रष्ट भएको हो ।

दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डेटा विश्लेषण गरेको थियो । आयोगका संयोजक नागेन्द्र घिमिरे, हवाई विज्ञ र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुर जानुभएको थियो । फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डेटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ ।

आयोगले अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याएको हो । दुर्घटनामा चालक दलका चार सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । सोही दिन सरकारले डेढ महिनाको कार्यावधिसहित पूर्वसचिव बुद्धिसागर घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?