नयाँ संवत्सरारम्भ, चैते दशैँ र रामनवमी

Read Time = 28 mins

✍️ तोयराज नेपाल

अथ वत्सारम्भनिर्णयस्तिथिनिर्णयश्च
तत्र चैत्रशुक्लप्रतिपदि वत्सरारम्भः (तत्रौदयिकी प्रतिपद् ग्राहृया) ।
‘धर्मसिन्धुः, सुधा पृ.७४। ध.सि.हेम.पृ ७७ ।
चैत्रशुक्ल प्रतिपदादेखि चान्द्रमानले संवत्सरारम्भ नव वर्षारम्भ हुन्छ । त्यसका लागि सूर्योदयकालमा रहने प्रतिपदालाई लिनुपर्दछ । ‘चैत्रे सितप्रतिपदि यो वारो क् र्कोदये स वर्षेशः’ ज्योतिर्निबन्धको यो वचन अनुसार चैत्रशुक्ल प्रतिपदामा जुन बार सूर्योदय हुन्छ, वर्षेश अर्थात् वर्षको राजा त्यही ग्रह हुन्छ ।

२०७९साल चैत्र ८ गते बुधबार चैत्रशुक्ल प्रतिपदा परेको हुँदा त्यसै प्रतिपदाबाट पिंगलनामको नयाँ संवत्सरको प्रारम्भ भयो । यस वर्षको वर्षेश राजा बुध हुने भएकाले पञ्चाङ्गमा (पात्रामा) राजा बुध लेखेर पञ्चाङ्ग प्रकाशन भइसकेका छन् । दुई दिन सूर्योदय कालभरि प्रतिपदा व्याप्त छ भने तीमध्ये अघिल्ला दिनको प्रतिपदालाई वत्सरारम्भ लिनुपर्दछ । दुवै दिनमा त्यसको व्याप्ति छैन भने पनि अघिल्लै दिनको प्रतिपदालाई लिनुपर्दछ । चैत्रमा मलमास पर्न गयो भने वर्षका आदिमा गर्नुपर्ने तैलाभ्यङ्ग (तेल मालिस) को काम र संकल्पमा नयाँ संवत्सरको उच्चारण गर्ने काम मलमामासका प्रतिपदामा नै गर्नुपर्दछ ।

‘प्रतिगृहं ध्वजारोपणं, निम्बपत्रप्राशनं, वत्सरादिफलश्रवणं । नवरात्रारम्भो नवरात्रोत्सवादिनिमित्ताभ्यङ्गादिश्च शुद्धमास प्रतिपदि कार्यः ।।’ ध.सि.हेम पृ.(७७)
नयाँ संवत्सर आरम्भका बेला प्रत्येक घरमा ध्वजा राख्ने, नीमका पात खाने, वर्षफल आदि सुन्ने, नवरात्रको आरम्भ गर्ने र नवरात्रसम्बन्धी उत्सव आदिका उपलक्ष्यमा मालिस, बुकुवा इत्यादिको प्रयोग गर्नेजस्ता काम भने शुद्ध चैत्रशुक्ल प्रतिपदामा गर्नुपर्दछ । मयूखमा नयाँ वर्षको आरम्भका उपलक्ष्यमा गर्नुपर्ने तेल मालिस पनि शुद्ध चैत्रशुक्लका प्रतिपदामा नै गर्नुपर्छ भनिको छ । संत्सरारम्भमा तेल मालिस गर्ने कामलाई नित्य कर्मका रूपमा लिइन्छ । ‘अकरणे प्रत्यवायोक्तेः ।’ ध.सि.सुधा ७४, ध.सि.हेम.पृ.(७७) ।

नयाँ संवत्सर आरम्भका बेला प्रत्येक घरमा ध्वजा राख्ने, नीमका पात खाने, वर्षफल आदि सुन्ने, नवरात्रको आरम्भ गर्ने र नवरात्रसम्बन्धी उत्सव आदिका उपलक्ष्यमा मालिस, बुकुवा इत्यादिको प्रयोग गर्ने जस्ता काम भने शुद्ध चैत्रशुक्ल प्रतिपदामा गर्नुपर्दछ ।

नगर्दा दोष लाग्ने कुरा बताइएको हुनाले तैलाभ्यङ्ग नित्य हो । यो भयो चान्द्रमान अनुसारको वत्सरारम्भ । अब सौरमानले विक्रम संवत्सर अनुसारको वत्सरारम्भ भने वैशाख सङ्क्रान्तिका दिनदेखि मान्ने हाम्रो परम्परा छ । नव वर्षका उपलक्ष्यमा परस्पर शुभकामना आदान प्रदान गरी यसलाई ठूलो उत्सवका साथ नव वर्ष मनाउने परम्परा छ । यस दिन भक्तपुरमा विश्वध्वज पातन गरी विस्केट यात्रा प्रारम्भ गर्ने परम्परा पनि छ ।

यस वर्ष षष्ठी संवत्सर मध्ये बार्हस्पत्यमानले पिङ्गलनाम संवत्सर प्रवेश भएको छ । ‘पिङ्गलाब्दे त्वतिभीतिमध्यसस्यार्घवृष्टयः । राजानो वित्तमाक्रान्ता भुञ्जते, शत्रुमेदिनीम् ।।’
पिङ्गनाम संवत्सरमा वृष्टिको स्थिति मध्यम रहनेछ । त्यसैले अन्नादिको उत्पादन पनि मध्यमखालकै हुनेछ । खाद्यपदार्थको मूल्यवृद्धि हुनेछ । पिंगल संवत्सरका प्रभावसँगै ईतिभय हुनेछ । ‘ईति भनेका’ ‘अतिवृष्टिरनावृष्टिशलभा मूषिकाः शुकाः । प्रत्यासन्नाश्च राजानः षडेते ईतयः स्मृताः ।। ‘अतिवृष्टि, अनावृष्टि, सलहको भय, मूसाको भय, सुगाको भय र राजाको वा सत्तासीन शासकको भय हुनेछ । धान्यादिको मूल्यवृद्धि हुनेछ । शक्तिशाली राज्यले कमजोर राज्यमा प्रभाव बढाउनेछन् । बृस्पतिका कारण बर्खेबालीमा भने उत्पादनमा सुधार हुनेछ ।
कर प्रणाली र राज्यमा हुने परचक्रीको प्रभाव तथा अन्य विभिन्न रोगादिबाट जनता पीडित हुनेछन् । विभिन्नखाले समस्यासँग राज्यले लड्नुपर्ने हुन्छ । गासवास र कपासको समस्याले गर्दा जनता विदेशमा जान बाध्य हुनेछन् । शुक्रको मन्त्रित्वका कारण सुनाचाँदीहरूमा मूल्यवृद्धि हुनेछ छ भने केही शुभफलहरू पनि प्राप्त हुनेछन् । समग्रमा यस संवत्सरका कारण यस वर्ष राज्यमा अनुकूलता र प्रतिकूलताको प्रभाव विचार गर्दा मध्यम स्थिति रहने देखिन्छ ।

चैत्रशुक्ल अष्टमीका दिन पुनर्वसु नक्षत्र र बुधबार पनि पर्‍यो भने ता त्यसदिन प्रातःकालमा विधिपूर्वक स्नान गर्नाले मात्र पनि वाजपेय यज्ञ गरेजस्तो फल प्राप्त हुन्छ ।

चैत्राष्टमी तथा चैते दशैँ
यद्यपि आद्याशक्ति माहेश्वरी शक्ति भवानी भगवती जन्मरहित अव्यक्त अजन्मा हुनुहुन्छ । तापनि वेलाबखत भक्तको कार्यसिद्धि गर्नका लागि स्वेच्छाले जन्म ग्रहण गर्नुहुन्छ, व्यक्त हुनुहुन्छ, प्रकट हुनुहुन्छ । कुनै बेला चैत्रशुक्ल अष्टमीका दिन भक्तका कार्य सिद्ध गर्न स्वेच्छाले भवानीको उत्पत्तिभएको थियो । त्यसैले चैत्रशुक्ल अष्टमीलाई भवानीको उत्पति भएको दिन भनेर शास्त्रमा बताइएको छ ।

चैत्रशुक्लाष्टम्यां भवान्युत्पतिः अत्र भवानीयात्रोक्ता काशीखण्डे । भवानीं यस्तु पश्येत शुक्लाष्टम्यां मधौ नरः ।। न जातु शोकं लभते सदानन्दमयो भवेत् ।। अत्रैव अशोककलिकाप्राशनमुक्तं हेमाद्रौ लैङ्गे (अशोककलिकाश्चाष्टौ ये पिबन्ति पुनर्वसौ । चैत्रे मासि सिताष्टम्यां न ते शोकमवापनुयुः ।।’

अशोककलिकाप्राशनमन्त्रस्तु, त्वामशोकवराभीष्टं मधुमाससमुदभवम् । पिबामि शोकसन्तप्तो मामशोकं सदा कुरु ।। अत्रैव विशेषः पृथ्वीचन्द्रोदये झझपुनर्वसुबुधोपेता चैत्रे मासि सिताष्टमी । प्रातस्तु विधिवत् स्नात्वा वाजपेयफलं रुरुलभेत् ।। (व्रतराजः)
यस दिन भगवतीको व्रतबसी पूजा आराधना गरेर भगवतीको मूर्तिलाई पाल्की वा रथमा राखेर नगरपरिक्रमा, ग्रामपरिक्रमा गराउनुपर्दछ । भगवतीलाई नगरपरिक्रमा गराएमा र भगवतीको दर्शन स्पर्शन पूजन गर्नाले कहिल्यै पनि पत्नीपुत्रादिको मरणजन्य शोकको पीडा खप्नु पर्दैन, पीडा भोग गर्नुपर्दैन, सदा आनन्दमय जीवन व्यतीत गर्न पाइन्छ । यसदिन अशोकवृक्षका कलिका कोपिला खानुपर्दछ । यस चैत्रशुक्ल अष्टमीका दिन अशोकका आठवटा कलिका खानाले पनि पत्नीपुत्रादिको मृत्युबाट उत्पत्ति हुने शोकबाट आइलाग्ने पीडा कहिल्यै पनि खप्नुपर्दैन । अशोकका कलिका खाने मन्त्र यसप्रकार छ :-
त्वामशोकवराभीष्टं मधुमाससमुद्भवम् ।
पिबामि शोकसन्तप्तो मामशोकं सदा कुरु ।
यदि चैत्रशुक्ल अष्टमीका दिन पुनर्वसु नक्षत्र र बुधबार पनि प¥यो भने ता त्यसदिन प्रातःकालमा विधिपूर्वक स्नान गर्नाले मात्र पनि वाजपेय यज्ञ गरेजस्तो फल प्राप्त हुन्छ । यस दिन भगवतीको दर्शन स्पर्शन र पूजन उपासना गरी उत्सव मनाउनाले ता अझ कति हो कति पुण्य लाभ हुन्छ भनेर पृथ्वी चन्द्रोदयमा उल्लेख गरिएको छ । त्यसकारण हामी पनि चैत्रशुक्ल अष्टमीका दिन भगवतीको व्रत बसी पूजा उपासना गरौं भगवतीको मूर्तिलाई रथयात्रा गराऊँ, ठूलो पुण्यलाभ हुन्छ ।

चैत्रशुक्ल अष्टमीलाई चैते दशैँ मानेर भगवतीको आराधना गर्ने परम्परा पनि हाम्रा समाजमा प्रचलित छ । चैत्रशुक्ल प्रतिपदादेखि नै वासन्तिक नवरात्र भनी सप्तशती चण्डी पाठ गरी भगवतीको पूजा आराधना गर्नाले मनुष्यका समस्त मनोवाञ्छा पूर्ण हुन्छन्, भनेर शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले हामी पनि सप्तशती चण्डीपाठ, हवन तथा दानादि गरी भगवतीको आराधना उपासना गरौं, हाम्रा समस्त मनोकामना पूर्ण हुन्छन् । ॐ दुर्गायै नमः।।

रामनामलाई तारक मन्त्र पनि भनिन्छ । जसको श्रवण, जप र कीर्तन गर्नाले संसारसागरबाट सजिलैसँग पार तर्न सकिन्छ, त्यसैले तारक मन्त्र भनिएको हो । भगवान् शङ्गर भगवान् रामसँग भन्नुहुन्छ, हे प्रभो ! म आफ्नी प्रिया पार्वतीका साथमा हजुरको रामनाम उच्चारण गर्दै मर्न लागेका मानिसको उद्धारका लागि उनीहरूका दाहिने कानमा राम ! राम !! राम !!! यो तारक मन्त्रस्वरूप हजुरको रामनामको उपदेश गर्दछु ।

श्रीरामनवमी पर्व
चैत्रशुक्ल नवमी तिथि रामनवमी भनी प्रसिद्ध छ ।
‘चैत्रे मासि नवम्यां तु शुक्लपक्षे रघूत्तमः ।।
प्रादुरासीत्ततो ब्रहृमन् तत्र ब्रहृमैव केवलम् ।। स्कन्दपुराण ।
चैत्रशुक्ल नवमीमा परब्रहृमस्वरूप रामको प्रादुर्भाव भएको हो । इदं परविद्धायां मध्याहृनव्यापिन्यां कार्यम् । व्रतराज ।
यो व्रत दशमीविद्धा र मध्याहृनव्यापी तिथिमा गर्नुपर्दछ । त्यसदिन प्रातःकालमा नद्यादिमा स्नान( सन्ध्यादि गरी भक्तिपूर्वक व्रत बसेर कलशस्थापना गरी प्रतिमामा रामको आवाहन गरेर यथाशक्ति पद्याघ्र्यादि पूजाका सामग्रीद्वारा विधिपूर्वक पूजा गरेर रामका अगाडि नामसङ्कीर्तन र कथा श्रवणादि गर्दै रात्रिमा जाग्राम गर्नुपर्दछ । भोलिपल्ट दशमीमा पुनः स्नान–सन्ध्यादि गरेर हवनादि गरी व्रतको उद्यापन गर्नुपर्दछ र यथाशक्ति गोदान, भूमिदान, तिलदान र वस्त्रादिदान गरी ब्राहृमणहरूलाई भोजन गराएरमात्र आफूले व्रतको पारणा गर्नुपर्दछ ।

एवं यः कुरुते भक्त्या श्रीरामनवमीव्रतम् ।
अनेकजन्मराशीनि पापानि सुबहुन्यपि ।
भस्मीभवन्त्यशेषेण याति विष्णोः परं पदम् ।। वार्षिकव्रतरत्नावली ।
यसरी रामनवमीको व्रत गर्दा अनेक जन्मदेखि सञ्चित सम्पूर्ण पापराशिहरू भष्म भई मनुष्यहरू विष्णुलोकमा प्राप्त हुन्छन् ।
श्रीमानाद्यः स किल पुरुषो राघवे हृयन्ववाये, प्रादुर्भूतोक्धिमहि चतुरो, मूर्तिभेदान् विधाय । यस्मिन्नन्तर्भवति निखिलो जागतोक्यं प्रपञ्चो यस्याक्मूर्तेरपि सुरहिता मूर्तयः स्वेच्छयैव ।। श्रीरामचरितामृतम् । सर्ग-१ र श्लो.४ आदिपुरुष भगवान् नारायण रघुका कुलमा राम, लक्ष्मण, भरत र शत्रुघ्नरूप चतुर्मूर्ति धारण गरी चतुव्र्यूहका रूपमा अवतार लिनुभएको हो । जुन परमात्मा प्रभुमा सम्पूर्ण जगत् प्रपञ्च अन्तर्भाव छ । मूर्तिरहित भए तापनि देवताहरूको हित गर्न परमेश्वरले स्वेच्छाले मूर्ति धारण गर्नुभएको हो ।

मेघश्यामः प्रथमगुणभूः प्रीतिपात्रं प्रजानां, रामो नाम प्रथमभवद्भूरिभाग्येन भूमेः । कौसल्यायां दशरथनृपश्रेष्ठपत्न्यामजस्य, प्रादुर्भावः सुरमुनिकृतप्रार्थनादेव यस्य ।। श्रीरामचरितामृतम् १/५ मेघजस्तै श्यामवर्ण भएका, सत्वगुणले सम्पन्नभएका, प्रजाका प्यारा श्रीराम रावणको अत्याचारबाट त्रस्त देवता तथा मुनिहरूका प्रार्थनाद्वारा भूभार हरण गर्न दशरथ राजाकी महारानी कौसल्याका गर्भबाट प्रदुर्भाव हुनुभएको हो ।
रमन्ते योगिनो यस्मिन् स रामः।
रमन्ते योगिनो क्नन्ते नित्यानन्दे चिदात्मनि ।
इति रामपदेनासौ परब्रहृमाक् भिधीयते ।। श्रीरामपूर्वतापिनी उपनिषद् ।
जुन परमात्मा अनन्तस्वरुप, सच्चित् आनन्दस्वरूप, परब्रहृम परमेश्वरमा योगीजन रमाउँछन्, मुग्ध हुन्छन्, तिनलाई परब्रहृमस्वरूप राम भनिएको छ । यत्सत्त्वेनाक सदपि निखिलं सद्वदाभाति विश्वम्, नामैवालं स्मृतमपि सकृच्छेत्तुमहांसि यस्य । नानारूपैरवतरति यः पालकः साधुसङ्गम्, तं श्रीरामं हृदयनिलयं चेतसा भावयामः ।। श्रीरामचरितामृतम्, सर्ग १ र १ जसका सत्ताले गर्दा असत्य जगत् पनि सत्य जस्तै प्रतीत हुन्छ, जसको नाम स्मरण गर्नाले मात्रै पनि समस्त पापराशि भष्म हुन्छन्, जो मत्स्य कूर्मादि नाना रूपले पृथिवीमा अवतार लिएर साधुसज्जन र धर्मको संरक्षण गर्नुहुन्छ, समस्त प्राणीका हृदयमा वास गर्ने परमात्मस्वरूप श्रीरामलाई चित्तमा नित्यनिरन्तर ध्यान गरौँ, हाम्रो कल्याण हुन्छ ।
भर्जनं भवबीजानामर्जनं सुखसम्पदाम् ।
तर्जनं यमदूतानां रामरामेति गर्जनम् ।।
आरामः कल्पवृक्षाणां विरामः सकलापदाम् ।
अभिरामस्त्रिलोकानां रामः श्रीमान् स नः प्रभुः ।। आनन्दरामायण ।
राम राम यो शब्दको गर्जनबाट जन्ममृत्युरूप संसारको बीज नाश हुन्छ, सम्पूर्ण सुख ऐश्वर्यको प्राप्ति हुन्छ, साथै यमदूतसमेत त्रस्त भएर भाग्छन्, तीनैलोकमा धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थ मध्ये जसले जेको चाहना गर्दछ, त्यसका लागि कल्पवृक्षस्वरूप भएर, आपत्तिबाट छुट्कारा पाउनका लागि आश्रयस्थल र सबैमा सौन्दर्य प्रदान गर्न सक्ने उच्चस्तरीय व्यक्तित्व ‘राम’ हाम्रा स्वामी हुनुहुन्छ ।
रामरामेति रामेति हृयेतत्तारकमुच्यते ।
अहं भवन्नामागृणन् कृतार्थो वसामि काश्यामनिशं भवान्या । मुमूर्षमाणस्य विमुक्तयेक् हं दिशामि मन्त्रं तव रामनाम ।। अध्यात्मरामायण । रामनामलाई तारक मन्त्र पनि भनिन्छ । जसको श्रवण, जप र कीर्तन गर्नाले संसारसागरबाट सजिलैसँग पार तर्न सकिन्छ, त्यसैले तारक मन्त्र भनिएको हो । भगवान् शङ्गर भगवान् रामसँग भन्नुहुन्छ, हे प्रभो ! म आफ्नी प्रिया पार्वतीका साथमा हजुरको रामनाम उच्चारण गर्दै मर्न लागेका मानिसको उद्धारका लागि उनीहरूका दाहिने कानमा राम ! राम !! राम !!! यो तारक मन्त्रस्वरूप हजुरको रामनामको उपदेश गर्दछु, जसको श्रवणबाट प्राणी संसार सागरबाट मुक्त भएर उत्तम गतिमा प्राप्त हुन्छ ।

कल्याणानां निधानं कलिमलमथनं पावनं पावनानाम्, पाथेयं यन्मुमुक्षोः सपदि परपदप्राप्तये प्रस्थितस्य । विश्रामस्थानमेकं कविवरवचसां जीवनं सज्जनानाम्, बीजं धर्मद्रुमस्य प्रभवतु भवतां भूतये रामनाम ।। हनुमन्नाटक ।
सम्पूर्ण कल्याणहरूको खानीस्वरूप, कलिकालको मयल नाश गर्ने, पवित्र वस्तुलाई पनि पवित्र गर्ने, परमपदमा जानहिँडेका यात्रीकोबाटामा खाने खाजा-सामलस्वरूप, कविहरूका वाणीको एकमात्र विश्रामस्थल, सज्जनहरूको जीवनस्वरूप र धर्मरूपी वृक्षको बीज अर्थात् मूल कारणस्वरूप, यस्तो अलौकिक तत्वजो रामनाम हो, त्यो मानिसहरूको आत्यन्तिक कल्याणका लागि समर्थ हवोस् । यस्ता पवित्र कीर्ति भएका श्रीरामचन्द्रको चरित्र अत्यन्त उत्तम र अनुकरणीय छ ।

अघि त्रेतायुगमा लङ्काका राजा रावणको र उनका पक्षका दुष्टहरूका अत्याचारबाट भारपीडित पृथिवी तथा देवताहरूका अनुरोधबाट भगवान् नारायणले अयोध्याका राजा दशरथका पुत्रका रूपमा महारानी कौसल्याका गर्भबाट श्रीरामको अवतार भयो । रानी कैकेयीबाट भरत र सुमित्रा रानीबाट लक्ष्मण र शत्रुघ्नको जन्म भएको थियो । विश्वामित्र ऋषिको अनुरोधमा यज्ञमा बाधा पार्ने दुष्ट राक्षसहरूलाई मारेर त्यहीँबाट सीताको स्वयंवर हेर्न विश्वामित्रका साथमा जनकपुर जानुभयो । शिव धनुमा जसले ताँदो चढाउँछ, त्यसैलाई सीताजीले स्वयंवर गर्ने शर्त महाराज जनकले राख्नुभएको थियो ।

रावणले ताटका राक्षसीका पुत्र मारीच राक्षसलाई सुनको मृग बनाएर छल गरी सीताहरण गरी लग्यो । राम र लक्ष्मण सीतालाई खोज्न जाँदा बाटामा सीताको उपकार गर्न खोज्दा रावणबाट आक्रमणमा परी मरणासन्न अवस्थामा पुगेका मारिएका जटायु नामक गृध्रराजसँग भेटभई सीतालाई रावणले हरेर लगेको खबर रामलाई सुनाएर प्राणत्याग गरेका जटायुको दाहसंस्कार गर्नुभयो ।

श्रीरामले त्यो शिव धनुलाई उठाएर ताँदो चढाँउन खोज्दा सजिलै भाँचिदिनुभयो । अनि सीताजीसँग विवाह गरेर अयोध्या तिर फर्कने क्रममा परशुरामजीको शेखी तोडिदिनुभयो । त्यसपछि अयोध्यामा आएर राजकाजमा पिताजीलाई सहयोग गरी सम्पूर्ण प्रजलाई खुशी गराउनुभयो । अब भोलि रामको राज्याभिषेक हुनेछ, भन्ने राजा दशरथको घोषणा भयो, तर आजै राति कैकेयीकी दासी मन्थराले उक्साएर कैकेयीबाट रामलाई १४ वर्ष वनवास र भरतलाई राज्याभिषेक दिन राजासँग अनुरोध गरेकी हुँदा राजा दशरथले पहिले नै वचनमा हारेका हुँदा रामलाई वनवासको आज्ञा दिए । रामले पनि आफ्ना हातमा आएको राज्य ऐश्वर्यलाई पिताको आज्ञा भनी अलिकति पनि विचलित नभई सो आज्ञा शिरोपर गरी सीता र लक्ष्मणलाई साथमा लिएर वनवास जानुभयो । राम वनवास गएपछि पुत्रशोकले राजा दशरथको स्वर्गा रोहण भयो ।
त्यसबेला भरत मावलमा थिए । भरत आएपछि राम वनवास गएको कुरा थाहा पाएर रामलाई फिर्ता गर्न भरत वन जानुभयो । तर रामले फर्कन मान्नुभएन । अनि भरतले हजुर नफिर्ने हो भने हजुरका खराउ दिनुहोस्, यिनैलाई गद्दीमा राखी हजुरको राज्य सञ्चालन गरिदिनेछु, भनी खराउ लिएर फिरी नन्दीग्राममा बसेर राजगद्दीमा खराउ राखेर राजकाज चलाए । उता वनमा रावणकी बहिनी शूर्पणखाका नाक कान काटेर खर, त्रिशिर र दूषण आदि १४ हजार राक्षसहरू मारी धेरैको उद्धार गर्नुभयो । रावणले ताटका राक्षसीका पुत्र मारीच राक्षसलाई सुनको मृग बनाएर छल गरी सीताहरण गरी लग्यो ।

राम र लक्ष्मण सीतालाई खोज्न जाँदा बाटामा सीताको उपकार गर्न खोज्दा रावणबाट आक्रमणमा परी मरणासन्न अवस्थामा पुगेका मारिएका जटायु नामक गृध्रराजसँग भेटभई सीतालाई रावणले हरेर लगेको खबर रामलाई सुनाएर प्राणत्याग गरेका जटायुको दाहसंस्कार गर्नुभयो । त्यसपछि सुग्रीव वानर सँग मित्रता गरी बालिनामक वानरराजलाई मारेर सुग्रीवलाई राजा बनाउनुभयो । अनि सुग्रीवसहित, जाम्बवान् र हनुमान् अंगद आदि वानरसेनाका र भाइ लक्ष्मणकासाथ र सहयोगमा समुद्रमा पुल हालेर लङ्का प्रवेश गरी निकुम्भ, कुम्भ, धुम्राक्ष, दुर्मुख, प्रहस्त र कुम्भकर्ण आदि राक्षसलाई मारी रावणसँग घोर युद्ध गरी रावणको वध गर्नुभयो । त्यसपछि रावणका भाइ विभीषणलाई लंकाको राज्य दिएर अयोध्या फर्किनुभयो । त्यस बेलासम्म भरतले रामका खराउलाई राजगद्दीमा राखी आफू नन्दीग्राममा बसेर राज काज चलाइरहेका थिए ।

राम आएपछि रामको वसिष्ठादि मुनिहरूद्वारा राज्याभषेक गरी रामले राज्य सञ्चालन गर्नुभयो । राम त्रेता युगका राजा भए पनि सत्य युगको जस्तो गरी प्रजालाई धेरै-धेरै सुख-सुविधा दिएर पुत्रवत् पालन गरी समस्त मर्यादामा रही ११००० वर्षसम्म राज्य गर्नु भएको हुँदा अहिलेसम्म पनि लोकमा रामराज्य भन्ने प्रसिद्धि नै चलेको छ । पछि एउटा धोबीका मुखबाट अर्काले हरण गरेर लगेकी श्रीमती राख्ने म रामजस्तो होइन भन्ने निन्दा गरेको खबर सुनी लोकापवादबाट बच्न गर्भिणी सीतालाई वनमा पठाउनु भयो । वनमा वाल्मीकि ऋषिका आश्रममा नै राम र सीताका दुई पुत्रहरू लव र कुशको जन्म भयो ।

राम पछि यिनीहरू नै राज्यका उत्तराधिकारी भए । दक्षिण कोसलमा कुश र उत्तरकोसलमा लवलाई राजा बनाई राज्य सञ्चालन गरिएको थियो । यस्ता मर्यादा पुरुषोत्तम परमात्मस्वरूप रामको रामनवमीका दिनमा व्रत बसेर उपासना गरौं र अरूबेला पनि नित्य निरन्तर रामनाम संकीर्तनादि गरी उपासना गरौं, यसलोकमा सुखऐश्वर्य प्राप्त गरी परलोकमा मोक्षसमेत प्राप्त भई कल्याण हुनेछ । ॐ हरये नमः।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?