काठमाडौं । पूर्वविश्वकप च्याम्पियन राष्ट्रहरू श्रीलंका र वेष्टइण्डिजले नेपालसँगै विश्वकप छनोट प्रतियोगिता खेल्ने भएका छन् । विश्वकप सुपर लिगको शीर्ष आठमा रहेर सिधा विश्वकप खेल्ने अवसर दुवै राष्ट्रले गुमाएपछि नेपालसँगै विश्वकप छनोट खेल्ने भएका हुन् । आइसिसी एकदिवसीय विश्वकपमा छनोट प्रतियोगिता जुन महिना जिम्बाबेमा आयोजना हुँदैछ ।
विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाईसम्म आयोजना हुनेछ । सुपर लिगको अन्तिम खेलमा न्युजिल्याण्डसँग ६ विकेटले पराजित भएसँगै श्रीलंकाले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो । श्रीलंकाले दिएको १५८ रनको लक्ष्य घरेलु टोलीले ३२ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो ।
यस्तै, वेष्टइण्डिजले पनि विश्वकप छनोटमा स्थान बनाएपछि नेपालसँगै श्रीलंका, जिम्बाबे, ओमान, स्कटल्याण्ड र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ । वेष्टइण्डिज २४ खेलमा नौमा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौँ स्थानमा रहेपछि छनोट खेल्नुपरेको हो ।
दक्षिण अफ्रिकाको पहिलो खेलमा जितसँगै समान ८८ अंकमा रहे पनि रनरेटका आधारमा पछि रहेर वेष्टइण्डिजको विश्वकपमा सिधा छनोटको सपना अधुरै रहेको हो ।
आगामी साता सम्पन्न हुने ६ देश सम्मिलित प्लेअफ क्वालिफायरमा नामिबिया, जर्सी, क्यानडा, अमेरिका, युएई र पपुवा न्युगिनीबाट शीर्ष दुई टोली विश्वकप छनोटमा पुग्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच