नेपालीहरू जुनसुकै मुलुकमा बसे पनि मुलुकको पहिचान र नेपालीत्व जोगाएका छन् : राष्ट्रपति पौडेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीच एकता कायम गरेर अघि बढेमा राष्ट्रिय भावना प्रगाढ हुने बताउनुभएको छ । इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्राकृतिक र सांस्कृतिक विविधता नै नेपालको विशिष्ट पहिचान भएको धारणा राख्नुभएको हो । उहाँले संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान पनि गर्नुभयो । राष्ट्रपति पौडेलले नेपालीहरू विश्वका कुना–कुनामा पुगेको बताउँदै विदेशमा रहेर पनि नेपालीहरू आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउन्डेसनको प्रशंसा गर्नुभयोे । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामु चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउन्डेसनलाई राष्ट्रपति पौडेलको सुझाव थियो ।

नेपाली नपुगेको दुनियाँमा ठाउँ नरहेको र नेपालीहरू जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयोे, ‘विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु । यस अभियानले संसारमा नेपाल चिनाउन ठूलो योगदान पुर्‍याउने विश्वास पनि लिएको छु ।’

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट जोड्नका लागि संसारबाट प्रतिभाहरू छानेर नेपालमै ल्याई यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । फाउन्डेसनले आफ्रिका बाहेकका विश्वका ६ महादेशका ५२ भन्दा बढी देशबाट मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रममार्फत नेपाली प्रतिभाहरू प्रारम्भिक छनोट गरी काठमाडौं ल्याएको छ । ती प्रतिभाबीच हाल यहाँ गायन र नृत्यका साइटलेस अडिसन जारी छ ।

गायन र नृत्य प्रतियोगितामा छानिएमध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्य प्रतियोगिता पनि रहेको छ । नेपालमा आयोजना गरिएको यस्तो सो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?