मुम्बईको लगातार तेस्रो जित, हैदराबाद पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

हैदराबाद । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इण्डियन्सले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित हात पार्नेक्रममा मंगलबार राति सम्पन्न खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको हो ।

आफ्नो पाँचौं खेलमा मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको घरेलु टोली हैदराबादले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि ओपनर मंयक अग्रवालले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४८ रन बनाए । हेनरिक केल्सनले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाउँदा कप्तान एडेन माकरमले १७ बलमा २२ रन बनाए ।

कोलकत्ताविरुद्धको खेलमा हैदराबादका लागि शतक प्रहार गरेका ब्याटर ह्यारी ब्रुक भुवेनेश्वर कुमारको बलमा ७ बलमा ९ रनमा आउट भए ।

मार्को यानसनले ६ बलमा १३ रन तथा वासिंटन सुन्दर १० रनमा आउट भए ।

त्यसअघि हैदराबादस्थित राजीव गान्धी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनायो ।

मुम्बईका लागि क्यामरोन ग्रिनले ४० बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले ।

ग्रिनले ३३ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । ग्रिनको आईपीएलमा यो पहिलो अर्धशतक हो ।

ओपनर ईशान किशनले ३१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाउँदा तिलक बर्माले १७ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३७ रन बनाए ।

चौथो विकेटका लागि ग्रीन र बर्माले २८ बलमा ५६ रनको साझेदारी गरेका थिए । टिम डेबिडले ११ बलमा १६ रन बनाउँदा सुर्यकुमार यादवले ३ बलमा ७ रन बनाए ।

यो जितपछि ५ खेलबाट ६ अंक जोडेको मुम्बई तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेल खेलेको हैदराबाद नवौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?