बागलुङ । बागलुङ नगरपालिका-९ तित्याङमा पालिकास्तरीय आधारभूत रंगशाला निर्माण योजना अगाडि बढाइएको छ । बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदान विस्तार गरी बांगेचौर खेल मैदानको विकल्पका रूपमा रंगशाला बनाउने योजना स्थानीय र पालिकाको पहलमा अगाडि बढाइएको छ ।
बागलुङ बजारमा साँघुरो जग्गाका कारण एकमात्रै बांगेचौर खेल मैदान रंगशाला बनाउन बजेट विनियोजन हुँदासमेत रंगशाला निर्माणको काम अगाडि बढ्न नसकेपछि आलेखर्क खेल मैदानलाई विकल्पको रंगशालाका रूपमा लिन थालिएको छ । बागलुङ नगरपालिकाले एक पालिका एक रंगशालाअन्तर्गत त्यसलाई प्राथमिकतामा राखेको छ ।
राष्ट्रियस्तरका खेल प्रतियोगितामा एउटै खेल मैदानमा प्रतियोगिता गर्न नसकिने भएकाले बांगेचौर खेल मैदानको विकल्पका रूपमा आलेखर्क खेल मैदानलाई रंगशालाका रूपमा निर्माण गर्न हालैमात्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइएको छ । झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदान बहुउद्देश्यीय रंगशाला निर्माण गर्न थप जग्गा विस्तार गर्न सकिने भएकाले जिल्लाकै ठूलो रंगशाला बनाउन सक्ने विकल्प देखिएको आलेखर्क खेल मैदानलाई स्तरोन्नति गर्ने तयारी गरेको तित्याङ रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर थापाले जानकारी दिनुभयो ।
‘बागलुङ बजारमा एउटा खेल मैदान छ, त्यो विस्तार गर्न मिल्दैन तर आलेखर्क खेल मैदान विस्तारमा समस्या छैन, बहुउद्देश्यीय रंगशाला बनाउन पर्याप्त जग्गा छ, नपुगे सामुदायिक वन र सार्जजनिक जग्गा विस्तार गर्न सकिन्छ,’ थापाले भन्नुभयो, ‘स्थानीयकै १० लाख रुपैयाँमा डिपिआर बनाएर नगरपालिकामा पेश गरेका छौँ, जसमा पाँच करोड ८८ लाख रुपैयाँमा आधारभूत रंगशाला बन्ने उल्लेख छ, पालिकाले प्रदेश र केन्द्रमा बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ ।’
खेल मैदान विस्तारमा हालसम्म ६२ लाख रुपैयाँ खर्च भइसकेको छ । रंगशाला निर्माण गर्न स्थानीयस्तरबाट सहयोग जुटेको थापाले बताउनुभयो । जग्गा व्यवस्थापन तथा खेल मैदान विस्तार गर्न हालसम्म बागलुङ नगरपालिकाले १४ लाख र गण्डकी प्रदेश सरकारको २५ लाख बजेट कार्यान्वयन भइसकेको र स्थानीयस्तरबाट २३ लाख रुपैयाँ संकलन गरेर खेल मैदान विस्तार गरिएको हो ।
दश वर्षअघि सानो भलिबल मैदानलाई स्थानीयको पहलमा विस्तार गरेर फुटबल मैदान गराइएको बागलुङ नगरपालिका-९ का वडाध्यक्ष राजु थापाले जानकारी गराउनुभयो । ‘स्थानीयको सहयोगमा खेल मैदान विस्तार भएको थियो, पछि बागलुङ नगरपालिका र गण्डकी प्रदेश सरकारको बजेटमा झनै ठूलो बनाइयो,’ थापाले भन्नुभयो, ‘डिपिआर नहुँदा बजेट नआउने भयो, पछि एक पालिका एक खेल मैदानअन्तर्गत आलेखर्क खेल मैदान सर्वसम्मतिमा नगर कार्यपालिकाबाट सिफारिस गरिएको हो, बागलुङ बजार नजिकै रहेकाले खेल गतिविधि गर्न सहज छ, बागलुङको ठूलो खेल मैदान बांगेचौरमा ठूला खेल प्रतियोगिता आयोजना हुँदा केही खेल यहाँ ल्याएर खेलाउन सकिन्छ भन्नेमा छौँ ।’ बांगेचौर खेल मैदानले सिंगो जिल्लालाई थेग्न सक्ने अवस्था छैन । त्यसैले विकल्पका लागि आलेखर्क खेल मैदानलाई एक पालिका एक खेल मैदान कार्यक्रमअन्तर्गत अगाडि बढाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच