मुलुक संकटउन्मुख हुँदै गएको एमालेको ठहर

प्रमुख दलबीच न्यूनतम समझदारी गर्न प्रस्ताव

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । प्रमख प्रतिपक्षी नेकपा (एमाले)ले मुलुक संकटतर्फ उन्मुख हुँदै गएको ठहर गरेको छ । शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले विशेष प्रस्ताव पारित गर्दै मुलुक संकटतर्फ उन्मुख हुँदै गएको निष्कर्ष निकालेको हो । देश राजनीतिक, आर्थिक, सामाजिक संकटतर्फ उन्मुख भएको भन्दै एमालेले प्रमुख दलबीच न्यूनतम समझदारीको अपिल गरेको छ । बैठकले १६ बुँदे अन्य प्रस्ताव पारित पनि गरेको छ । जसमा शरणार्थी प्रकरणको निष्पक्ष छानविन, माओवादी शिविरमा भएको घोटालाको अनुसन्धानसहितको माग गरिएको छ ।

‘मुलुक राजनीतिक, आर्थिक र सामाजिक रूपमा संकटतर्फ उन्मुख हुँदै गएको छ । भ्रष्टाचार संक्रामक रोग जसरी फैलिँदैछ । राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको छ,’ एमाले केन्द्रीय समितिले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ, ‘अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोज्दै छन् । यस्तो अवस्थामा राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न र सामाजिक क्षेत्रमा हुर्किँदै गएको अराजकतालाई नियन्त्रण गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच न्यूनतम समझदारी बन्नु आवश्यक छ ।’ पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्रविरोधी नीति र कदमहरूको प्रभावले मुलुकको अर्थतन्त्र समस्यामा परेको एमालेको ठहर छ ।

लगातार तीन बैठकमा अनुपस्थित भए कमिटीबाट हटाउने
एमालेले पार्टीको बैठकमा जानकारी पाएर पनि तीन पटकसम्म अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकले सूचना पाएर पनि पार्टीको बैठकमा लगातार तीनपटक अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निर्णय गरिएको हो । बैठकमा आउने तर काम नगर्नेलाई निश्चित समयसम्म काममा लाग्न प्रेरित गर्ने, सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । भद्दा भएको कमिटीमा पदाधिकारीबाहेक कुनै सदस्य रिक्त रहे त्यहाँ कुनै पनि सदस्य नथप्ने एमालेको निर्णय छ ।

पार्टी सदस्यमा शुद्धीकरण र विस्तार कार्य गर्ने, सदस्य नवीकरणको काम गर्ने पार्टी सदस्य सुदृढीकरण र विस्तारको काम गर्ने, कारणवश नवीकरण छुटेकाहरूको असार १५ सम्म जिल्लाले नवीकरण गरेर प्रदेश कमिटीमा पठाउने स्थायी कमिटीको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । यस्तै, एमाले बैठकले प्रदेशदेखि टोलसम्म क्रमशः अधिवेशन गर्ने निर्णय गरेको छ । एमालेले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । युवाहरूबीच पार्टीको कामलाई प्रभावकारी बनाउन आफ्नै घर घरबाट अभियान चलाउनुपर्ने अवस्था आएकोले एमालेले ‘देशैभरी छोराछोरी’ अभियान सञ्चालन गर्ने निर्णय हो । एमाले नेता विष्णु रिजालका अनुसार बाउआमा राजनीतिमा रहे पनि छोराछोरी राजनीतिमा नआउने प्रवृत्ति रहेकाले त्यसका लागि यो अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

शरणार्थीसँगै माओवादी शिविरमा भएको घोटाला प्रकरण अनुसन्धान गर्न माग
एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा गरेको ठहर गरेको छ । केन्द्रीय कमिटी बैठकले शरनार्थी प्रकरणका कुनै राजनीतिक पूर्वाग्रह र दवावबिना निष्पक्ष छानविन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न माग गरेको छ । राज्यका वैधानिक निकायबाट गरिने निष्पक्ष अनुसन्धानमा आफ्नो पार्टीको पूर्ण सहयोग रहने एमालेले स्पष्ट पारेको छ । एमालेले शरणार्थी प्रकरणसँगै माओवादी शिविरमा भएको घोटालाको पनि अनुसन्धानको माग गरिएको छ ।

ओलीको अड्डी - संघीयतामाथि पुनर्विचार हुँदैन
एमालेले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ । शनिबार केन्द्रीय कमिटी बेठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसक्ने प्रष्ट्याउनुभयो । बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रूपमा खारेज गर्ने ओलीले बताउनुभएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिनुभएको थियो । उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरूलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको प्रष्ट्याउनुभएको थियो । ‘एमालेका केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो भनेर हल्ला चलाइयो । यिनलाई अध्यक्षले सम्पूर्ण रूपमा खारेज गर्नुभएको छ,’ रिजालले भन्नुभयो, ‘संघीयता अहिले हाम्रो छलफलको विषय पनि छैन र यसबारे पार्टीका कुनै छलफल पनि भएको छैन । अध्यक्ष कमरेडले यसको आलोचना गर्नुभएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?