सांसदका प्रश्नको सामना गर्दै प्रधानमन्त्री

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । आज (बिहीबार) प्रतिनिधिसभा बैठक बस्दै छ । आज बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हुने प्रश्नोत्तर कार्यक्रम गर्ने तय गरेको थियो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले नियमावलीमा व्यवस्था भएबमोजिम प्रश्नोत्तर कार्यक्रम तय गरिएको बताउनुभयो । ‘नियमावलीमा व्यवस्था भएबमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकूल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यस सन्दर्भमा बिहीबार (जेठ ४ गते) प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागी हुने तयारी हुँदै छ । त्यो हुँदा संसद्भित्र रहेका दलहरूको स्ट्रेन्थको आधारमा प्रश्नहरू प्रधानमन्त्रीलाई सोध्ने गरी समझदारी बनेको छ ।’

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा समेत प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद-९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमसम्बन्धी व्यवस्था छ ।

प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एकदिनको बैठकको पहिलो एकघण्टा निर्धारण गर्ने व्यवस्था नियमावलीमा छ । प्रधानमन्त्रीलाई अस्पष्ट, धेरै लामो, तथ्यहीन, निरर्थक वा महत्वहीन प्रश्न सोध्न नपाइने व्यवस्था नियमावलीमा छ । त्यस्तै, मिथ्या अभिव्यक्ति, कोरा तर्क, आधारहीन अनुमान, आरोप, आक्षेप, व्यंग्योक्ति वा आपत्तिजनक शब्द प्रश्नमा समावेश गर्न पाइँदैन । कुनै समितिसमक्ष विचाराधीन रहेको विषय वा समितिले सभासमक्ष पेस गरिसकेको प्रतिवेदनको विषयमा पनि प्रश्न गर्न पाइँदैन ।

त्यस्तै, संविधान वा कुनै प्रचलित कानुनबाट प्रकाशन निषेध गरिएको विषय, स्वभावतः गोप्य रहने कुरा वा प्रकाशन गर्दा राष्ट्रिय हितविपरीत हुन जाने मन्त्रिपरिषद्को कुनै निर्णय वा कारबाही, सदन वा कुनै समितिको वा सदन वा समितिको निर्णयको आलोचना गरिएको विषयमा पनि प्रश्न गर्न नपाइने व्यवस्था छ । कुनै पनि सांसदको प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय सभामुखले गर्नुहुनेछ ।

यस कार्यक्रममा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् । एउटा सदस्यले सोधेको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम सभामुखले बोलाउनु हुनेछ । सांसदले आफ्नो ठाउँमा उभिएर प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न तीन दिनअगावै सभामुख कहाँ पुग्नुपर्ने छ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि स्पष्टीकरण आवश्यक भएमा प्रश्नकर्ता सांसदले पूरक प्रश्न पनि सोध्न पाउनेछन् ।

नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने
सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार सभामुख देवराज घिमिरेसँग भेटेर शुक्रबार नीति तथा कार्यक्रम ल्याउने जानकारी दिइसक्नु भएको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुहुने भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति उपस्थित भएर उहाँले नै नीति तथा कार्यक्रम वाचन गर्ने संसद् सचिवालयले जनाएको छ ।

बुधबार राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा पठाइएको पत्रमा राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ । राष्ट्रपति पौडेलको स्वास्थ्य समस्याका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्रीले बाचन गर्ने तयारी थियो । तर, एमालेले भने राष्ट्रपतिले नसक्ने भए उपराष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्नुपर्ने अडान राखेको थियो । प्रतिनिधिसभा तथा राष्ट्रियसभा नियमावलीअनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ । जेठ १५ अगावै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?