जब दुई गाउँ जोड्ने झोलुङ्गे पुल बन्यो…

फाइल तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । पश्चिम बागलुङको व्यापारीक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो भिडियो खिच्ने र रमाउने संख्या ठूलो देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरि निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक दुई यस बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । स्थानीयले घाँस दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीय पनि हर्षित बनेका छन् ।

बुर्तिबाङ-बोङ्गादोभान सडक खण्डको माथि पट्टी निर्माण भएको पुलले यात्रुलाई समेत आकर्षित गर्ने गरेको छ । गत वर्षसम्म वारपार गर्दा सास्ती भोग्दै आएका स्थानीयलाई यो पुल वरदान साबित भएको छ । वारी गाउँ र पारी खेतीयोग्य जमिन हुँदा स्थानीय वारपामा निकै समस्या थियो । गत पौष महिना निर्माण सुरु भएको पुल दुई महिनामै सम्पन्न भई चैत महिनादेखि संचालनमा आएको हो । पुल २४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका-३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमर लगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।

आफ्नो बारीहरु खोलापारी र घर वारी पट्टि हुँदा काम गर्न जाँदा पनि धेरै समय लगाउनु पर्ने बाध्यता पुल निर्माण भएपछि टरेको स्थानीय तिल कुमारी कुँवरले बताउनुभयो । हिउँदको समय जसोतसो खोला वारपार गरेर काम गरे पनि बर्खामा निकै समस्या भोग्दै आएको यस वर्षदेखि सहज हुने सुनाउनुभयो । पुलले गाउँलेको दैनिकीनै फेरिएको उहाँको भनाइ छ ।

“बर्खामा खोला उर्लिएर आउँछ, पारी बारीमा पुग्न धेरै समस्या थियो, वारी गाउँदेखि पारी गाउँ पुग्न बुर्तिबाङ बजारदेखि चुरेलाबास हुँदै बारीमा पुग्नु पर्थ्याे, घर र बारी नजिकै भए पनि बीचमा खोला हुँदा धेरै अवरोध भएको थियो, भनेको बेलामा बारीमा पुग्न सकिदैनथ्यो” उहाँले भन्नुभयो- “यहाँ पुल बनेपछि त हामीहरु धेरै खुसी भएका छौँ, हाम्रो आधा समस्या समाधान भएको छ, अब त बारीमा तरकारी फलाएर उत्तिखेरै टिपेर ल्याउन सकिन्छ, पहिले त बारीबाट तरकारी लिएर आउन झण्डै दुई घण्टा लाग्ने गर्थ्याे ।”

स्थानीय कुलबहादुर नेपालीले अब खोला तर्दा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो । पहिले खोला वारपार गर्दा यस क्षेत्रका धेरै जनाले ज्यान गुमाएको स्मरण गर्नु भयो । बुर्तिबाङ बजार नजिकै भए पनि यहाँ लामो समयसम्म पुल नबन्दा आफूहरुले खेतीपाती गरेर जीवन निर्वाह गर्नसमेत गाह्रो भएको सुनाउनु भयो ।

नेपालीले भन्नुभयो - “पुल निकै छिटो बन्यो, हिउँदमा बाँसको फड्के बनाएर खोला तर्ने गथ्र्यौँ, त्यही फड्केबाट लडेर कतिले ज्यान गुमाए, फड्के नहुँदा भारीसँगै खोला तर्‍यौँ, नेताहरुलाई धेरै पटक यहाँ पुल बनाउनका लागि आग्रह गरेका थियौँ सुनेनन्, बल्ल पुसमा बजेट परेछ र अहिले पुल बन्यो, अब वारीपारी गर्न खोला तर्नु पर्ने छैन, पुल निकै लामो छ, त्यही भएर होला अहिले पुलमा धेरै मान्छे आउँछन् ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?