बेलायतमा हुने ‘गोर्खा वारियर’को प्रिमियर शोमा मेयर साम्पाङ सहभागी हुने

Read Time = 3 mins

धरान । चलचित्र ‘गोर्खा वारियर’ को बेलायतमा हुने प्रिमियर शोमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सहभागी हुनुहुने भएको छ । बेलायतको लण्डनस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिने वल्र्डमा हुने प्रिमियर शोमा मेयर साम्पाङले सहभागिता जनाउनुहुने भएको हो । आगामी सेप्टेम्बर १० अर्थात् भदौ २४ गते आइतबार आयोजना हुने उक्त प्रिमियर शोमा मेयर साम्पाङले सहभागिता जनाउने निश्चित भएको चलचित्रका निर्देशम मिलन चाम्सले जानकरी गराउनुभयो ।

निर्देशक चाम्सले धरान आएर बुधबार मेयर साम्पाङलाई प्रिमियर शोको निम्तो दिनुभएको हो । मेयर साम्पाङले आफूलाई धरानका विभिन्न परियोजनामा बेलायतवासी नेपालीहरूले धेरै नै सहयोग गरेको कुरा उक्त भेटमा निर्देशक चाम्सलाई बताउनुभएको थियो ।

निर्देशक चाम्सका अनुसार यो प्रिमियर शोमा हलिउडका विभिन्न सेलिब्रेटी, हलिउडकै चलचित्र डिस्ट्रिब्युटरसँगै बेलायतका राजपरिवारका सदस्य, सांसदहरू, स्थानीय निकायका प्रमुखहरू, बेलायती सैनिकका जनरल, ब्रिटिश गोर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरू, बेलायतमा रहेको नेपाली राजदूतावास, काउन्सिलका पदाधिकारी, विभिन्न सरकारी र गैरसरकारी संघसंस्था एवं निकायका उच्च ओहदाका व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको छ ।

नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिलाई पनि उक्त प्रिमियर शोमा निमन्त्रणा गरिने कार्यको थालनी भएको पनि निर्देशक चाम्सले जानकारी गराउनुभयो ।

लण्डन सिने आई प्रोडक्सनको प्रस्तुति तथा चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई हुनुहुन्छ । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहनुभएको छ ।
‘वार जनरा’मा निर्माण भएको यो चलचित्रबाट अभिनेता रितेश चाम्सले डेब्यु गर्दै हुनुहुन्छ । रितेशसँगै ‘गोर्खा वारियर’मा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?