पृथ्वीको पल्लो उत्तरी भूगोल हो बझाङ जिल्ला राजधानीबाट हेर्दा । सुख सुविधाको भूमि राजधानी काठमाडौं, प्राकृतिक सुविधा र वैभवको स्वर्गतुल्य भूमि बझाङ । केही मिल्दा र धेरै नमिलेका सन्दर्भहरू छन् यी दुवै ध्रुवीय भूमिका बीचमा । संस्कृतिले पैतालीस वर्षअघि राजधानीसँग आफ्नो परिचय दिलायो । राजधानीका खुलामञ्चलगायतका ठाउँमा देउडा खेलेर बझाङलगायत सुदूरपश्चिमका जिल्लाको सांस्कृतिक सम्बन्ध काठमाडौं र यहाँबाट प्रकाशित छापाका माध्यमले राष्ट्रभरि फैलायो ।
त्यसभन्दा अघि नेपाल दरवारसँग बझांगी राजाहरूको साइनो जोडिएको थियो । मानवातावादी राजा र गोरखापत्र संस्थाका संस्थापक जयपृथ्वीबहादुर सिंहको सम्बन्ध राणा प्रधानमन्त्री चन्द्रशमशेरसँग थियो । जयपृथ्वीबहादुर सिंह चन्द्रशमशेरका ज्वाइँ थिए । पञ्चायतकालमा पनि तत्कालीन राजा महेन्द्रकी छोरी शान्ति शाहको बिहे बझांगी राजा कुमार दीपकबहादुर सिंहसँग भएबाट बझाङको राजनीतिले सिधा दरबारसँग घुलमिल हुने मौका पाएको थियो । शान्ति सिंहको निधन २०५८ सालको दराबर हत्याकाण्डसँगै हुन गयो । जुन दुःखद् घटना थियो ।
कुनै बेला राँझा विमानस्थल नेपालगञ्जबाट ट्युनएटर विमानले प्रत्येक हप्ता बझाङका लागि उडान गथ्र्याे । धनगढी र कञ्चनपुरबाट पनि चिलगाडीमा बझाङका हेवल विमानस्थलमा जान पाउँदा यात्रुहरू दंग पर्थे । विसं २०४८ सालको मन्त्रिपरिषद्बाट बजेट विनियोजन गरेपछि बैतडीको खोड्पेबाट बझाङ सदरमुकाम चैनपुरसम्म सडकको अवधारणा आयो । सो सडकको नाम जयपृथ्वी राजमार्ग रहेको छ । तिब्बतको मानसरोवरसम्म पुर्याउने लक्ष्य राखेका छन्, प्रत्येक निर्वाचित सरकारले । नेपालका साथै भारतका पर्यटक एवं तीर्थालुहरूका लागि सुलभ राजमार्ग बन्नेछ सो राजमार्ग निर्माण भएपछि । अहिले बझाङको किर्किट्यासम्म पुगेको छ सो सडक । अग्ला-अग्ला चट्टान र धुराहरू मेसिनले फोड्न पनि मुस्किल छ भन्छन् ठेकेदारहरू ।
कुनै बेलाको अन्धकार डडेल्धुरा बहुदलीय व्यवस्थाको आगमनपछि बत्तीले झिलिमिली देखिन्छ । २०४८ सालमा गृहमन्त्री पद सम्हालेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेषगरी डडेल्धुरालाई विकासमा ध्यान दिए । देउवाले कर्णालीपारिका २२ वटा पुलको र पहाडी जिल्ला सरदमुकामहरूमा सडक पुर्याउने लक्ष्य लिए ।
छ महिना हिउँ जम्मा हुनाले सेतीनदीमा पक्की पुल निर्माण गरेर हिमनदी सेतीलाई बायाँ पारी साइपाल गाउँ पालिकाका बस्तीहरू छलौन, काडा, धुली सैनगाउँको बीच भाग भएर सो सडक सीमा क्षेत्र पुर्याए सजिलो हुन्थ्यो । तर प्राविधिकले त्यसो गरेनन् भनी गुनासो पनि पोख्ने गर्छन् गाउँबासीहरू । बस्ती नभएको अनकण्टार भीरको बाटोमा रेखांकन गरेकाले केही वर्ष समय लाग्ने देखिन्छ सो राजमार्ग तिब्बत पुग्न । नेपाल वायुसेवा निगमको उपस्थिति ६ नं. प्रदेशमा शून्य छ । यात्रुहरू प्रशस्तै छन् धनगढी विमानस्थलमा तर साधन छैन । समिट एयरले हप्ताको दुईपटक सेवा त गर्छ तर निजी कम्पनी सेवा आफू अनुकूल गर्ने हुँदा गाडीमा सवार हुन यात्रुहरू बाध्य छन् ।
धनगढी कैलालीको गर्मीमा उकुसमुकुस यात्रुहरू ‘बझाङ झान्या’ गाडीमा सवार हुँदै गोदावरीको उकालो लाग्छन् । कैलालीको गोदवारीदेखि बझाङको सदरमुकाम चैनपुरसम्म २६९ किलोमिटर पर्दछ । यसैगरी बैतडीको खोड्पेदेखि चैनप’शरसक्क्को दुरी १०८ किलोमिटर छ । खानीडाँडा, भासुको भीर, गैरा, भातकाँडा, साउँ खर्क, स्याउल्या हुँदै राति १० बजे डडेल्धुरा सदरमुकाम पुग्छ हामी सवार गाडी । कुनै बेलाको अन्धकार डडेल्धुरा बहुदलीय व्यवस्थाको आगमनपछि बत्तीले झिलिमिली देखिन्छ । २०४८ सालमा गृहमन्त्री पद सम्हालेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विशेषगरी डडेल्धुरालाई विकासमा ध्यान दिए । हालसम्म पाँचपटक प्रधानमन्त्री पद सम्हालिसकेका देउवाले कर्णालीपारिका २२ वटा पुलको र पहाडी जिल्ला सरदमुकाममा सडक पुर्याउने लक्ष्य लिए ।
परिणाम प्रत्येक जिल्ला सदरमुकाममा सडक पुगेका छन् । धेरै युवाहरूले रोजगार पाएका छन् । अझै डडेल्धुरा र डोटी जिल्लालाई विकासको प्रथम चरणमै राखेकाले यी जिल्लाको प्रगति अझ बढी देखिन्छ । डडेल्धुराका प्रत्येक बस्तीमा सडक, बिजुली पिउनेपानी आदिको समुचित विकास गरेबाट त्यहाँका जनताले सात पटकसम्म देउवालाई विजयी गराएको मान्न सकिन्छ । काठमाडौंका बानेश्वर, अनामनगर, चावहिल जस्तै डडेल्धुरा सदरमुकाम र वरिपरिको जमिनको भाउ चुलिएको देखिन्छ ।
फलफूल खेती र नगदेवालीका लागि उत्तम मानिएको डडेल्धुराको जुनार, मौसम, कागती, सुन्तलालगायत फलफूल र सागपात धनगढी महेन्द्रनगरको बजारमा मात्र होइन भारत भूमिमा पनि सस्तो मूल्यमा बिक्री हुन्छ भन्छन् स्थानीय व्यापारी । विसं २०४७ सालमा देउडागीत संकलन गर्ने क्रममा डडेल्धुराका केही गाउँमा बस्दा एक रुपैयाँको कागती १२ दानासम्म पंक्तिकारले खरिद गरेको याद आउँछ ।
धेरैपटक बझांगी दाजुभाइसँग यात्रा गरेको छु मैले । लुगा मैला, अनुहार काला भए पनि जिल्लावासी सबै दाजुभाइहरूको चोखो माया र इमानदारी कम छैन । गाडीको स्तर सुध्रिएको छ । पहिले पहिले यात्रुबाहेक गाडीमा, सिमेन्ट छड र खाद्यान्न सामग्री बोक्ने चलन थियो । जोखिमपूर्ण सडकमा क्षमताभन्दा बढी वजनको गाडीमा सवार हुँदा निकै डर लाग्ने गथ्र्याे । अहिले सो चलनको अन्त्य भएको छ । ट्राफिकले यात्रुवाहक गाडीको निगरानी गर्ने गरेका छन् । तैपनि गाडी दुर्घटना हुने क्रम रोकिएको छैन । गाडीमा सुदूरपश्चिमका सबैथरी गायक गायिकाका गीतहरू बजाउने गर्छन् गाडी चालकले ।
जब गीत गुञ्जिन्छन्, म निकै भावुक हुने गर्छु र देउडागीत संकलन गर्न प्रत्येक जिल्लाका बस्तीबस्तीमा पुगेको याद गर्छु । आँखाबाट आँसु झर्छ ती कठिन दिनमा देउडा गीत राजधानीमा पुर्याएर रेकर्ड गर्दाका अतीतका याद सम्झदा । रेडियोमा म्युजिक नेपालमा आफैंले लगानी गरेर गाएका मौलिक भाकाका २२ वटा गीति क्यासेट उत्पादन गरेको याद आउँछ । ती गीति क्यासेट बोरामा राखी हालका ६ नं.७ नं. प्रदेशका बजारहरूमा आफैंले बिक्रीवितरण गरेको हजारौं श्रोताबाट भुल्नै नसकिने अमर माया पाएको झझल्को गाडीभरी आइरहन्छ । विसं २०४३ देखि २०६० सालसम्म सांस्कृतिक क्रान्ति नै ल्याएँ, एकलव्य भएर ।
नयाँ कलाकारले ती गीतहरू नक्कल गरी गाएको पनि प्रशस्तै भेटियो, सुनियो । प्रतिलिपि अधिकार त छ तर नवगायक गायिकाहरू मेरा मुटुका भाइबाहिनीहरू हुन् माया लाग्छ ती चेहराहरूको, अनि माया लाग्छ देउडा गीत र संस्कृतिको । यस्तो बिर्सनै नसकिने सद्भाव सुदूरपश्चिमको भूमिमा सायद अरूले कमै पाउलान् । देउडा गीतसंगीत राष्ट्रव्यापी रूपमा फैलाउन र लोकतन्त्रको रक्षा गर्न पंक्तिकारको लहलहाउँदो जिन्दगी व्यतीत भएको सन्दर्भ यहाँ जोड्न चाहन्छु ।
यात्रुले खचाखच भरिएको गाडी बैतडीको अनारखोली पुग्छ राति ११ बजे । हिउँदमा पाँच फिटसम्म हिउजम्ने ठाउँ हो अनारखोली । द्वन्द्वका बेला नेकपा माओवादीले शहीदको नाममा अग्लो र ठूलो स्वागतद्वार पनि निर्माण गरेका छन् । यस्ता स्वागतद्वाराहरू सुदूरपश्चिमका धेरै पहाडी जिल्लाहरूमा निर्माण गरेका छन् उनीहरूले । खोड्पे बजार चितवन जस्तै कहिल्यै निदाउँदैन । रातभर जागिरहन्छन् खाना खुवाउने होटेलहरू । अत्यन्त चिसो ठाउँ भएकाले गर्मीमा पनि बाक्लो लुगा लगाउनुपर्छ यहाँ । पश्चिमतिर बैतडी र दार्चुला जिल्लाका लागि गाडीहरू हुइँकिन्छन् भने पूर्वतिर जयपृथ्वी राजमार्ग या बझाङ लाग्नुपर्छ । सबै सडक मापदण्डविपरीत छन् ।
बेवारिसे सडकहरूमा नियमनकारी निकाय नहुँदा गाडीहरू पास हुन कुनै-कुनै ठाउँमा रामनाम जप्नुपर्छ । रातिको १ः०० बजे घनाजंगलका बीचमा रहेको सानो बजार बजपानीमा गाडी रोकेर निदाउने गर्छन् गाडी चालक । यात्रुहरू पानी नमिसाएको भैंसीको शुद्ध दूधमा निर्मित चाहा (चिया) पिउन झुम्मिन्छन् । यस्तो अनकन्टार ठाउँमा एक कप चाहाको १० रुपैयाँमात्र तिरे पुग्छ । सुत्नका लागि सबैथरी यात्रु गुट्मुटिने गर्छन् कम्मलमा २० रुपैयाँ तिरेर । निद्रामा लट्पटिएका यात्रुहरू भुसुक्कै हुन्छन् । चिसो अत्यधिक हुनाले बाँझ, बुराउसका मुढा बाल्ने गर्छन् बैतडी जिल्लाका यी साहुहरू ।
यात्रा जोखिमपूर्ण भए पनि प्रकृतिको मनमोहक दृश्यले यात्रुलाई लठ्ठै पार्छ । ढोल्याको मोड र श्री भावरबाट देखिने अपी र साइपाल हिमाल निजकै हाँसेको जस्तै लाग्दछ । वसन्तमा लालीगुँरास बनैभरि ढकमक्कै फुलेका देखिन्छन् । झण्डै ११ हजार फिटको उचाइ नाघेर गाडी बझाङको देउरा पुग्छ । नागबेली आकारको सडक कतै गाउँको बीच भागमा र कतै जंगलैजंगलको हरियाली छिचोल्दै गाडी सुनकुडा, देउरा पुग्छ । सुनकुडादेखि बागथलासम्मको सडक निकै घुमाउरो छ, बनेपा बर्दिवास सडकअन्तर्गत सुनकोशी नदीको किनारा छोएर जाने सिन्धुली जिल्लाको घुमाउरो सडक जस्तै । सेती नदी र कालंगा गाडको दोभानमा रहेको देउराको इतिहास रमाइलो र चाखलाग्दो छ ।
सुदूरपश्चिम केवल जल, जमिन र जंगलको भूमिमात्र होइन । अथाह आर्थिक, धार्मिक र संस्कृतिक सम्भावना बोकेको सुन्दर भूमि पनि हो । ऋतु अनुसारका फलफूलहरू उब्जनी गर्ने प्रकृतिको सुन्दर बगैँचा मानिएको यो भूमिमा सबै कुराहरू छन् ।
सेती नदी दायाँ पारेर हुइँकिन्छ अगाडि हाम्रो गाडी । कुनै बेला ‘तमैल’ मा रोकिने गाडी १२ वर्षदेखि सदरमुकाम चैनपुरसम्म सेवा दिइरहेको छ । कुनै बेला गाडी देखेर हातमा धूपबत्ती र माला लिएर स्वागत गर्ने महिला पुरुषहरू अहिले यात्रा गर्नका लागि गाडी रोक्ने संकेत दिन्छन् । गाडीको हर्नका पनि वास्ता नगर्ने गाईवस्तु अहिले शहरका वस्तुझैँ सडकमै सुतिरहन्छन् । दैनिक धनगढी, महेन्द्रनगर र काठमाडौंका लागि १ दर्जन जति आधुनिक गाडीहरू यात्रु बोकेर गुड्ने गर्दछन् ।
तलकोट सदरमुकाम चैनपुरबाट उत्तर-पूर्वमा पर्ने रमणीय भूखण्ड हो । त्यहीँबाटै साइपाल हिमाल चढ्न र मानसरोवर यात्राका लागि जानुपर्छ । बीचमा सेती नदी छ, वर्षामा यातायात बन्द हुने तर मंसिरदेखि असारसम्म काठेपुल निर्माण गरी सवारीसाधन ओहोरदोहोर गर्छन् । यात्रुहरू सेती नदीको पानी पिउँदै, काफल, ऐँसेलु, चुत्रो पाकेको दृश्य हेर्दै नदीको छेउछाउका प्राकृतिक बारीबाट निउरो टिप्दै तलकोट पुग्छन् । अत्यन्तै रमणीय तलकोट दराको पूर्वमा बाजुरा जिल्लाको सीमा छुट्याउने घोडीलेकको दृश्य, उत्तरतिर साइपाल हिमालको चमक र वरिपरि खेतीयोग्य मैदानी भूभागको दृश्य देखेर लट्टिन्छन् यात्रुहरू । ऐतिहासिक राजाहरूको कोट, खौला-बजार र शिक्षाको मन्दिर दुर्गा भवानीले नवआगन्तुकलाई स्वागत गर्नेगर्छ ।
वेदकाली गाउँ, किदन्न, बडीगाउँ, पँडाल्न, गैतोला, मेलबिसौनालगायत गाउँबस्तीमा ससाना गाडीले सेवा दिएकाले तलकोटी बासिन्दा खुशी देखिन्छन् । बझाँगी सन्ततीका लागि भोलिको जिन्दगी उज्ज्वल छ । सफा हावापानीले निरोगी देखिने गाउँका प्रायः सबै नागरिकको एउटा माग छ-स्थिर राजनीति, दोस्रो माग छ हवाई यातायात सुचारु हुनुपर्ने । तेस्रो माग रहेको देखिन्छ सडकको स्तर उन्नति । यी लगायत बझाङमा उत्पादन हुने आलु, प्याज, भोगटे आदि तरकारीलगायत फलफूलको समुचित बजार व्यवस्थापन ।
विसं २०७८ साल असोज ३१ गते र कात्तिक १ गते आएको बाढीले मृत्यु वरणमा परेका जिल्लाका २७ जनाको नाममा दिने भनिएको राहत पाएका छैनन् । थलाएको डिक्ला, छान्ना छेत्र, बाउली गाड क्षेत्रका बासिन्दाको सयौं क्षेत्रफलमा लगाएको बाली पूरै नष्ट भयो । खेतहरू बगरमा परिणत भए । तलकोट वेदकाली गाउँको शिरानीको पहिरोले खेतीपाती नष्टमात्र भएन, रौल्यागाउँ बस्ती जोखिममा परेको छ । सरकारबाट कुनै पनि राहत प्राप्त नभएकाले गुनासो गर्नु जिल्लावासीले स्वभाविक हो ।
अन्तमा-यो मेरो धार्मिक भ्रमण हो । तिमिल्सिना थरका ब्राहृमणहरूको बाक्लो बस्ती छ वेदकाली गाउँमा । परापूर्व कालमा अछामको तिमिल्सना गाउँबाट बसाइ गर्न आएका हुन् यस गाउँमा । सात दिनसम्म श्रीमद्भागवत महापुराणका कथा प्रवचनले मन एकाग्र पा¥यो । १२ स्कन्ध र १८ हजार श्लोकको पवित्र धार्मिक ग्रन्थ हो हिन्दुहरूको श्रीमद्भागवत महापुराण ।
सुदूरपश्चिम केवल जल, जमिन र जंगलको भूमिमात्र होइन । अथाह आर्थिक, धार्मिक र संस्कृतिक सम्भावना बोकेको सुन्दर भूमि पनि हो । ऋतु अनुसारका फलफूलहरू उब्जनी गर्ने प्रकृतिको सुन्दर बगैँचा मानिएको यो भूमिमा सबै कुरा छन् । खप्तड छ, रामारोशन छ, अजय मेरु कोट छ, सुर्मा सरोवर आदि जस्ता रमणीय पर्यटकीय क्षेत्र छन् । कैयौं शक्ति पीठहरू छन् । राति पनि डालोमा काफल बिक्री गर्ने चेलीबेटीको एकहुल साउखर्क डडेल्धुरामा सुनाउँदै थियो-हमरा ठाउँमी खिरमात्र होइन काफल, ऐसेलु र ओखर पनि पाइन्छन् सस्तोमा किनेर लैजाऊ मितरौ ।
यो लेख तयार पारेको दुई दिनमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, उनकी श्रीमती अमृता सिंह, भाउजू जयादेवी सिंहको केदारस्यू गा.पा.-०१ जुवाली खेत बझाँङमा सडक दुर्घटनामा परी निधन भएको खबर प्राप्त भएको छ । कामको सिलसिलामा धनगढीबाट उहाँ गृहजिल्ला बझाङ जाँदै हुनुहुन्थ्यो । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच