‘ऐसेलुखर्क गाउँपालिका’ नामको फेसबुक पेज र ग्रुप डिलिट गर्न आग्रह

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले गाउँपालिकाको नाम राखेर खोलिएका विभिन्न फेसबुक पेज र ग्रुपहरु तत्काल डिलिट गर्न आग्रह गरेको छ ।

गाउँपालिकाको आधिकारिक फेसबुक पेज (ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय) बाहेक अन्य व्यक्तिहरुबाट गाउँपालिकाको नाममा फेसबुक पेज र ग्रुपहरु खोलिएको पाईएकाले ति पेज र ग्रुपहरु तत्काल डिलिट गर्न बिहीबार सूचना जारी गरेर आग्रह गरेको हो ।
गाउँपालिकाको नाम राखेर खोलिएका फेसबुक पेज तथा ग्रुपहरुबाट अनाधिकृत सूचना र अश्लिल किसिमका पोष्टहरु सार्वजनिक गर्ने गरेको जानकारी आएकाले त्यस्ता पेज र ग्रुपहरु तत्काल डिलिट गर्न सरोकारवाला सबैलाई आग्रह गरिएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राईले बताउनुभयो ।

राईका अनुसार गाउँपालिकाको आग्रहलाई बेवास्ता गरी अब त्यस्ता पेज र ग्रुपहरुबाट कुनै पनि किसिमको सूचना पोष्ट गरेमा प्रचलित कानुन बमोजिम कडा कारवाही अगाडी बढाइनेछ ।

‘गाउँपालिकाको नाम गरेर खोलेको फेसबुक पेज र ग्रुपमा कतिपयले अश्लिल फोटो समेत हालेको पाईयो । त्यस्ता सामाग्री म समक्ष आईपुगेको छ । अब हामी यस्ता अराजक र अनैतिक काम गर्ने विरुद्ध कानुनी रुपमा अघि बढ्छौ ।’ अध्यक्ष राईले भन्नुभयो ।

जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाले नागरिकलाई सूचना प्रवाहमा सहजताका लागि आधिकारिक फेसबुक तथा फेसबुक पेज सञ्चालन गरिरहेका छन् । अन्य स्थानीय तहको नामगरी अनाधिकृत फेसबुक पेज तथा ग्रुपहरु पनि सञ्चालन भईरहेको पाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?