१९५ देशका राष्ट्रका गान भएको पुस्तक लोकार्पण

हिमालय टाइम्स
Read Time = 7 mins

ललितपुर । ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तक लोकार्पण भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा ‘विश्वका राष्ट्रिय गान’ पुस्तकको लोकार्पण गर्नुभएको हो । नेपाल वाङ्मय फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरी समेटिएका छन् ।

मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको बिम्बलाई प्रतिनिधित्व गर्ने भएकाले हरेक नागरिकलाई राष्ट्रिय गानले आत्मसम्मान र गौरव महसुस गराउने बताउनुभयो । ‘हरेक देशको राष्ट्रिय गानले त्यो राष्ट्र कुन स्थितिमा निर्माण भएको हो ? भन्ने बिम्ब झल्काउँछ । राष्ट्रिय गानमा हरेकले आत्मसम्मान र गौरव महसुस गरेका हुन्छन्’, उहाँले भन्नुभयो, ‘राष्ट्रको भावी यात्रालाई पनि सीमित शब्दमा अभिव्यक्त गरिएको हुन्छ ।’ उहाँले सबै राष्ट्र एकै किसिमले निर्माण नहुने भन्दै त्यसको बिम्ब राष्ट्रिय गानमा झल्कने बताउनुभयो । मन्त्री साउदले विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले सबै देशलाई एकाकार गर्न र संयुक्त भावले काम गर्नुपर्छ भन्ने भावना जागृत गर्न खोजेको बताउनुभयो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले राष्ट्रिय गानले एउटा राष्ट्रको निर्माण कसरी हुन्छ भन्ने जानकारी दिने बताउँदै ‘विश्वका राष्ट्रिय गान’ पुस्तकको प्रकाशनले विश्वलाई भातृत्वको मार्गमा लैजान सहयोग पुर्‍याएको धारणा राख्नुभयो । उहाँले नेपालको राष्ट्रिय गानले शान्तितर्फ प्रेरित गरेको उल्लेख गर्नुभयो । पुस्तकमाथि समीक्षा गर्दै परराष्ट्रविद् तथा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले राष्ट्रको पहिचानलाई वैधानिकता दिने काम राष्ट्रिय गानले गर्ने बताउनुभयो । उहाँले ‘विश्वका राष्ट्रिय गान’ पुस्तकमा राष्ट्रिय गानको शीर्षक छुटेको बताउँदै पुनः प्रकाशन गर्दा त्यसलाई सच्याउन आग्रह पनि गर्नुभयो । उहाँले क्रिश्चियन समुदायबाट राष्ट्रिय गानको प्रारम्भ भएको बताउँदै नेदरल्याण्डको राष्ट्रिय गान पहिलो राष्ट्रिय गान भएको जानकारी गराउनुभयो । उहाँले राष्ट्रिय गान स्वतन्त्र राष्ट्रका लागि एउटा अनिवार्य तत्व भएको बताउँदै यसले एकताको लागि प्रेरित गर्ने विचार व्यक्त गर्नुभयो । आचार्यले राष्ट्र भनेको भूगोलमात्रै नभएर नागरिक, सभ्यता र संस्कृति प्रमुख भएको उल्लेख गर्दै राष्ट्रिय गान सम्बन्धित राष्ट्रको विशिष्ट पहिचान भएको जिकिर गर्नुभयो ।

फाउण्डेशनका विशिष्ट सल्लाहकार, कवि, गीतकार तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले ‘विश्वका राष्ट्रिय गान’ पुस्तक सुन्दर, संग्रहणीय र अद्वितीय उपहारका साथै सिंगैै संसार चिहाउने एउटा आँखीझ्याल हुने बताउनुभयो । कोइरालाले ‘विश्वका राष्ट्रिय गान’ पुस्तक शब्द, संगीत र स्वरको त्रिवेणीका साथै देश, भूगोल, भाषा र भावनाको संगम भएको विचार व्यक्त गर्नुभयो ।

फाउन्डेसनका प्रमुख संरक्षक, शिक्षाविद् तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले विश्वका राष्ट्रिय गान पुस्तकलाई सर्वसुलभ बनाएर प्रत्येक नेपालीको हातमा पु¥याउनुपर्ने धारणा राख्नुभयो । फाउण्डेशनका अध्यक्ष तथा पुस्तकका सम्पादक डा.विप्लव ढकालले पुस्तक प्रकाशनको औचित्यमाथि प्रकाश पार्दै पुस्तकमा संयुक्त राष्ट्र संघका १९५ सदस्य राष्ट्रहरू तथा दुई पर्यवेक्षक राष्ट्रका राष्ट्रिय गानहरू पुस्तकमा समेटिएको जानकारी गराउनुभयो । उहाँले पुस्तक संसारभरिका देशहरूको हृदय जोड्ने पुलको प्रतीकका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो पुस्तक विश्वशान्ति, सद्भाव र भाइचाराको कामनासहित नेपाली पाठकहरूमा देशभक्ति र राष्ट्रियताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रकाशित गरिएको हो ।’

पुस्तकभित्र राष्ट्रपति रामचन्द्र पौडेल, नेपालस्थित संयुक्त राष्ट्र संघका महामहिम आवासीय संयोजक हाना सिंगर-हाम्दी तथा फाउण्डेशनका विशिष्ट सल्लाहकार शंकरप्रसाद कोइरालाका मन्तव्य समेटिएका छन् । पुस्तकको प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ तथा तेन्जी शेर्पा रहनुभएको छ । पुस्तकको मूल अनुवादक प्रदीप निरौला र व्यवस्थापक डा.पद्मा अर्याल रहनुभएको छ । यो पुस्तकको प्रकाशन तथा लोकार्पणसँगै नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक यात्रा आरम्भ भएको जानकारी गराइएको थियो ।

कार्यक्रममा नेपालका राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई फाउण्डेशनका तर्फबाट सम्मान अर्पण गरिएको थियो भने अनुवादक प्रदीप निरौला, प्रकाशन सौजन्यकर्ता उमेश श्रेष्ठ र तेन्जी शेर्पा कदरपत्र सम्मानपत्र अर्पण गरिएको थियो । कार्यक्रमको सहजीकरण कवि तथा गीतकार मुकुन्दराज शर्माले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?