घटनामा संलग्नहरुलाई अनुसन्धानसहित कारवाही गर्न माग

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । जिल्लामा घटेका बिभिन्न मानविय घटनाहरुमा संलग्नहरुलाई निष्पक्ष अनुसन्धानसहित कानुनी दायरामा ल्याउन पिडित परिवारजनले माग गरेका छन ।

जिल्ला तहमा घटेका घटनाहरुमा संलग्न कसैलाई पनि जोगाउन नहुने मागसहित पिडित परिवारले जिल्ला सदरमुकाममा आफ्ना कुराहरु सार्वजनिक गरेका छन । प्रहरी प्रशासनले घटनाका बिषयमा अनुसन्धान गर्न नमानेको आरोप पनि उनीहरुले लगाएका छन् ।

गत जेठ ९ गते जिल्लाको टेम्कैमैयुङ गाउँपालिका वडा नम्वर ९ लेखर्क र गोगनको सिमानामा रहेको राउते खोलाको पुल निर्माणमा खटिएका सब-इन्जिनियर मन्दिप राईको खोलाले बगाएर मृत्यु भएको भन्दा पनि आशंका देखिएकाले किटानी जाहेरी दिँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको आरोप बुबा डा. ईश्वर कुमार राईले लगाउनु भएको छ । छोराको मृत्यु भवितब्य हो कि कर्तव्य भनेर प्रहरीमा अनुसन्धानका लागि जाहेरी दिँदा दर्ता नभएको राईको भनाई रहेको छ ।

यस्तै गत असार २४ गते भोजपुर नगरपालिका-१२ टक्सार पैयाँपानीका १८ वर्षिय दिप्सन प्रधानको हत्या प्रकरणमा प्रहरीले मुद्दा कमजोर बनाएर अनुसन्धान गर्न खोजेको भन्दै पिडित परिवारले पनि निष्पक्ष छानविनको माग गरेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । एकजनालाई सबैको अपराध थोपरेर अन्यलाई भने उन्मुक्ती दिन खोजेको दाबी दिप्सनका बुवा देवीप्रसाद प्रधानको रहेको छ । घटनामा संलग्नहरुलाई ज्यानसम्बन्धी कसुर, हातहातियार खरखजाना र वन्यजन्तुको चोरी शिकारी गरेको अभियोगमा कारवाही हुनु पर्ने परिवारजनको माग छ ।

जिल्लाको दक्षिणी आम्चोक गाउँपालिका-३ थिदिंखाका गोविन्द कुँवरले छिमेकीको कुटपिटका कारण आत्माहत्या गरेको भन्दै आफन्तले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले नमानेको जनाएका छन् ।

छिमेकी पवित्रा राईको घरमा कुटपिट गरी गत असार ८ गते बायाङ प्रहरी चौकीमा मिलापत्रपछि फर्किएका कुँवरले कुटाईको पीडा र सामाजिक प्रतिष्ठामा आँच पुगेकोले आत्महत्या गरेको परिवारको दाबी छ । यस प्रकरणमा तत्काल आत्महत्या दुरूत्साहनको जाहेरी दर्ता गरि दिन पनि परिवारजनले प्रहरीसँग माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले भने सवै घटनाका बिषयमा अनुसन्धान कार्य नरोकिएको जनाएको छ । प्रहरीले सवइन्जिनियर मन्दिप राईको मृत्युको सम्वन्धमा पनि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । पोस्टमार्टम र सिमेरा रिर्पोट आउन वाँकी रहेको र उक्त रिर्पोट आए पछि प्रहरीलाई थप अनुसन्धानमा सहज हुने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीको भनाई रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?