कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानमा साथ दिने

नीति महाधिवेशनको सट्टा मंसिरमा महासमिति बैठक गर्ने

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सरकारले थालेका जुनसुकै भ्रष्टाचारविरोधी अभियानमा सरकारलाई सघाउने निर्णय गरेको छ । नक्कली शरणार्थी प्रकरणमा मुद्दा खेपिरहेका नेता बालकृष्ण खाँणको नाम उल्लेख नगरी कांग्रेसले सरकारलाई सघाउने निर्णय गरेको हो । पार्टीबाट निलम्बन गर्नुपर्ने माग भए पनि कांग्रेसको केन्द्रीय समिति बैठकले खाँणको नाम नलिई भ्रष्टाचारको जात, धर्म, लिंग र दल नहुने भन्दै सरकारलाई यो अभियानमा सहयोग गर्ने निर्णय गरेको हो । साउन २ गतेदेखि बसेको केन्द्रीय समितिको बैठकको बुधबार निर्णय सार्वजनिक गर्दै महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो, ‘सुशासन कांग्रेसको पहिलो प्राथमिकता हो । सुशासन र भ्रष्टाचार सँगसँगै जान सक्दैन । भ्रष्टाचार, बेथिति अन्त्य नगरी सुशासन अगाडि जान सक्दैन । २१ वर्षअघि अख्तियारलाई कानुनसम्मत कांग्रेसले नै बनाएर बलियो बनाएको हो । भ्रष्टाचारको जात, धर्म, लिंग, वर्ण, सम्प्रदाय, समुदाय वा राजनीतिक दल हुँदैन । जोसुकैले भ्रष्टाचार गरे पनि कानुनबमोजिम दण्ड सजाय हुनुपर्छ । भ्रष्टाचार निर्मूल बनाउन हाम्रो पार्टी प्रतिबद्ध छ । यो सरकारले थालेको भ्रष्टाचार निर्मूलको अभियानमा हाम्रो पूर्ण साथ र सहयोग रहेको विदितै छ ।’ कांग्रेस भ्रष्टाचारका दोषी नउम्किऊन्, निर्दोष नफसून् भन्नेमा प्रष्ट भएको उल्लेख गर्दै कांग्रेसको निर्णयमा भनिएको छ, ‘भ्रष्टाचारविरुद्ध पार्टीको साथ र सहयोग रहन्छ । दोषी नउम्किऊन् तर निर्दोष नपरून् भन्ने कांग्रेसको नीति हो ।’

११ महिनापछि कांग्रेसको बैठक २ साउनदेखि १० साउनसम्म सात दिन चलेको थियो । बैठकमा प्राप्त सुझाव, आलोचनालाई ग्रहण गर्ने र १० वटा प्रस्तावलाई समेटेर निर्णय गरेको कांग्रेसले जनाएको छ । बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री शर्माले अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको बताउनुभयो । उहाँले जनप्रतिनिधिलाई इमानदारीपूर्वक जनताको काम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न पार्टीले निर्देशन दिनेसमेत जानकारी दिनुभयो ।

खाँणबारे महामन्त्री थापाको लिखित फरक मत
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पार्टीले निलम्बन नगर्ने निर्णय लिएपछि लिखित फरक मत राख्नुभएको छ । महामन्त्री थापासहितका नेताहरूले केन्द्रीय समिति बैठकमा खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्न माग गरेका थिए । तर, पार्टीले उहाँलाई निलम्बन नगर्ने नीति लिएको छ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे भने कांग्रेस मौन बसेको हो । महामन्त्री शर्माले यसबारे अर्का महामन्त्री थापाको लिखित मत रहेको जानकारी दिनुभयो । महामन्त्री थापाले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा राख्नुभएको थियो ।

सुन प्रकरणका दोषीलाई कारबाही गर्न सरकारसँग माग
सत्तारूढ दल नेपाली कांग्रेसले सुन प्रकरणका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको हप्ता एक सय किलो सुन तस्करी प्रकरणका दोषीलाई कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको हो । केन्द्रीय समिति बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन माग गर्दै भन्नुभयो, ‘विमानस्थल भन्सारबाट बाहिर निस्कँदै गर्दा पक्राउ परेको करिब सय किलो सुनको सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन सरकारसँग कांग्रेस माग गर्दछ ।’

नीति अधिवेशनको सट्टा मंसिरमा महासमिति आहृवान
कांग्रेसले नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने भएको छ । पार्टी कार्यालय, सानेपामा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने जानकारी दिनुभएको हो । मंसिर २०७८ मा भएको कांग्रेसको १४औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । तर, पार्टी विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन । महासमिति बैठक गर्नसमेत ढिला भइसकेकाले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी महासमिति बैठक गर्ने बताइएको छ । १४औँ महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गरिने निर्णय भएको थियो । तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको छ । यस्तै, कांग्रेसले सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको छ ।

मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग
नेपाली कांग्रेसले मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन माग गरेको छ । केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताउनुभयो । यो प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्नसमेत कांग्रेसले सरकारसँग माग गरेको छ ।

एक दर्जन कांग्रेस नेताको कारबाही फुकुवा
कांग्रेसले स्थानीय तह र संघ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका विभिन्न नेता कार्यकर्तामाथिको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न बैठकले जनकपुरधाम र बर्दिबास नगरपालिकाका मेयरसहितका व्यक्तिहरूको कारबाही फुकुवा गरेको हो । कारबाही फुकुवा भएकाहरूमा देवेन्द्र शाही (जुम्ला), जंगीलाल राय (सर्लाही), नवराज शाही (दैलेख जिसस प्रमुख), राजुसिंह कठायत (जुम्ला), मनोजकुमार साह (मेयर जनकपुरधाम), प्रल्हादकुमार क्षेत्री (मेयर बर्दिबास), तारादेवी खड्का (उपमेयर बर्दिबास), रामसवारत यादव (वडाध्यक्ष बर्दिबास), विजय महतो (वडाध्यक्ष बर्दिबास), विन्देश्वर यादव (वडाध्यक्ष बर्दिबास), अक्कल तामाङ (बर्दिबास), प्रमोद मोक्तान (बर्दिबास) र लक्ष्मण सिंह (बर्दिबास) रहनुभएको छ ।

शारारिक आक्रमण र कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने
नेपाली कांग्रेसले आन्दोलनको क्रममा कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारारिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो, ‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरूमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरू अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ ।’

सहमहामन्त्रीले ‘राजेन्द्र लिङ्देनका भाइहरू’ भनेकोप्रति भण्डारीको खेद प्रकट
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सहमहामन्त्री फर्मुल्लाह मन्सुरले केन्द्रीय कार्यसमिति बैठकमा राखेको भनाइप्रति खेद प्रकट गर्नुभएको छ । बुधबार बसेको पार्टी बैठकमा समय लिएर बोल्दै नेता भण्डारीले मन्सुरको उक्त भनाइले देशभरका कांग्रेस नेता तथा कार्यकर्ताको विचारमा अपमान भएको टिप्पणी गर्नुभएको हो । मन्सुरले पार्टीको महासमिति बैठकबाटै लिखित रूपमा वैद्धिक सनातन हिन्दुराष्ट्र हुनुपर्छ भनेर बहुमत सदस्यबाट पारित भएको विषयलाई बैठकमा उठाएको भन्दै आपत्ति जनाउनुभएको हो । मन्सुरले गत साउन ७ गते बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै निर्वाचन प्रणाली, धर्मनिरपेक्ष र समानुपातिक प्रतिनिधित्वको विषयमा प्रश्न उठाउने नेताहरूलाई ‘राजेन्द्र लिङ्देनका भाइ’को संज्ञा दिनुभएको थियो । उक्त भनाइप्रति भण्डारीले भन्नुभयो, ‘केही वर्ष पहिले सम्पन्न महासमिति बैठकमा पार्टीका साथीहरूले लिखित रूपमा पार्टीको मूल एजेण्डा वैद्धिक सनातन हिन्दुराष्ट्र हुनुपर्छ भनेर बहुमत सदस्यहरूले दिनुभएको छ । सहमहामन्त्री फर्मुल्ला मन्सुरले हिन्दु राष्ट्रको एजेण्डा उठाउनेहरू राजेन्द्र लिङ्देनका भाइहरू भनेर आपत्तिजनक र खेदजनक शब्द बोल्नुभयो । यस्ता कुराहरू बोल्ने हो भने हामीले पनि धेरै कुरा बोल्नुपर्ने हुन्छ । यस्ता शब्दहरू अब कुनै पनि सदस्यले कुनै पनि बैठकमा प्रकट नगर्न अनुरोध गर्दछु ।’

सामाजिक सञ्जालमा पार्टी नेतृत्वविरुद्ध लेख्न नपाइने
नेपाली कांग्रेसले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वको विरुद्धमा लेख्ने तथा त्यस्ता सामग्री सेयर गर्ने कार्यकर्ता पदमुक्त हुने गरी कारबाहीमा पर्ने निर्णय गरेको छ । केन्द्रीय कार्य समिति बैठकको अन्तिममा सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध बोल्ने लेख्नेलाई कारबाही गर्ने प्रस्ताव निर्णयमा माइन्युट गर्न महामन्त्री विश्वप्रकाश शर्मालाई दिर्नेशन दिनुभएको हो । यसअघि बैठकमा प्रवक्ता डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य राजीव ढुंगानाले सामाजिक सञ्जालमा नेता र नेतृत्वविरुद्ध जथाभावी लेख्ने, आरोप लगाउने तथा कांग्रेसका नाममा अनधिकृत अकाउण्ट चलाएर निश्चित नेतालाई आरोपित गर्नेमाथि अनुशासनको कारबाहीको निर्णय हुनुपर्ने बताउनुभएको थियो । महामन्त्री शर्माको प्रस्तावमा सो विषय नसमेटिएपछि बैठक समापनका बेला महतले पुनः देउवाको ध्यानाकर्षण गराएपछि सो निर्णय हुने व्यहोरा सभापतिले सुनाउनुभएको थियो ।

‘धेरै आलोचना होला भन्ने ठानेको थिएँ, खासै भएन’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो खासै आलोचना नभएकोप्रति खुसी व्यक्त गर्नुभएको छ । बुधबार केन्द्रीय कार्यसमितिको बैठकको अन्त्यमा बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले बैठकमा लामो छलफल भएको तर बैठकमा आफ्नो त्यति धेरै आलोचना नभएको भन्दै खुसी व्यक्तसमेत गर्नुभयो । सभापति देउवाले भन्नुभयो, ‘सबैलाई धेरै धेरै धन्यवाद छ । मैले त धेरै आलोचना होला भन्ने ठानेको थिएँ, खासै भएन । त्यसका लागि खुसी लागेको छ ।’ उहाँले बैठकलाई प्रत्यक्ष प्रसारण गर्दा कांग्रेसमा कोहीभन्दा कोही कम रहेनछ भनेर सबैलाई प्रष्ट भएको जिकिर गर्दै भन्नुभयो, ‘वास्तवमा हामीले धेरै विषयमा जीवन्त किसिमको छलफल गरेका छौँ । आज दुनियाँलाई थाहा भयो कि नेपाली कांग्रेसमा कोहीभन्दा कोही कम छैन भनेर सबैलाई प्रष्ट भएको छ ।’ सभापति देउवाले सबै शहीदहरूप्रति सम्मान व्यक्त गर्दै भन्नुभयो, ‘देशभरिबाट धेरैको योगदानबाट पार्टी यो ठाउँमा पुगेको छ । पार्टीले सबैप्रति सम्मान गर्दछ । पार्टी र देशलाई योगदान पुर्‍याउने सबै व्यक्तिहरूलाई हाम्रो सम्मान छ । पार्टीलाई विशेष सहयोग पु¥याउने व्यक्तिहरूलाई हामीले पार्टी कार्यालयमा फोटो राखेर पनि सम्मान गर्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?