‘विश्वेश्वरप्रसाद कोइराला चेतना, चिन्तन र राजनीति’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्राध्यापक कृष्ण खनालको कृति ‘विश्वेश्वरप्रसाद कोइराला चेतना, चिन्तन र राजनीति’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच प्रथम राष्ट्रपति डा.रामवरण यादव, प्राडा.लोकराज बराल, प्राडा.अभि सुवेदी, डा.तुलसीप्रसाद भट्टराई, वामपन्थी चिन्तक नरेन्द्रजंग पिटर, मानव अधिकारकर्मी मोहना अन्सारीले कृति लोकार्पण गर्नुभएको हो ।

समारोहमा प्रथम राष्ट्रपति यादवले कृतिको अध्ययनले बीपीको जीवनी र त्यसबेलाका राजनीतिक परिदृश्य स्पष्ट पारेको सुनाउनुभयो । उहाँले प्राध्यापक खनालले पुस्तकमार्फत मुलुकको राजनीतिक इतिहासलाई नयाँ पुस्तासँग जोड्न खोज्नुभएको पनि बताउनुभयो ।

प्राडा.बरालले यस पुस्तकको अध्ययनले विश्वेश्वरप्रसाद कोइराला नेपाली समाज र राजनीतिको पुनर्जागरणको प्रतीक भएको स्पष्ट भएको उल्लेख गर्दै बीपी गान्धीको चिन्तन र आर्थिक चिन्तनबाट प्रेरित हुनुभएको चर्चा गर्नुभयो । त्यस्तै प्राडा.सुवेदीले उत्त कृतिलाई जीवन महाकाव्यको संज्ञा दिँदै बीपी कोइरालाबारे अहिलेसम्म लेखिएका पुस्तकमध्ये यो महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।

मानव अधिकारकर्मी अन्सारीले बीपीबारे लेखिएको यस कृतिको अध्ययनले हाम्रो मुलुक प्राकृतिक स्रोतसाधनले सम्पन्न भएर पनि विकासमा किन पछि पर्‍यो भन्ने कुरा स्पष्ट हुने बताउनुभयो ।

प्राडा.गोविन्दराज भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रकाशकका तर्फबाट हरि गौतमले पुस्तकबारे जानकारी गराउनुभएको थियो भने वामपन्थी चिन्तक पिटरले आफ्नो दृष्टिकोण राख्नुभएको थियो । लेखक खनालले यस पुस्तकमार्फत बीपी कोइरालालाई आजको समाजसँग जोड्न खोजिएको धारणा राख्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?