साफ यू-१६ जित्ने नेपालको लक्ष्य

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । कठिन समूहमा रहेको नेपालले पहिलोपटक यू-१६ साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ । आगामी शुक्रबारदेखि भुटानको थिम्पुमा साफ यू-१६ च्याम्पियनसिपको चौथो संस्करण सुरु हुँदैछ । यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूहमा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । यो उमेर समूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०११ देखि सुरु भएको साफ यू-१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ । यद्यपि, नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । यसपटक नेपाल यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूह ‘ए’ मा छ ।

नेपालले आइतबार बंगलादेशविरुद्ध खेल्दै यस संस्करणको यू-१६ मा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । नेपाली किशोर फुटबल टोलीका प्रशिक्षक रविन्द्र सिलाकारले छोटो समय भए पनि तयारी राम्रो भएको उल्लेख गर्दै पछिल्ला समय रणनीतिक कामहरू भइरहेको बताउनुभयो । यसअघि धेरैजसो खेलाडीहरू एन्फा यू-१६ लिग खेलेर आएकाले तयारी अझै राम्रो भएको प्रशिक्षक सिलाकारको विश्वास छ ।

यू–१६ च्याम्पियनसिपको नेपाल दुईपटकको आयोजक राष्ट्र हो । यद्यपि, नेपालले एकपटक पनि उपाधि जित्न सकेको छैन । सन् २०११ को पहिलो संस्करणमा पाकिस्तानले उपाधि जितेको थियो । त्यसपछि भारतले २०१३ मा आयोजक नेपाललाई घरेलु भूमिमा हराउँदै उपाधि जितेको थियो । यसपटक नेपालले साफ यू-१६ को तयारीका लागि १४ दिनको प्रशिक्षण गरेको छ । अन्य पक्षहरूमा राम्रो तयारी भए पनि फिटनेसमा भने अभैm केही समस्या देखिएको प्रशिक्षक सिलाकार बताउनुहुन्छ ।

पछिल्लो संस्करण सन् २०१५ मा बंगलादेशमा भएको थियो । उक्त संस्करणमा पनि बंगलादेशले उपाधि जित्दा नेपाल भने सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । अहिलेसम्म नेपालको यू-१६ उमेर समूहले साफको उपाधि जित्न सकेको छैन । यसपटक इतिहास बनाउने लक्ष्य किशोर टोलीले राखेको छ । प्रशिक्षक सिलाकारले उमेर समूहमा कुनै टोली बलियो र कोही कमजोर नहुने उल्लेख गर्दै मैदानमा जसले उत्कृष्ट दिन सक्यो त्यसले नतिजा दिने बताउनुभयो ।

नेपालको यू–१६ टोलीले साफकै तयारी गरिरहेको नेपालको यू-१९ को टोलीसँग आइतबार अभ्यास खेल पनि खेलेको थियो । यद्यपि, अपर्याप्त समय र सोही उमेर समूहका प्रतिद्वन्द्वी अभावमा नेपालले थप अभ्यास खेल भने खेल्न पाएन । प्रशिक्षक सिलाकारले पनि पर्याप्त अभ्यास खेलको व्यवस्था हुँदा अझै राम्रो टोली बन्ने बताउनुभयो ।

भुटानमा हुने यो च्याम्पियनसिपका लागि प्रशिक्षक सिलाकारले गत भदौ ४ गते नै अन्तिम टोली घोषणा गरिसक्नुभएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २३ खेलाडीले अभ्यास गर्दै आइरहेका छन् । उक्त टोलीका खेलाडी सुवास बमले पछिल्लो समय प्रायले एन्फा यू–१६ लिग खेलेकाले धेरै मद्दत मिलेको र तयारी पनि राम्रो भएकाले च्याम्पियनसिपको ट्रफी लिएर आउने विश्वास व्यक्त गर्नुभयो ।

मिडफिल्डर सुवासले १४ दिनको समयमा आफूहरूले राम्रो मिहिनेत गरेकाले त्यसको नतिजा पनि राम्रो आउने बताउनुभयो । आफ्नो समूहमा भारत र बंगलादेश बलियो टोली रहेको स्वीकार गर्दै उनीहरूका लागि पनि नेपाल कठिन प्रतिद्वन्द्वी बन्ने लक्ष्य रहेको उहाँको विश्वास छ । नेपाली यू–१६ किशोर टोलीको गोलकिपरमा विशेष बानियाँ, पेम्बा भोटे र भक्तबहादुर परियार, डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोरकुमार दनुवार, सरन एसके, मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?