लेख्दै जाँदा आफैंलाई गाह्रो पनि हुँदोरहेछ : लेखनाथ पोखरेल, साहित्यकार

कृष्ण भुसाल
Read Time = 12 mins

जीवनको ४८ वर्षको लामो अवधि सिभिल इञ्जिनियरिङ पेशामा व्यतित गर्नुभएका स्रष्टा लेखनाथ पोखरेलको अर्को परिचय हो साहित्यकार । कुशल इञ्जिनियरका रूपमा कार्यसम्पादन गर्नुभएका उहाँले साहित्य क्षेत्रमा पनि आफ्नो उचाइलाई अग्ल्याउनुभएको छ । उहाँका ‘फकलीको गाउँ’ (नियात्रासंग्रह), ‘मार्बल हाउसकी शालिनी’(कथासंग्रह), ‘चिबे-नकटो’ (हास्य निबन्ध) र ‘बनिता’(उपन्यास) पाठकमाझ आएका छन् । आफ्ना कृतिमा जानकारीमूलक र मनोरञ्जनात्मक विषयवस्तुलाई समेट्नुहुने उहाँले नयाँ कृति कथासंग्रह पाठकमाझ ल्याउने तयारी गर्नुभएको छ । उहाँले एक-दुई वर्षको अन्तरालमा नै आफ्ना चार कृति पाठकमाझ ल्याउनुभएको हो । मानिसको चाहना हुँदा यो सबै सम्भव हुँदोरहेछ । यसको उदाहरण म आफैं भएँ भन्नुहुने उहाँका कृतिमा केही सन्देश, जानकारी, इतिहास, कला संस्कृति, सामाजिक परिवेश समेटिएको हुन्छ । आफूले प्रस्तुत गर्ने विषयवस्तुमा न्याय गर्न सक्ने साहित्यकारका रूपमा उहाँ परिचित हुनुहुन्छ । लेख्न लागेपछि खसखस भइरहेको रहेछ र फेरि लेख्दै जाँदा आफैंलाई गाह्रो पनि हुने रहेछ भन्नुहुने साहित्यकार लेखनाथ पोखरेलसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको अन्तरंग संवादको संक्षिप्त अंशः-

कसको प्रेरणाले साहित्यतर्फ आकर्षित हुनुभयो ?
मैले आफ्नो जीवनको ४८ वर्षको लामो अवधि सिभिल इञ्जिनियरिङ पेशामा व्यतित गरेँ । साहित्यको क्षेत्रमा मेरो प्रवेश कसरी र कसको प्रेरणाबाट भयो ? भन्ने कुरा अलि अनौठो छ । मलाई साहित्यतर्फ उन्मुख गराउने श्रेय २०७२ साल वैशाख १२ गतेका दिन चौबिस घण्टामा १८०० पटकसम्म आएको भूकम्पलाई जान्छ । छैन त अनौठो ? मानिसको सोचविचार कुन बेला र कसरी रूपान्तरित हुन्छ भन्ने कुरा कसैलाई थाहा नहुँदोरहेछ । त्यो दिनको भूकम्पको दोस्रो धक्का यति भयावह थियो कि त्यसले आफ्नो आसपासमा कतै सल्बलाउँदै गरेको मृत्युको आभाष दिलायो । त्योसँगै आफ्नो अस्तित्वको क्षणभंगुरता र महत्ताहीनताको अनुभूति गरायो । त्रासदीपूर्ण त्यो भूकम्पले समयको महत्व एकाएक बढाइदियो । छुटेका मानिससँग भेट्ने रहर लाग्न थाल्यो । आफ्ना अनुभव र अनुभूतिलाई बाँड्नुपर्छ जस्तो लाग्न थाल्यो । केही संस्मरण लेखेर छोडौंझैँ लाग्न थाल्यो । त्यसकै परिणाम स्वरूप चारवटा कृतिको रचना भयो ।

यहाँका फरक-फरक विधामा चार कृति छोटो समयमै पाठकमा आए, यो कसरी सम्भव भयो ?
‘फकलीको गाउँ’ (नियात्रासंग्रह), ‘मार्बल हाउसकी शालिनी’(कथासंग्रह) र ‘चिबे-नकटो’ (हास्य निबन्ध) तीनैवटा कृति २०७८ सालमा प्रकाशित भए । २०८० सालमा भर्खरमात्र प्रकाशित भएको कृति हो ‘बनिता’(उपन्यास) । यी सबै कृतिहरू प्रकाशित गर्ने अनुकूलता समयले नै जुराइदिएको हो । कसरी सम्भव भयो भन्ने कुरामा लेख्दै गएँ, प्रकाशित हुँदै गए । मानिसको चाहना हुँदा यो सबै सम्भव हुँदोरहेछ । यसको उदाहरण म आफैं भएँ ।

अहिलेको व्यस्त सामाजिक परिवेशमा मानिसलाई फुर्सद निकाल्नै गाह्रो छ । बल्लतल्ल निकालेको फुर्सद कटनीका लागि मानिस केही हाँसो, केही ख्याल-ठट्टा वा अन्य कुनै किसिमको रमाइलोको खोजीमा भौंतारिरहेको हुन्छ । कोही मल्टिप्लेक्सतिर लाग्छन्, कोही डान्स-बार र होटेलतिर लाग्छन् । साहित्य अनुरागीहरू किताब पल्टाउनेतिर लाग्छन् । फुर्सद महँगो भएको यो परिवेशमा साहित्यमा मनोरञ्जन खोज्नेहरूले केही हाँसो र केही रमाइला प्रसंग भेटेनन् भने किन पढ्छन् र साहित्य ? यही मान्यतालाई लिएर हास्य र रोमाञ्चक घटनालाई प्राथमिकता दिने गर्दछु ।

नयाँ केही आउँदै छ कि ?
मलाई लागेको के हो भने यो लेख्न लागेपछि खसखस भइरहेको रहेछ । फेरि लेख्दै जादा आफैंलाई गाह्रो पनि हुने रहेछ । जसरी सुरुको कृति आयो पछि कृति निकाल्न आफैंले लेखेको आफैंलाई मन नपर्ने हुन थाल्ने रहेछ । फेरि पनि लेखिरहेको छु । मेरो अर्को प्रकाशोन्मुख कृति कथासंग्रह रहेको छ । यसको प्रारम्भिक नाम ‘विष-कन्या’ जुराएको छु । अर्को वर्ष प्रकाशित गर्ने सोच बनाएको छु ।

आफ्ना कृतिमार्फत् समाजलाई के सन्देश दिए जस्तो लाग्छ ?
मेरा सबै कृतिहरू जानकारीमूलक र मनोरञ्जनात्मक छन् । ‘फकलीको गाउँ’ नियात्रासंग्रहमा मैले भ्रमण गरेका मेचीदेखि महाकालीसम्मका हिमाल, पहाड, तराईदेखि अष्ट्रेलिया महादेशलगायतको भौगोलिक, सामाजिक अवस्थाको चित्रण गरेको छु । ‘मार्बल हाउसकी शालिनी’ मा देशको राजनीतिक र सामाजिक दूरावस्थाका केही रोचक कथाहरूलाई समेटेको छु । ‘चिबे-नकटो’ हास्य निबन्धमा हाम्रो समाजका विभिन्न क्षेत्रमा भेटिएका रोचक र घोचक प्रसंग उल्लेख गरेर मनोरञ्जन गराउने प्रयास गरेको छु । ‘बनिता’ उपन्यासमा मैले समसामयिक सामाजिक परिवेशलाई उजागर गरेको छु । प्रकाशन नगर्दासम्म यो मसँग मात्रै सीमित थियो । अब यो पाठकको भएको छ । उहाँहरूले पढ्दै जाँदा के-कस्तो यी कृतिबाट पाउनुहुन्छ त्यही नै हो । मैले दिन खोजेको सन्देश र पाठकको बुझाइ मेरो जस्तै हुनुपर्छ भन्ने पनि त छैन नि, होइन र ? तर, मेरो प्रयास केही सन्देश, जानकारी, इतिहास, कला संस्कृति, परिवेशलाई समेट्ने रहेको हुन्छु । के-कति सकेको छु त्यो विज्ञ पाठकमाझ नै छ ।

यहाँका हरेक कृतिहरू जुन पढ्यो त्यो बडो रोचक लाग्छ भन्ने गरेको सुनिन्छ, यसको कारण के होला ?
हेर्नुहोस्, अहिलेको व्यस्त सामाजिक परिवेशमा मानिसलाई फुर्सद निकाल्नै गाह्रो छ । बल्लतल्ल निकालेको फुर्सद कटनीका लागि मानिस केही हाँसो, केही ख्याल–ठट्टा वा अन्य कुनै किसिमको रमाइलोको खोजीमा भौंतारिरहेको हुन्छ । कोही मल्टिप्लेक्सतिर लाग्छन्, कोही डान्स–बार र होटेलतिर लाग्छन् । साहित्य अनुरागीहरू किताब पल्टाउनेतिर लाग्छन् । फुर्सद महँगो भएको यो परिवेशमा साहित्यमा मनोरञ्जन खोज्नेहरूले केही हाँसो र केही रमाइला प्रसंग भेटेनन् भने किन पढ्छन् र साहित्य ? यही मान्यतालाई लिएर हास्य र रोमाञ्चक घटनालाई प्राथमिकता दिने गर्दछु ।

यहाँलाई मनपर्ने साहित्यकार र मनपर्ने कृति ?
त्यसो त मन परेका लेखक र कृतिको धेरै लामो लिस्ट छ मसँग । तीमध्ये मलाई औधी नै मनपर्ने नेपाली साहित्यकार हुन् ध.च. गोतामे । मलाई मनपरेको उनको कृति हो ‘यहाँदेखि त्यहाँसम्म’ । भारतीय साहित्यकारमा एस.एल. भैरप्पा मेरो रोजाइको प्राथमिकतामा पर्छन् । उनको कृति ‘पर्व’ मेरो रोजाइमा पर्छ । अंग्रेजीमा ‘हेनरी चेरियर’ मेरा प्रिय लेखक हुन् । उनको उपन्यास ‘पापिलोन’ मेरो प्रिय उपन्यास हो ।

यहाँको बाल्यकालको सम्झना केही बताइदिनुहुन्छ कि ?
सम्पन्न परिवारमा जन्मिएर हुर्किएको बच्चा हुँ म । अद्भूत सपनामा बितेको थियो मेरो बाल्यकाल । म आठ वर्षको हुँदा एकजना साधु हाम्रो पहाडको घरमा आउनुभएको थियो । हाम्रो घरमा करिब तीन घण्टा समय व्यतित गर्नुभएको उहाँको बोली, वचन व्यवहार र उहाँले सुनाउनुभएको धर्म-दर्शनको कुराले मेरो कलिलो बाल्यमनमा यस्तो प्रभाव पार्‍यो कि म उहाँलाई सपनामा देख्न थालेँ । उहाँ कहिले मस्त भएर नाच्नुहुन्थ्यो त कहिले हाँस्नुहुन्थ्यो र मलाई पनि हँसाउनुहुन्थ्यो । कहिले मैले नसुनेका नयाँ–नयाँ कुराको जानकारी गराउनुहुन्थ्यो । यसरी क्रमशः उहाँ मेरो सपनाको खेल्ने साथी बन्दै जानुभयो ।

प्रत्येक रात सपनामा देखिने उहाँले मलाई खासगरी अंग्रेजी र गणितका पाठ पढाउने गर्नुहुन्थ्यो । परीक्षाका बेला कति पटक त प्रश्नपत्र देखाएर नै पढाउनुहुन्थ्यो । यो क्रम म हुर्किएर जवान हुँदासम्म नै चल्यो । पढाइ सकेर जागिर सुरु गरेको केही समयपश्चात् मैले रक्सी सेवन सुरु गरेँ । त्यसबीचमा उहाँले आएर मलाई रक्सी सेवन नगर्न धेरै पटक सम्झाउनुभयो । तर, मैले रक्सी सेवन गर्न छोडिन । केही समयपछि एक दिन सपनामा देखिनुभएको उहाँले निन्याउरो अनुहार लगाएर भन्नुभयो- अब उप्रान्त म तिमीलाई भेट्न कहिल्यै पनि आउने छैन । त्यो दिनपश्चात् उहाँ मेरो सपनाबाट सधैंका लागि हराउनुभयो । सपनाको त्यो अन्तिम दृश्य अहिलेसम्म पनि मेरो मानसपटलमा ताजा बनेर बसी नै रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?