एनआरएनएमा चुनावी सरगर्मी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएको छ । नेतृत्वका लागि विभिन्न आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् । सोही क्रममा अध्यक्षका लागि जापानका गैरआवासीय नेपाली महेश श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल उपाध्यक्ष रहनुभएका श्रेष्ठले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गर्नुुभएको हो । समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली भन्ने नाराका साथ उहाँले पाँच नीतिगत योजनासमेत घोषणा गर्नुभएको छ ।

एनआरएनएको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको सन्दर्भमा विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित संस्था बनाउनका लागि उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताउनुभयो ।

सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउने आफ्नो प्रमुख उद्देश्य र प्राथमिकता रहेको उहाँको भनाइ थियो । श्रेष्ठले भन्नुभयो, ‘म पद र प्रतिष्ठाभन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छु । विजयी भएर शपथ लिएको दिनदेखि नै वार्षिक क्यालेण्डर र कार्ययोजना बनाएर सबैको विश्वास जित्नेगरी काम गर्नेछु ।’

दुर्ई वर्षको कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने, गैरआवासीय नेपालीको पुँजी जन्मभूमिको विकासमा योगदान गर्ने उद्देश्यले सुरू गरिएको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने उहाँले बताउनुभयो ।

अर्थतन्त्र मजबुत बनाउने सवालमा दीर्घकालीन योजना र महत्वाकांक्षी सपना देख्नुपर्छ भन्ने मान्यताअनुरूप सन् २०३० सम्म नेपालको अर्थतन्त्र सय अर्ब डलर बनाउन स्पष्ट खाकासहित एनआरएनएले सरकार तथा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने श्रेष्ठले बताउनुभयो ।
आफूले प्रवासी नेपालीहरूको मुद्दामा सक्रियतापूर्वक काम गरेको भन्दै उहाँले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानमा सारथि बन्ने पनि बताउनुभयो । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत् उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख पुर्‍याउन पहल गर्ने, श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउने श्रेष्ठको भनाइ थियो । सरकार र दातृ निकायसँग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने आफ्नो योजना रहेको जानकारी गराउँदै एनआरएनएको भावी नीति, रणनीति, कार्ययोजना मस्यौदा गर्न तथा १० वर्षे विस्तृत ‘भिजनरी’ दस्तावेज तयार गर्न विशेषज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरेर काम गर्ने उहाँले बताउनुभयो । श्रेष्ठले विदेशमै बसेर मातृभूमिको प्रवद्र्धन र प्रचारमा गैरआवासीय नेपालीहरूको सक्रिय सहभागिताका लागि ‘एक साथी नेपाल पठाऊँ’, ‘नेपाली भाषा र संस्कृति जोगाऔँ’ अभियान र नेपाल फेस्टिबल जस्ता कार्यक्रम संसारभर सञ्चालन गर्ने लक्ष्य सुनाउनुभयो ।

घोषणा कार्यक्रममा एनआरएनएका उपाध्यक्षहरू नरेन्द्र भाट, राज रेग्मी, प्रवक्ता सोम सापकोटा, सचिव प्रवीण गुरुङ, गंगाधर गौतम, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, पूर्वसल्लाहकार हरिबोल भण्डारीलगायतको सहभागिता थियो । एनआरएनएको आगामीे अक्टोबर १७ मा हुने ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । तीनदिने विश्व सम्मेलन तथा महाधिवेशनमा विश्वका करिब ८० देशबाट एनआरएनएका प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?