हड्तालविरुद्ध चेतनाको दियो बाल्ने कि सडक बन्द गर्ने ?

प्रा. देवीभक्त ढकाल
Read Time = 15 mins

देश र समाजलाई सधैं समाधानको मार्गनिर्देशन गर्ने शिक्षक किन हड्तालमा उत्रिए ? यसले समाजमा चासो, आक्रोश, पीडा, सहानुभूति, चिन्ता, निराशाजस्ता विषय एकसाथ उपस्थित भए । हड्ताल सभ्य समाजको कलंक हो । समाज र देशलाई हड्ताल र अवरोधले किमार्थ हित गर्दैन । सरकार, देश, समाजको जिम्मेवार व्यवस्थापकमात्रै होइन ऊ अभिभावक हो । गुरुवर्गको हड्तालले सरकार अभिभावकीय भूमिका निर्वाह गर्न असफल भएको प्रमाणित भयो । चेतनाको दियो प्रज्वलित गरेर अन्धकारबाट समाजलाई सधैं उज्यालोतिर डोहोर्‍याउने वर्गले गर्ने हड्तालको मूल्यांकन गर्ने पद्धतिको विकास भएको भए नकारात्मक प्रभावलाई सबैले बुझ्ने अवस्था हुन्थ्यो ।

समाजलाई विधि, पद्धतिमा सञ्चालन गर्न सधैं कृतसंकल्पित वर्गले गर्ने हड्तालले सरकार झस्क्यो । समाधान छिटो खोज्दा दिगो समाधान दिन नसक्नु फेरि अर्को कमजोरीको सिकार सरकार बन्ने अवस्था समाज र राष्ट्रको दुर्भाग्य हो । समस्यासँग आत्तिने कि समस्या उत्पति हुन नदिने भन्ने विषयमा सरकार आगामी दिनमा होसियार हुन यो घटनाले निर्देश गरेको छ । अनुशासन नैतिकता, आचरण सिकाउने वर्गले हड्ताल बन्द जस्ता नकारात्मक विषय सिकाउन थाल्यो भने समाज अधोगतितिर जाने सम्भावनालाई समयमै विचार गर्न सरकारलाई यस घटनाले मार्गनिर्देशन गर्न सक्यो भने यो हड्तालले अराजकता र अव्यवस्थाको होइन व्यवस्थित हुन शिक्षा र सबक दिनसक्छ ।

एक असल शिक्षकले अन्यायलाई कुनै पनि अवस्थामा सहँदैन । लोभ-लालचसँग सम्झौता गर्दैन, जुन अध्यापक आफ्नो कर्तव्य र अधिकारप्रति सधैं सचेत हुन्छ त्यसले मात्रै पेशागत प्रतिष्ठामा आत्मसम्मानको रक्षा गर्न सक्छ । 

हड्तालविरुद्धको चेतनाको दियो बाल्न सबै शिक्षक अनुशासित, कर्तव्यनिष्ठ र सशक्त भूमिका निर्वाह गर्दै आएको भए हड्ताल जस्तो समाजमा विकृति उत्पादन गर्ने अस्त्रको प्रयोग गर्नुपर्ने थिएन । हड्ताल शिक्षक र सरकार दुवैको असफलता हो । देश र नागरिकको दुर्भाग्य हो । शिष्यको मनमा सिक्ने, जान्ने-बुझ्ने इच्छालाई जसले जागृत गराउने क्षमता राख्छ त्यो असल शिक्षक हो । शिक्षक समाजलाई व्यवस्थित अनुशासित र कर्तव्यनिष्ठ बनाउने सशक्त अस्त्र हो । एक प्रभावशाली अध्यापक त्यो हो जो विद्यार्थी, प्रधानाध्यापक तथा अन्य व्यवस्थापकका अगाडि कुनै गलत विषयमा झुक्दैन । एक असल शिक्षकले अन्यायलाई कुनै अवस्थामा सहँदैन । लोभ-लालचसँग सम्झौता गर्दैन । जुन अध्यापक आफ्नो कर्तव्य र अधिकारप्रति सधैं सचेत हुन्छ त्यसले मात्रै आफ्नो पेशागत प्रतिष्ठा, आत्मसम्मानको रक्षा गर्न सक्छ । अन्यायकाप्रति एक्लै प्रतिवाद गर्छ । त्यो हिम्मत इमानदार र कर्तव्यनिष्ठ शिक्षकबाट मात्रै सम्भव हुन्छ । यस्तो व्यवहारको अनुकरण विद्यार्थीले गर्ने वातावरणले समाज निष्पक्ष, तटस्थ, स्वच्छ हुन्छ । यो समाज स्वतः अनुशासित हुने भरपर्दो सूत्र हो ।

एक जिज्ञासु, कर्मठ, विवेचनायुक्त विद्यार्थीमात्रै भविष्यमा सच्चा शिक्षक बन्न सक्छ । जुन शिक्षा प्रणालीले जिज्ञासु, कर्मठ, विवेचनायुक्त, नैतिकवान, सदाचारप्रति प्रतिबद्ध विद्यार्थी उत्पादन गर्न सक्दैन त्यो शिक्षा शिक्षा नै होइन । वर्तमानमा नेपालको शिक्षा प्रणाली शिक्षा नभएर समाजलाई विषाक्त बनाउने हतियार भएको छ । शिक्षकले विद्यार्थीलाई पढ्न, सिक्नलाई उत्सुक बनाउने, प्रेरित गर्ने, प्रोत्साहन गर्ने र विद्यार्थीमा पढ्ने, सिक्ने, जान्ने उत्सुकता भर्न जो सफल हुन्छ त्यो सफल शिक्षक हो । त्यो प्रणाली नै असल प्रणाली हो । त्यो वातावरण बनाउन सर्वप्रथम शिक्षकमा उच्च नैतिकता, सदाचार, अनुकरणीय अनुशासन, जीवनशैली र व्यवहार न्यूनतम् सर्त हुन् । शिक्षकले छात्रछात्राहरूलाई अनुशासन, सजगता, जिम्मेदारी साथै मूल्य-मान्यता, रहनसहन आदि सिकाउँछ । छात्रछात्रालाई प्रत्येक गल्तीबाट निरुत्साहित होइन जान्न उत्प्रेरित गर्छ । विद्यार्थीमा कसरी सिक्ने भन्ने उत्सुकता हुन्छ ।

अध्ययनको उत्सुकताका साथै सिक्ने वातावरण निर्माणमा शिक्षकको अहं भूमिका हुन्छ । असल शिक्षकमा भएको सदाचार र आचरणलाई अनुकरण गर्न विद्यार्थी लालयित हुने अवस्थामा मात्रै सिकाइ, पढाइ, व्यवहार, आचरण आदि विद्यार्थीले स्वतः अनुसरण गर्ने प्रक्रिया प्रारम्भ हुन्छ । शिक्षक समाजमा अनादिकालदेखि नै सम्मानित र पूजनीय पद हो । यो फगत जागिर नभएर समाज परिवर्तनको साधना हो । गुरु, शिक्षक, आचार्य, अध्यापक शब्दले यस्तो व्यक्तिलाई इंगित गर्छ जसले सबैलाई विनाभेदभाव ज्ञान दिन्छ । निष्ठा, सदाचारजस्ता विषय सिक्न स्वतः प्रेरित गर्छ ।

नागरिकको र देशको भविष्य निर्माणमा एक शिक्षकको योगदान अत्यन्तै महत्वपूर्ण हुन्छ । शिक्षक ज्ञान, समृद्धि र प्रकाशको जबर्जस्त स्रोत हो । शिक्षकबाट कुनै व्यक्तिले जीवन उपयोगी ज्ञान पाउँछ । बालकको सर्वांगीण विकासमा शिक्षा र शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रको उन्नतिमा शिक्षक र शिक्षाको अतुलनीय हुन्छ । शिक्षक संस्कृतिको पोषकमात्रै होइन शिक्षा र बालबालिकाको रक्षकको भूमिकामा पनि हुन्छ । बालकको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा शिक्षक र शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षकले बालकहरूलाई सफल मार्गनिर्देशनका माध्यमले उनीहरूको व्यक्तित्वको सन्तुलित विकास गरेर सफल र योग्य नागरिक बनाउँछ । शिक्षण पेशा यो सामान्य जागिर नभएर यो समाज परिवर्तनको तपस्या हो । सदाचार र नैतिकताको साधना हो ।

नैतिक, धार्मिक, आचरणयुक्त शिक्षा र त्यसलाई अक्षरसः पालना गर्ने समाजले आस्था, विश्वासका साथ अनुकरण गर्ने व्यवहार आचरण भएका गुरुहरू र उनीहरूले प्रशिक्षित, दीक्षित गर्ने निष्ठावान विद्यार्थीको उत्पादन नै एकमात्र समाधान हो । 

त्यसैले समाजमा सम्मानित अध्यापकहरूको चरित्र, व्यवहार समाजलाई समुन्नत बनाउन महत्वपूर्ण हुन्छ । शिक्षकहरूका वैयक्तिक गुणअन्तर्गत उच्च चारित्रिक गुण, उत्तम र आकर्षक शारीरिक तथा सन्तुलित व्यक्तित्व, संवेगात्मक स्थिरता, नेतृत्व शक्ति, सहानुभूतिपूर्ण व्यवहार, आशावादी दृष्टिकोण आदि हुन् । असल शिक्षक विद्यार्थी जस्तै सधैं अध्ययनरत हुन्छ । के अहिलेका हाम्रा शिक्षकहरूमा ती गुण छन् ? किमार्थ छैनन् । शिक्षकहरूको पार्टीमा संलग्नता र मदिराको दुव्र्यसन शिक्षाका मुख्य समस्या हुन् । गुरुको आचरण विश्विसनीय, उत्तरदायित्वपूर्ण, नवोन्मेषी, धैर्यवान, प्रतिबद्ध, निष्पक्ष, पारदर्शी र सादगीको प्रतीक हुनुपर्छ । जो शिक्षक आफ्नो हृदय, व्यक्तित्व र आचरणलाई मनसा, वाचा, कर्मणा यी मानव मूल्यहरूको अनुसरणद्वारा आफ्नो नैतिकतालाई निखार प्रदान गर्न सक्षम हुन्छन् तिनीहरूमात्रै यो संसारमा गुरु बन्न योग्य हुन्छन् ।

हाम्रो मूलभूत समस्या भनेको आचरण नभएकाहरू गुरुको पेशामा संलग्न भएकाले गुरुको गरिमा र मर्यादामा स्खलन आयो । शिक्षकहरूमध्ये केहीको स्खलित आचरण, नैतिकताका कारण शिक्षक समुदाय पूरै बदनाम भएको छ । हाल देखिएका सबै समस्याको कारण र परिणाम पनि शिक्षा हो । फेरि समाधानका उपाय पनि शिक्षाको सुधारसँग अन्तरनिहित भएको विषयलाई नीति-निर्माणमा रहनेहरूले कहिले आत्मसात् गर्ने ? मनुष्यको भाग्य-भविष्यको निर्माण उसको चरित्र र आचरणले गर्छ । तसर्थ बालकलाई समाजको सफल व्यक्ति, उत्तम नागरिक र समाज उपयोगी सदस्य बनाउने चाहना छ भने उसको चरित्र तथा आचरण निर्माण न्यूनतम सर्त हो ।

नैतिक शिक्षा नैतिक आचरण र व्यवहारका लागि दिइने त्यो शिक्षा हो । धर्म, सदाचार, नैतिक कर्तव्यका साथै अनुकरणीय चरित्र र आचरण न्यूनतम सर्तअन्तर्गत पर्दछन् । भाषणमा, लिखितममा नैतिकता आचरणका विषय हुन् । व्यवहारमा नैतिकता र सदाचरण अत्यन्तै कठिन तपस्या हो । यो तप र धर्मलाई जहिलसम्म सबै शिक्षकहरूले अक्षरसः पालन गर्ने परिस्थिति सिर्जना हुँदैन समाजमा नैतिकता र सदाचारको अभाव खड्कन्छ ।

जहिलेसम्म यस वर्गले नैतिकता र सदाचारलाई आफैंमार्फत अनुकरणीय बनाउने योग्यता, क्षमता र तत्परता देखाउन सक्दैन त्यस अवस्थामा समाजमा नैतिकता तथा सदाचारको अभाव हुन्छ । व्यक्ति, समाज, सिंगो राष्ट्रलाई नै नैतिकता र सदाचारको शिक्षा दिने गुरुवर्गको जीवनमा ती विषयको अक्षरसः पालना गरेको अनुभूति समाजले गर्वसाथ गर्ने अवस्था हुँदैन । अहिले नेपालको गरिबी, पछौटेपन, अभाव, भ्रष्टाचार र सबै विकृतिको कारण शिक्षकहरूको नैतिकता एवं आचारणको विषयमा लाग्ने प्रश्नचिहृन हो ।

नैतिक शिक्षा यस्तो विधि हो जसले विद्यार्थीहरूको कामकाजी जीवनमा कुशलता प्रदान गर्छ । विद्यार्थीको मन मस्तिष्कमा मानवताको प्रवेश हुन्छ । स्वायत्तता र जिम्मेदारीका साथ आफ्नो व्यावसायिक कामकाज सम्पन्न गर्न र आत्मविश्वास विकास गर्न अनुमति दिन्छ । नैतिक, धार्मिक र आचरणयुक्त शिक्षा र त्यसलाई अक्षरसः पालना गर्ने र समाजले आस्था र विश्वासका साथ अनुकरण गर्ने व्यवहार, आचरण भएका गुरुहरूहरूले प्रशिक्षित र दीक्षित गर्ने निष्ठावान विद्यार्थीहरूको उत्पादन नै एकमात्र समाधान हो । यो समाधानको बाटोमा जहिलेसम्म निर्वाध हिँड्ने अवस्था बन्दैन त्यस अवस्थासम्म समाज नैतिकवान र अनुशासित किमार्थ बन्दैन भन्ने विषयमा जिम्मेवारहरूले आत्मसात गर्न ढिला गर्न हुँदैन ।

हाम्रो भ्रष्टाचारको समाधानको एकमात्र बाटो भनेको नै शिक्षकहरूबाट उच्च नैतिकता र सदाचारको आचरणको प्रदर्शन, शिक्षण, प्रशिक्षण हो न कि हड्ताल । शिक्षकहरूको नैतिकता र आचरण जब समाजले निसंकोच अनुकरण गर्छ । त्यसपछि वर्तमानमा मुख्य समस्याको रूपमा रहेको भ्रष्टाचार, हत्या, हिंसा, विधिविहीनता, शोषण, अत्याचार, नातावाद, कृपावाद जस्ता समाजिक विकृतिहरू स्वतः समाधानको दिशातिर उन्मुख हुँदै जान्छन् । कानुन र नियमको कार्यान्वयन मात्रैले समस्या समाधान हुन नसक्ने कुरा प्रमाणित भएको विषयलाई जिम्मेवारहरूले आत्मसात गर्नुपर्दछ । (हाल मुम्बईको कल्याण फाँटाबाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?