
काठमाडौं । नेपाल हस्तकला महासंघले आगामी मंसिरमा २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । उद्यमी, कलाकार, कालिगढबाट उत्पादित नेपाली हस्तकलाको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नयाँ-नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताको चाहनाअनुरूप वस्तु डिजाइन र रंग संयोजनबारेमा उद्यमी व्यवसायीमा जानकारी आदानप्रदान गर्ने, स्वदेशी र विदेशी क्रेता तथा बिक्रेताबीच एकआपसमा सीप, प्रविधि, डिजाइन र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महासंघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
मंसिर ७ देखि ११ गते काठमाडौंका होटल डेल, अन्नपूर्णमा हुने मेलामा करिब एक सय ५० स्टल रहने बताइएको छ । उत्कृष्ट एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । विदेशी प्रदर्शनीकर्तामा भारत, चीन, पाकिस्तान, बंगलादेशका व्यापारीको सहभागिता रहने मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्रीमा राखिने आयोजकले जनाएको छ ।
मेलाको प्रमुख आकर्षणका रूपमा १८औँ संस्करणको हस्तकला प्रतियोगिताअन्तर्गत परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’ प्रत्यक्षरूपमा जीवन्त प्रदर्शनी रहेको छ । उक्त प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने छ भने उत्कृष्ट तीन कलाकारलाई नगद पुरस्कार क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ रहेको छ ।
महासंघका अनुसार हाल नेपाली हस्तकलाका वस्तु करिब १२ अर्ब बराबरको विश्वका ६० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ भने सोही बराबर आन्तरिक बजारमा पनि खपत हुने गरेको छ । हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच