नमागिएको सल्लाह
माउण्ट आबु पर्वतीय क्षेत्र र शान्तिवनको कार्यक्रको समाप्ति पश्चात् १७ जनाको समूह आबु रोडबाट लगभग १२० किलोमिटर दूरीमा रहेको विश्वका हेर्न लायक पर्यटन नगरीमा गनिएको राजस्थानको उदयपुरतर्फ लाग्यौं । दुई घण्टा तीस मिनेटदेखि तीन घण्टा लाग्ने यस बाटाको यात्रालाई विविध हैसियत र क्षमता भएका हाम्रा टोलीका सदस्यहरूले रमाइलो बनाएका थिए । आबु रोडबाट उदयपुर जाने राजस्थान क्षेत्रको बाटो उजाड र दिक्कलाग्दो होला भनेर अनुमान गरिएको थियो । वास्तविकतामा त्यस्तो पाइएन । राजमार्ग क्षेत्रमा हरियाली प्रवर्धन गरिएको छ । पर्वतीय क्षेत्रलाई पनि भारत सरकारले सम्झौता नगर्ने गरी कडाइकासाथ संरक्षित गरेको पाइयो । फर्कँदा परेको आकाशे पानीले त वातावरणमा अझ सहजता थपिदियो ।
पश्चिम भारतीय राज्य राजस्थानको उदयपुर पहिले मेवार राज्यको राजधानी हो । सन् १५५९ मा उदइ सिंहद्वारा स्थापित यो शहरलाई ताल, किल्ला, बगैंचा र म्युजियमको शहरका रूपमा चिनिन्छ । यसलाई ‘भेनिस अफ द इष्ट’ भनेर उल्लेख भएको पाइयो । समुद्रभित्रै नौका विहार गरेर जानुपर्ने इटालीको भेनिस शहर र केही तालतलैया भएको यो शहरका बीचमा तुलना गरेकोमा त्यति संगति भने पाइएन । बरू अर्को कश्मीर भनेकोमा अतिरन्जना दोष नलाग्ला । तालहरूको बहुलता भएको यस नगरीको प्रमुख र सबैभन्दा ठूलो ताल फतेह सागर झिल रमणीय थियो । उदयपुर र मेवारका राजा महाराना फतेह सिंहको नामबाट नामकरण गरिएको यो कृत्रिम ताल उदयपुरका चार तालमध्ये मुख्य ताल हो । औसत १८ फिट गहिराइ रहेको यो ताल नजिकको टापुमा आकर्षक नेहरू पार्क रहेको छ । यी तालहरूले उदयपुर शहरको गहनाको रूपमा काम गरेका छन् ।
गान्धीको सावरमती आश्रम एउटा तपोवन जस्तो लाग्यो । सावरमती नदीको किनारमा रहेको यस आश्रमबाट देशभक्ति र समाजसेवाका लागि प्रेरणा लिन सकिने अनेक दर्शनीय स्थान थिए । आँखाको रमणीयताका लागि ती औसत थिए तर मानव चेतनाको तेस्रो आँखा खोल्ने किसिमका थिए ।
हाम्रो टोलीका सबै सदस्यको उक्त तालमा नौका सयर गर्ने सहमति भएकाले हामीहरूले मध्यमस्तरको र धेरैजना अटाउन सक्ने नौका लिएर विचरण गर्यौं। बोटिङ गर्यौं लेख भनेर भन्ने मेरो मनलाई, नलेखौं न भनेर कति सम्झाउँन खोज्दा पनि नमानेकाले, अंग्रेजी शब्द लेख्न बाध्य भएँ । अंग्रेजीले हामीमाथि कति धेरै सांस्कृतिक अतिक्रमण गरिसकेको छ र गर्नेवाला छ भन्ने ज्वलन्त प्रमाण थियो त्यो मेरो मनको आदेश । आखिरी मन न हो, त्यस मनलाई ठेगान लगाउन, लगाम लगाउन भनेर त हामी ॐ शान्ति क्षेत्रको शरणमा आएका हौं । तवत भनिएको छ ‘मन : एवं मनुष्याणां कारणं बन्ध मोक्षयो’ प्रतिभाशाली कलाकार प्रकाश सपूतले उनको पछिल्लो प्रस्तुति ‘दमाइ महाराज’मा मनको बखान त्यत्तिकै गरेका हुन् र ? यो बेलगाम मनको चञ्चलतामा लगाम लगाउनकै लागि संसारका सबै अध्यात्मवादीहरू कोसिस गरिरहेका छन् तर पनि यसलाई बसमा राख्न सबैलाई कठिन भइरहेको छ ।
नौका विहारपश्चात् हाम्रो टोलीका केही सदस्यलाई ऊँटमा सवार हुने तीव्र इच्छा रहेछ । यो सवारी सहज हुनेछैन भनेर सम्झाउँदा पनि असफल भइएन । ऊँट सवार हुनै महाभारत परेका श्रीमतीजीहरूलाई ऊँटले के दुई-चार पाइला बढाएको थियो कुन बेला झरौँ जस्तो भएछ । उनीहरूलाई असहज भएको भन्ने कुरा उनीहरूको मुखमुद्राबाट थाहा पाउन सकिन्थ्यो । मेवार राज्यका तेह्रौं लडाकु राजा प्रताप सिंह उर्फ महाराना प्रताप सिंहको दरबार यो शहरको मुख्य दर्शनीय स्थान हो । हल्दीघाँटीमा भएको मुगल सम्राट अकवरसँगको लडाइमा कडा प्रतिरोध गरेको र मुगल सम्राटको अनेक सन्धि र सुलहलाई अस्वीकार गरी आफ्नो राज्य जोगाएकोमा यिनको सम्झना गरिन्छ । सन् १९१५ मा जन्मिएर १९५७ मा अल्पायुमा नै मृत्युवरण गरेका यी लडाकु राजाको निधन लडाइमा भएको घाउको कारण भएको थियो । हाम्रो टोलीले हल्दीघाँटीको अवलोकन गर्ने योजना बनाउन नसक्नु हाम्रो यात्रा व्यवस्थापको कमजोर पक्ष थियो ।
यस दरबरको अवलोकनपूर्व दरबारको अग्रभागमा रहेको जगन्नाथ मन्दिर संगमर्मरले बनेको आकर्षणको केन्द्र थियो । यो मन्दिर दर्शन गरेपश्चात् राजस्थानी हस्तकला केन्द्र र त्यहाँका सेलेब्रेसन सपिङ सेन्टर भ्रमण गर्ने साइत जुरेको थियो । उदयपुर शहर भ्रमण गर्ने रहर हुँदाहुँदै सबै सदस्यहरूको पूर्वनिर्धारित कार्यक्रमको कारण हामी माउण्ट आबुतर्फ फर्कियौं । साँझ शान्तिवनको बैकुण्ठमा यस यात्राको अन्तिम बास बसेर भोलिपल्ट बिहान सोमनाथ र द्वारकासम्मको यात्राका लागि अहमदावादतर्फ प्रस्थान गर्यौं ।आबुबाट २१० किमीको यात्राका लागि हामी निस्कँदा टोलीका पूर्वअपरिचित सदस्यको आनिबानीका कारण असहजता होला कि भन्ने भय थियो त्यो भयलाई बाटोमा पर्ने शहर सिद्धपुरको एक भोजनालयमा सहभोजन गरेपश्चात् सहजता थपिँदै गयो । टोली सदस्यका बीच असमझदारी हुने भनेको अहंकार र खर्चबर्चको कारणले हो । आफूहरू पछाडिको सिटमा बस्न इच्छुक रहेको जानकारी पूर्वसचिव राजुमान सिंह मल्लजी र म स्वयंले दिएर अर्का सदस्यलाई अगाडि बस्न प्रेरित गरियो । यस दिनको हाम्रो रात्रिबास अहमदावाद शहरमा भयो । सन् १४११ मा सुल्तान अहमदले स्थापना गरेको यो शहर १९६० देखि १९७० सम्म प्रान्तीय राजधानी थियो । भारतको प्रमुख औद्योगिक शहरको रूपमा यसलाई गणना गरिन्छ । ककरिया र वस्त्रापुर तालहरूको यो शहरबाट सावरमती नदी बग्छिन् जसको किनारमा महात्मा गान्धीको आश्रम छ । गान्धीको जन्म, स्वतन्त्रता आन्दोलनको अगुवाइ, चर्खा प्रचारलगायत कामहरू गुजरातबाट भएको कारण गुजरात गान्धीमय छ भन्दा पनि हुन्छ ।
गान्धीको सावरमती आश्रम एउटा तपोवन जस्तो लाग्यो । सावरमती नदीको किनारमा रहेको यस आश्रमबाट देशभक्ति र समाजसेवाका लागि प्रेरणा लिन सकिने अनेक दर्शनीय स्थान थिए । आँखाको रमणीयताका लागि ती औसत थिए तर मानव चेतनाको तेस्रो आँखा खोल्ने किसिमका थिए । मुम्बईबाट ५४५ र दिल्लीबाट ८७३ किमी दूरीमा रहेको यो शहरमा सरदार बल्लभ भाइ पटेल एअरपोर्ट रहेको छ । अहमदावाद पुगेपछि अक्षरधाम मन्दिर दर्शनीय स्थानमध्ये एक हो । पानीको फोहोरा र बिजुली बत्तीको समन्वयबाट धार्मिक कथाका नाचिकेता र गलत कर्ममा लागेका निजका पिताको सम्वादमा आधारित भएर स्वामी नारायणको प्रचारमा समर्पित यो फाउण्टेन सो आकर्षक, मनमोहक र सन्देशमूलक थियो ।
कुनै अर्को लोक प्राप्तिको लालसाले यो यात्रा गरिएको होइन । प्रकृतिले अनुपम उपहारको रूपमा प्रदान गरेका पञ्चतत्व पृथ्वी, अप, तेज, वायु र आकाशको मौलिकतालाई मानवजातिले जोगाउँन सक्दा यो भूधरा नै स्वर्ग हो, स्वर्ग बनाउन सकिन्छ ।
२३ एकड जमिनमा फैलिएको उक्त धाममा स्वामी नारायणको सात फिटको सुनौलो मूर्ति, आकर्षक बगैंचा, म्युजयिम व्यवस्थित रूपमा छन् । वास्तुशिल्प, मन्दिर कला र यसका अनुयायीहरूको भक्तिको संयोजन अक्षरधाममा रहेको पाइयो । ब्रहृमकुमारिजको दादा लेखराजलाई देवत्वकरण गर्ने र अक्षरधाममा सन् १८३७ मा जन्मेका स्वामी नारायणलाई देवत्वकरण गर्ने कार्यमा दुवै समानरूपमा सफलतातर्फ उन्मुख भएको पाइयो । सेप्टेम्बर २७ का दिन अहमदावादबाट राजकोट, जामनगर हुँदै द्वारका पुग्यौं । सोही दिन गोमती नदी र अरेबियन सागर किनारमा रहेको द्वारका धामको दर्शन गर्ने अवसर जुर्यो । भारतको गुजरात प्रान्तको जामनगर जिल्लामा रहेको द्वारका धाम हिन्दू धर्मावलम्बीहरूले मान्दै आएका चार धाममध्येको एक हो । भक्तहरूले खचाखच भरिएको यो मन्दिरको कलात्मक पक्ष नमुनायोग्य थियो ।
द्वारकाबाट १२७ किमीमा जामनगर र १०७ किमीमा पोरबन्दर विमानस्थल केही दूरीमा रहे तापनि हवाइमार्गबाट यात्रा गर्न चाहनेका लागि सामान्य सुविधा रहेको पाइयो । मुम्बई घुमेर आउँनेहरूका लागि पनि यो तीर्थाटन अनुकूल नै छ । सेप्टेम्बर २८ का दिन बिहान द्वारिकाधीशको नजिकबाट दर्शन गरेर सम्झनाका लागि केही तस्वीर खिचेर हाम्रो टोली द्वारकाबाट अरेबियन सागर किनारमा शान्तसँग तपस्यामा लीन भएका भट्केश्वर महादेवको दर्शनका लागि पुग्यो । यस्तो कल्पनाको स्वर्गजस्तो स्थानमा ध्यानरत महादेवलाई कसले भट्केश्वर नामकरण गर्यो, किन गर्यो जिज्ञासा मनमा राखेर नाम भट्केश्वर भए पनि हार्दिकतापूर्वक दर्शन, स्पर्शन र फोटो सेसन गरेर हामी रुक्मिणी मन्दिरतर्फ लाग्यौं ।
अरेबियन सागरको विशालताले जलमय देखिए पनि पिउने पानीको अभाव भएका कारण रुक्मिणी मन्दिरमा जलदानकोमहत्व रहेको भनियो । पूजारी समूहका वाक्पटु युवाले समूह-समूह बनाई माइक लगाएर जलदानको महत्व सम्झाउने र कति रकममा जलदानको पुण्य प्राप्त गर्न सकिने जानकारी गराउँने रहेछन् । मन्दिरको आम्दानीको स्रोत जुटाउने मुख्य जुक्ति होला भन्ने अनुमान गरियो । हाम्रो टोली द्वारकाबाट ३० किमी दूरीमा रहेको भेटद्वारकातर्फ अगाडि बढ्यो । भेटद्वारका द्वीपमा कृष्ण र सुदामाको भेट भएको कारण यसको नामकरण भेटद्वारका रहेको भनाइ रहेछ । पुराना र आकर्षक नदेखिने, खचाखच भरिएका मोटर भएका डुंगाबाट अरेबियन सागर पार गरेर भेटद्वारका पुग्नु हामीजस्ता फेवाताल, बेगनासताललाई सागर ठान्नेका लागि रमाइलो मौका भयो ।
भेटद्वारका मोटर मार्गबाट जानसक्ने गरी पुल निर्माण भइरहेकाले डुंगा यात्रालाई लथालिंग छोडेको हो कि ? अन्य विकल्पको अभावमा जेजस्तो भए पनि डुंगा यात्रा तय गर्नु बाध्यात्मक अवस्था हो । प्रतिस्पर्धाविनाको व्यवस्थापन कस्तो हुन्छ भन्ने यो पनि एउटा उदाहरण हो । भेटद्वारकाबाट नागेश्वर शिवलिंगको दर्शनका लागि पुग्दा प्रचण्ड गर्मीले जमिन तातेको अवस्था थियो । बाहिर रहेको विशालकाय शिवमूर्तिको दर्शन गरेरभित्र रहेको मन्दिरको दर्शन सहजतापूर्वक हुनु परमेश्वरकै अनुकम्पा हुनुपर्छ । दारुका राक्षसले शिवभक्त सुप्रियलाई शिवभक्तिबाट अलग गर्न आक्रमण गरेपछि उसलाई बचाउन ज्योतिर्लिंग प्रकट भएको भन्ने भनाइ रहेको पाइयो । नागेश्वर ज्योतिर्लिंग भारतमा भएका १२ ज्योतिर्लिंगमध्ये एक हो । अब हाम्रो यात्रा महात्मा गान्धीको जन्मस्थान पोरवन्दरतर्फ अगाडि बढ्यो । त्यहाँस्थित कीर्ति मन्दिरको मर्मतसम्भार भइरहेको अवस्था भए तापनि महात्मा जन्मेको कक्षलगातका महत्वपूर्ण स्थानको अवलोकन पश्चात् सोमनाथतर्फ प्रस्थान गर्यौं ।
द्वारकाबाट सोमनाथसम्मको २२५ किमी यात्रा तय गरेर केही ढिलो हामी सोमनाथ पुग्यौं । ढिलो पुगेको कारण त्यहाँ नित्य गर्ने आरतीको आनन्द लिने अवसर जुरेन । २९ सेप्टेम्बरका दिन बिहानै सोमनाथ ज्योतिर्लिंगको दर्शन गरियो । यो उतार चढावको इतिहास बोकेको मन्दिर हो । धेरै आकर्षक र महत्वपूर्ण भएको कारण धेरै पटक विधर्मीको आक्रमणको शिकार भएको यो मन्दिरको जीर्णोद्धार गर्नमा सरदार बल्लभ पटेलको नाम अग्रपंक्तिमा रहेको छ । सन् १९५५ तत्कालीन राष्ट्रपति डा.राजेन्द्र प्रसादले यो मन्दिर मर्मतसम्भार गरेर राष्ट्रको नाममा सुम्पेका थिए ।
भारतका १२ ज्योतिर्लिंगमध्ये पहिलो ज्योतिर्लिंगको रूपमा गणना हुने यो मन्दिर गुजरातको सौराष्ट्र क्षेत्रको बेराबल बन्दरगाह नजिक छ । यसै क्षेत्रमा भगवान् श्रीकृष्णले देहत्याग गरेको विश्वास गरिन्छ । यसको आसपासमा गोकुलधाम र भालका तीर्थ रहेका छन् । भालका तीर्थमा श्रीृष्णले देहत्याह गरेको भनाइ रहेको छ । यी स्थानहरूको दर्शनपश्चात् हाम्रो यात्राको लक्ष पूरा गरी बीच बाटाको राजकोट शहरमा रात्रिबास बसेर भोलिपल्ट सेप्टेम्बर ३० को साँझको अहमदावाद-दिल्ली रेलयात्राको समय तालिका भेट्न अहमदावादतर्फ फर्कियौं ।
निर्धारित समय सारिणी अनुसार अक्टोबर १ का दिन बिहान दिल्ली पुगेर कोरलवाग क्षेत्रमा रात्रिबास गरी भोलिपल्ट दिल्लीका लाल किल्ला, इण्डिया गेट, जन्तर मन्तर, राष्ट्रपति भवन, संसद् भवन आदिको संक्षिप्त भ्रमण गर्यौं । गान्धी जयन्ती परेका कारण ठूला भनाउँदाहरूको सवारीका लागि गरिएको ट्राफिक अवरोधले थकानमाथि थकान थप्ने काम गरे तापनि निर्धारित समयमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नै देशको ध्वजावाहक वायुयानबाट स्वदेश फर्किएपछि करिब दुई साताको ॐ शान्तिले जुराएको यात्राको समापन भयो । यो आध्यात्मिक यात्रा स्वान्त सुखाय गरिएको हो । यो भूधराबाहेक कुनै अर्को लोक छ, त्यो लोकमा राम्रो स्थान पाइन्छ भन्ने विश्वास हो ।
अहिलेसम्म प्रमाणले पुष्टि नभएको विश्वासका कारण यो पंक्तिकारले धार्मिक प्रचलनमा धेरै तर्क नगर्ने मान्यता राखेको छ । कुनै अर्को लोक प्राप्तिको लालसाले यो यात्रा गरिएको होइन । प्रकृतिले अनुपम उपहारको रूपमा प्रदान गरेका पञ्चतत्व पृथ्वी, अप, तेज, वायु र आकाशको मौलिकतालाई मानवजातिले जोगाउन सक्दा यो भूधरा नै स्वर्ग हो, स्वर्ग बनाउन सकिन्छ, कतिपय स्थान बनाइएका छन् ।
हामीपछि जन्मिने धेरै पुस्ताका लागि यो प्रकृति जोगाउनुपर्ने दायित्व हामीमाथि छ । यस्तो भ्रमणबाट काल्पनिक स्वर्गको अनुभूति दिने रमणीयस्थान जस्तै आफू नजिकका स्थानलाई कसरी बनाउन सकिएला, मेरातर्फबाट के योगदान हुनसक्दछ भन्नेतर्फ सोचविचार गरेमा र सोचेको विचारलाई कार्यान्वयन गरेमात्र हामीले गरेका यस्ता भ्रमणले सार्थकता पाउने छन् । ॐ शान्ति ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच